मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको ६९ औं बर्षको अवसरमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकी र मनास्लु संरक्षण आयोजना (एमक्याप)ले छुट्टाछुट्टै कार्यक्रम गरेका छन्।
सन् १९५६ मे ९ तारिखका दिन जापानका पर्वतारोही तोसिओ इमानिसी र नेपालका ग्लाल्जेन नोर्बु र्शर्पाले पहिलो पटक मनास्लु हिमाल आरोहण गरेका थिए। मनास्लु चुचुरामा पहिलो पटक मानव पाइला टेकेको दिन मनास्लु दिवस मनाउँदै आएको छ।
टान गण्डकीको आयोजनामा गोरखा नगरपालिका–५ पस्लाङगाउँ होमस्टेमा पर्यटन प्रवर्द्धन कार्यक्रमसहित मनास्लु दिवस मनाएको हो। समुन्द्री सतहदेखि ८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल संसारको ८ औं अग्लो हिमाल हो। जापानी नागरिकले पहिलो पटक मनास्लु आरोहणमा सफलता पाएपछि यो हिमाललाई ‘जापानी हिमाल’का रुपमा समेत चिनिन्छ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले अन्नपूर्ण क्षेत्रका पदमार्गमा मोटरबाटो बनेपछि मनास्लुको लार्केपास पदयात्रीमाझ आकर्षण बनेको बताए।
‘अन्नपूर्ण क्षेत्रमा मोटरबाटो बनाउँदा पदमार्ग मासिए। अहिले मनास्लुको लार्केपास पदयात्रीमाझ लोकप्रिय छ,’ उनले भने, ‘मनास्लुबाट लामो पदयात्रासमेत गर्न सकन्छ।’
लार्केपास पदयात्रा गर्दा सामागाउँ समेट्दा २१ दिनको र लार्केपास मात्र गर्दा पनि १४ दिनको पदमार्ग रहेको उनले बताए। एक महिना लामो पदयात्रा गर्न चाहने पदयात्रीले मनास्लुको लार्के पास भएर अन्नपूर्णको थोराङ्ला पास गर्न सक्ने पनि उनले बताए।
धादिङको आरुघाटबाट सुरु हुने पदयात्रा लार्केपास हुँदै मनाङको धारापानी निस्कन्छ। धारापानीबाट लमजुङको बेसीशहर निस्कन मिल्छ भने लामो यदयात्रा गर्नेहरुले अन्नपूर्ण फेरोको थोराङ पास हुँदै मुक्तिनाथ निस्कन सकिन्छ।
मनास्लु दिवसका अवसरमा गोरखाको पर्यटन प्रबर्द्धन गर्न पस्लाङ गाउँको होमस्टेमा कार्यक्रम आयोजना गरिएको अचार्यले बताए।
गोरखा नगरपालिकाकी उपमेयर सपना पुनले नगरपालिकाले पर्यटन वर्ष २०२५ घोषणा गरेपछि मनास्लु दिवस मनाउन सुरु गरेको बताइन्। यसअघि मनास्लु संरक्षण क्षेत्रभित्र र काठमाडौंमा मनास्लु दिवस मनाउँदै आइएको थियो।
‘हामीले पर्यटन वर्ष घोषणा गरेपछि गोरखा बजारमा पनि मनास्लु दिवस मनाउन शुरु ग¥यौं,’ उनले भनिन्, ‘मनास्लु आउने पर्यटकलाई गोरखा बजार ल्याउन नगरपालिका र पर्यटन व्यवसायीवीच सहकार्य आवश्यक छ।’
यसअघि गोरखा बजारको बाटो भएर मनास्लु पदमार्ग जाने गरिए पनि धादिङको आरुघाट हुँदै जान थालेपछि गोरखा बजार पछाडि पर्न थालेको उनले बताइन्।
गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले नेपालको इतिहास बुभ्mन चाहने जो कोही पनि एक पटक गोरखा आउनुपर्ने धारणा राखे।
‘गोरखा नेपालको इतिहास बोकेको ठाउँ हो, जहाँ इतिहास जीवित छ,’ मेयर रानाले भने, ‘नेपालको इतिहास पढ्न भन्दा पनि हेर्न गोरखा आउनुपर्छ।’
नगरपालिकाले आन्तरिक पर्यटक प्रवर्द्धन गर्न नेपालमा जन्मिएका व्यक्ति जीवनमा एक पटक गोरखा घुम्न आउनुपर्ने वातावरण बनाउनुपर्ने उनले बताए। ऐतिहासिक रुपमा मात्र नभइ प्रकृति र संस्कृतिमा पनि गोरखा धनि भएको उनले बताए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले गण्डकीका तीन पालिकाले २०२५ लाई पर्यटन वर्ष घोषणा गरेको बताए। पोखरा महानगरपालिका, गोरखा नगरपालिका र गण्डकी गाउँपालिकाले पर्यटन प्रबर्द्धन गर्न लिएको अग्रसरता अरु पालिकाका लागि पनि सिकाइ हुने उनले बताए।
‘हामीले यी तीनवटा पालिकाबीच अन्तरसंवन्ध बनाएर पर्यटन प्रवर्द्धन गरिरहेका छौं,’ उनले भने, ‘पर्यटन प्रवर्द्धन गर्न यी तीनवटा पालिकाले गरेका उदाहरणीय कार्य अरुका लागि पनि सिकाई बन्न सक्छ।’
आगामी वर्षको मनास्लु दिवसले भब्य बनाउन पर्यटन बोर्डले अहिलेदेखि नै कार्यक्रममा समावेश गर्ने लामिछानेले बताए। जापानी नागरिकले पहिलो पटक आरोहण गरेकाले जापानी पर्यटक प्रबर्द्धन गर्न काठमाडौंस्थित जापानी राजदुतावाससँग पनि सहकार्य गर्न छलफल गरेको उनले बताए।
‘जापनीज नागरिकले मनास्लु हिमाललाई जापानी हिमालको रुपमा मान्छन्। यहाँ जापानी पर्यटक प्रबर्द्धन गर्न सजिलो हुन्छ,’ उनले भने, यसका लागि हामीले काठमाडौंस्थित जापानी दुतावाससँग सहकार्य गर्न छलफल गरिरहेका छौं।’
मनास्लु संरक्षण क्षेत्र अयोजना (एमक्याप)ले चुमनुव्री गाउँपालिका– १ सामागाउँमा मनास्लु दिवस मनाएको छ। एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार दिवसका अवसरमा मनास्लु हिमाल अरोहण गरेका तीन जना पर्वतारोही मिङमार लामा, डिकी ल्हामु लामा र नाङसल छोटेन लामालाई सम्मान गरेको उनले बताए। उनीहरु सामागाउँका स्थानीयवासीसमेत हुन्।
जैविक विवधता र सांस्कृतिक सम्पदाले धनि भएकाले मनास्लु क्षेत्र महत्वपूर्ण रहेको शेरचनले बताए।
तस्बिरहरूः
-ink-1746860188.jpeg)
-ink-1746860187.jpeg)
-ink-1746860187.jpeg)
-ink-1746860186.jpeg)
-ink-1746860186.jpeg)
-ink-1746860186.jpeg)
-ink-1746860186.jpeg)