सोलुखुम्बुको पत्ताले, गौरी टाप र ओखलढुंगाको रुम्झाटार क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि स्पार्क कारले तेस्रो स्पार्क एडभेन्चर आयोजना गर्ने भएको छ।
कार्यक्रम वैशाख २६ गतेदेखि २८ गतेसम्म 'गेट वे टु एभरेष्ट' थिममा हुने जनाइएको छ।
महानायक राजेश हमाल, अभिनेत्री मनिषा कोइराला, अभिनेता विजय लामा, गायिका आनी छोइङ डोल्मा, हास्यकलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्रलगायत दर्जनभन्दा बढी कलाकार सहभागी हुने उल्लेख छ।
त्यस्तै बिबिसी मास्टरसेफ सन्तोष शाह, निर्देशक रामबाबु गुरुङ, मीन भाम, नाट्यकर्मी अनुप बराल, कवि विप्लव प्रतीक र डन डिरेक्टर अमन प्रताप अधिकारी पनि उपस्थित हुनेछन्।
वैशाख २७ गते रुम्झाटारमा कन्सर्ट आयोजना हुनेछ। कन्सर्टमा दीप श्रेष्ठ, प्रेमराजा महत, राजु लामा, सुनिता दुलाल, बिमलराज क्षेत्री र आस्था रावतको सांगीतिक प्रस्तुति आयोजकले जनएको छ।
पहिलो दिन सहभागीहरू काठमाडौंबाट विद्युतीय सवारीमा गौरी टाप र पत्ताले पुग्ने र टेन्ट क्याम्पमा बास बस्ने तालिका बनाइएको छ।
गौरी टापबाट सगरमाथासहित गौरीशंकर, लोत्से, मकालु, कञ्चनजंगा जस्ता हिमालको दृश्यावलोकन गर्न सकिन्छ। यहाँ लालीगुँरासको जंगल र गौरीशंकर–गणेश, गौरीगाई, शिव पञ्चायन मन्दिर छन्।
दोस्रो दिन सूर्योदय र हिमशृंखलाको दृश्य हेरेर रुम्झाटार पुगिनेछ, साँझ सांगीतिक कार्यक्रम हुने उल्लेख छ।
रुम्झाटार गुरुङ समुदायको बाहुल्य भएको क्षेत्र हो। यहाँको भेडाको ऊनबाट बनेको राडी विख्यात थियो।
'घुमिफिरी रुम्झाटार' उखान पनि यहीँबाट प्रचलित छ।
स्पार्क एड्भेन्चरले दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवर्द्धन गर्दैछ। सहभागीले बिवाइडीको विद्युतीय सवारीमा यात्रा गर्नेछन्।
यसअघि स्पार्क कारले सन् २०२२ मा लमजुङको भुजुङमा भीरमौरीको मह शिकार र सन् २०२३ मा शैलुङको पर्यटन प्रवर्द्धन गरेको थियो।
स्पार्क कारले सेल्फ ड्राइभ, ड्राइभरसहितका सवारीसाधन उपलब्ध गराउँदै साहसिक पर्यटनमा योगदान दिँदै आएको छ।