सोलुखुम्बुको अमादब्लम हिमाल चढेर फर्कने क्रममा एक अस्ट्रेलियन आरोहीको मृत्यु भएको छ।
स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिबाट आरोहणमा गएका ६४ वर्षीय र्मार्टिन हर्नेगरको हिमाल आरोहण गरी फर्कने क्रममा मृत्यु भएको हो।
उनले अमादब्लम आरोहण गर्न २५ चैत २०८१ मा जानका लागि पर्यटन विभागबाट अनुमति लिएका थिए। वैशाख १३ गते आरोहरण गरी फर्कने क्रममा बेपत्ता भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए।
'उनी आफ्ना परिवारसँग गएका थिए, फर्किने क्रममा चिप्लिएर लडेर बेपत्ता भए,' निर्देशक गौतमले भने, ' खोजतलासका क्रममा सोही दिन साँझ आमादब्लम हिमालको फेदमा मृत भेटिएका हुन्।'
उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं राखिएको छ। मृतकको शव सम्बन्धित मुलुकमा फिर्ता गर्न एजेन्सीसँग निरन्तर समन्वय र सहजीकरण गर्न विभागले अनुरोध गरेको उनले बताए।