पोखरामा जारी २० औं फेवा नयाँ वर्ष महोत्सवको अवसरमा आइतबार पर्यटकहरूबीच दौड प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा बेलायतबाट आएका पर्यटक साम मकाचन प्रथम भएका छन्।
प्रतियोगितामा सहभागी १८ देशका ५५ जना पर्यटकलाई पछाडि पार्दै साम प्रथम भएका हुन्।
‘रन फर फन’ नाम दिएर पोखरा घुम्न आएका पर्यटकबीच आयोजित दौड प्रतियोगितामा महिलातर्फ फ्रान्सकी कोलिन प्रथम भइन्।
प्रतियोगीतामा पुरूषतर्फ बेलायतकै लियो दोस्रो, रसियाका डेनिस तेस्रो र अमेरिकाका युसेफले सान्त्वाना स्थान हासिल गरे।
यस्तै, महिलातर्फ फ्रान्सकी एलिजा दोस्रो, रसियाका मारिया तेस्रो र चीनकी फ्लोराले सान्त्वाना स्थान हासिल गरिन्।
प्रतियोगितामा महिला र पुरूष दुवैतर्फ प्रथम हुनेलाई हाई ग्राउण्ड एडभेन्चरका तर्फबाट नि:शुल्क बञ्जी जम्पको सुविधा पाएका छन्।
दोस्रो हुनेलाई पनि हाई ग्राउण्डकै एटिभी सेवा प्रदान गरिएको छ। एटिभी चार पाङ्ग्रे विशेष सवारी साधन हो, जुन साहसिक यात्राका लागि प्रयोग गरिन्छ। उनीहरूलाई सिइङ हेण्डबाट ५० प्रतिशत छुटमा मसाज र व्यञ्जन रेष्टुरेण्टमा नि:शुल्क खाना सुविधा पाएका छन्।
तेस्रो हुनेले हाइग्राउण्ड एडभेन्चरकै तर्फबाट नि:शुल्क जिपलाइन सेवा, सिइङ हेण्डबाट २५ प्रतिशत छुटमा मसाज र व्यञ्जन रेष्टुरेण्टमा नि:शुल्क खानाको व्यवस्था गरिएको प्रतियोगिता संयोजक हेमराज पहारीले जानकारी दिए।
दौडमा सान्त्वाना स्थान प्राप्त गरेका पर्यटकले हाइग्राउण्डबाट स्वीङ सेवा, अन्नपूर्ण केबलकार यात्रा र सिइङ हेण्डबाट ५० प्रतिशत छुटमा मसाज सुविधा पाएका छन्।
उनीहरूलाई प्रमाणपत्र र मायाको चिनो पनि वितरण गरिएको छ।
खहरे र अम्बोट बीचको दुई किलोमिटर लामो सडकमा दौड प्रतियोगिताले पर्यटकलाई मनोरञ्जनका साथै नयाँ अनुभव दिने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। यस्ता कार्यक्रमले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ।
महोत्सवका अवसरमा व्याडमिन्टन प्रतियोगिता, लोकदोहोरी, लाइभ कन्सर्ट, नृत्य लगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।