काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत अवधि आगामी शनिबारदेखि दुई घन्टा घटाइने भएको छ।
मर्मत अवधि घटाएसँगै अब विमानस्थलको सञ्चालन अवधि भने बढ्ने भएको छ।
गत कात्तिकदेखि १४ घन्टा मात्र सञ्चालनमा रहेको विमानस्थल आउँदो शनिबारदेखि १६ घण्टा सञ्चालन हुने विमानस्थल कार्यालयले जनाएको छ।
यसअघि राति १० बजेदेखि उडान बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि राति ११ बजे बन्द भएर बिहान ७ बजे खुल्ने नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए।
आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर 'ट्याक्सी वे', उत्तरतर्फको ’इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको 'ह्याङ्गर एप्रोन' लगायत विस्तारको काम गरिरहेको छ।