संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन्।
शुक्रबार इयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले उक्त आग्रह गरेका हुन्।
मन्त्री पाण्डे नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कूटनैतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपाल र इयूबीच साझेदारी रहेको समेत उल्लेख गरे।
'नेपाल र इयूबीच सन् करिब पाँच दशकअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ट कूटनीतिक सम्बन्ध रहेको छ। इयू नेपालको प्रमुख विकास साझेदार हो। हामी हाम्रा सामाजिक, आर्थिक विकास प्रयासमा इयूको निरन्तर सहयोग प्रति कृतज्ञ छौं,' उनले भने।
इयूको आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध चाडैं फुकुवा गरेर सहयोग गरिदिन समेत अनुरोध गरे।
राजदूत भेरोनिक लोरेन्जोले इयूको लगाएको हवाई प्रतिबन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरको बारेमा जानकार रहेको उल्लेख गर्दै नेपालले प्राविधिक रूपमा सक्षम बन्नु पर्नेमा जोड दिए।
उनले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको समेत बताए।
राजदूत लोरेन्जोले नेपालको हवाई दुर्घटनाबारे बनेको उच्चस्तरीय छानबिन समितिबारे समेत उच्च सोच का साथ हेरिरहेको बताए।