होटल संघ नेपालले सरकारले जारी गरेको 'आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१'को स्वागत गरेको छ।
गत बुधबार सम्पन्न संघको ४९औं वार्षिक साधारणसभाले 'तारे स्तरको होटल तथा पर्यटन रिसोर्ट'लाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा सूचीकृत गरेकोमा स्वागत गरेको हो।
लामो समयदेखि होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता पाए पनि अथक प्रयास र पहल सम्बोधन भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अध्यादेशले संशोधन गरेको ऐन बमोजिम तयार हुने नियमावली र कार्यविधिमा तारे होटल बाहेकका अन्य होटलहरूले पनि सोही अनुरुपको सेवा सुविधाको व्यवस्था गर्न होटल संघ नेपालले माग गरेको छ।
४० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गर्ने उद्योगलाई उत्पादनमूलक उद्योगको परिभाषा भए अनुरुप होटलले प्रयोग गर्ने कच्चा पदार्थको घटीमा ४० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गर्ने भएकोले सोही अनुरुपको व्यवहार हुन पनि संघले माग गरेको छ।
यसैगरी संघको ४९औं वार्षिक साधारणसभाले होटल संघ नेपालको विधानलाई संशोधन गरी सातै प्रदेश र ७७ जिल्लामा संघको सक्रिय उपस्थिति सहित सेवा प्रवाहको प्रभावकारिताको लागि संघीय संरचनामा लैजाने प्रस्ताव पनि पारित गरेको छ।