संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देशन गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताए।
नेपाल पर्यटन बोर्डको २६औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री पाण्डले पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दै सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताए।
उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी)को अवधारणालाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए।
'नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधता युक्त देश हो। यही विविधताबीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता हो। नेपालको आफ्नै मौलिक पर्यटन प्रडक्ट छ। यसलाई अन्तर्राष्टिय बजारमा व्यापक प्रवर्द्धन गर्न आवश्यक छ,' उनले भने।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताउँदै यसका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताए।
बोर्डका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डले बोर्डले पूर्वाधारको विकाससँगै प्रविधिको व्यापक प्रयोग, पर्यटनको लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्ने बताए।
बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपालको पर्यटक आगमन विस्तारै लयमा फर्किंदै गएको र नेपालको पर्यटनमा आगामी दिन थप सुनौलो हुने धारणा राखे।
कोभिडपछि विश्व परिवेशमा ९७ प्रतिशत रिकभरी देखिएको र सन् २०२४ मा नेपालमा साढे एघार लाख पर्यटकले भ्रमण गरेकोले कोभिडपछिको नेपालको पनि ९६ प्रतिशतसम्म रिकभरी देखिएको उनले जानकारी दिए।
कार्यक्रममा बोर्डले प्रकाशन गरेको वार्षिक मुखपत्र इनफोकसको विमोचन गर्नका साथै वार्षिकोत्सवका अवसरमा आयोजना गरेका विभिन्न खेलकुद कार्यक्रमका विजेता तथा उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।