चिनियाँ नागरिक चेन सुनशाङका लागि चिनियाँ साथी भन्दा नेपाली साथी प्रिय लाग्न थालेको छ। चीनको ग्वाङझाउमा जन्मिएका चेन महिनैपिच्छे चीन जान्छन्। चीनमा उनका साथी काममा निकै व्यस्त हुन्छन्। नेपाली जस्ता फुर्सदिला छैनन्।
‘मलाई नेपाल बस्न धेरै आनन्द आउँछ। यहाँका साथीसँग एकदम खुसी हुन्छु। नेपालमा सबै मान्छेले नमस्ते गर्छन्। सत्कार गर्छन्,’ उनले भने, ‘चीनमा साथीहरू एकदम व्यस्त छन्।’
काठमाडौंमा चिनियाँ इलेक्ट्रिकल गाडीमा काम गर्ने सुनशाङ नेपालका सबैजसो जिल्ला घुमेका छन्। नेपालबाट उनी दक्षिण एसियाका अरू देशमा पनि पुगेका छन्। चिनियाँ राजदुतावासले बोलाएको ठाउँमा नजाने कुरै भएन, कहिलेकाँही कूटनीतिक भेटघाट र कार्यक्रमहरूमा पनि उनी पुग्न पाएका छन्।
चीनको लोकप्रिय चाड ‘ड्रागन बोट रेस’ प्रतियोगिताको अवसरमा नेपालका लागि चिनियाँ राजदुत चेन सोङसँगै पोखरा आइपुगेका सुनशाङले सेतोपाटीसँग नेपालीमा कुरा गरे। नेपाल बसाइका अनुभव र ड्रागन बोट रेसबारे चिनियाँ धारणा साझा गरे।
चीनमा दुई हजार वर्षभन्दा पहिलेदेखि खेलिँदै आएको ड्रागन बोट रेसले खराब तत्वलाई पराजय गर्दै सकारात्मक तत्वको विजयीको कामना गरिन्छ। नेपालमा यस प्रतियोगिताले नेपालीसँग सम्बन्ध सुमधुर र गहिरो बनाउन सहयोग पुग्ने उनको आशा छ।
‘नेपालमा दसैं, तिहार भने जस्तै ड्रागन बोट रेस चीनमा निकै लोकप्रिय छ,’ उनले भने, ‘चीनमा सबैका लागि राम्रो होस्, भलाइ होस्, उन्नति, प्रगति होस् भनेर ड्रागन बोट रेस खेलिन्छ। यो प्रतियोगिताले नेपालीसँगको सम्बन्ध अझै घनिष्ठ हुनेछ।’
ड्रागन बोट रेसमा ड्रागनको टाउको र पुच्छर जोडिएको डुंगाको अगाडि बसेर एक जनाले ड्रम बजाउँछन्। ड्रमको तालमा डुंगामा बस्ने खेलाडीहरूले प्याडलमार्फत् पानी पछाडि पठाउँछन्। यस्तै, डुंगाको पछाडि बस्ने अर्को एक जना व्यक्तिले डुंगाको दिशा निर्धारण गर्छन्।
सुनशाङका अनुसार चीनमा यस्तो खेल खोला, नदी, ताल र समुन्द्रमा पनि खेलिन्छ।
उनका अनुसार चीनका तालतलैया र खोलाहरूमा पनि यस्ता खेल खेलिन्छ। धेरै चिनियाँँले यस खेलको मज्जा लिन्छन्।
चीनले आफ्नो संस्कृति फैलाउँदा ड्रागन बोट रेस फेष्टिभललाई अघि सारेको छ। यो खेल चीन सरकारकै अगुवाइमा विश्वका ५० वटा देशमा सम्पन्न गरिसकेको छ।
सुनशाङका अनुसार चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौं महिनाको ५ गते चीनमा ड्रागन बोट फेष्टिभल आयोजना हुन्छ। चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा रहेको उनले बताए। नेपालमा सानो डुंगामा प्रतियोगिता भए पनि चीनमा भने ८० जना अट्ने सम्मको ठुलो डुंगामा प्रतियोगिता हुने उनले बताए ।
यस चाड मनाउन चीन सरकारले सार्वजनिक बिदा दिएको हुन्छ। चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यस चाड मनाउने स्याङले बताए। डुंगाको आकार अनुसार मान्छे धेरै वा थोरै हुनसक्ने उनको भनाइ छ।
ड्रागन बोट फेष्टिभल गर्नुका पछाडि चिनियाँँ नागरिकमा सकारात्मक शक्तिको विजयीको कामना रहने सुनशाङले बताए। नेपालमा दसैं, तिहारमा जस्तै चीनमा यस पर्वका अवसरमा टाढाटाढा पुगेका परिवारका सदस्य र आफन्तसँग भेटघाट हुने बताए।
चिनियाँँ भाषामा ‘डुआन्वु जी’ भनिने ड्रागन बोट फेष्टिभल चीनको चार वटा ठूला चाडमध्ये एक हो।
चीनको चु राज्यमा इसापूर्व २७८ देखि ३४० सम्म मन्त्री रहेका युआनको देशप्रेम र उनको अन्त्यको कथा यस चाडसँग जोडिन्छ।
देशमा चुलिँदो भ्रष्टाचार र आन्तरिक कलहले गहिरो चिन्तामा डुबेका युआनका आदेश तथा चेतावनीहरूले काम गर्न छाडेका थिए। उनको बेवास्ता चुलिँदो थियो। त्यसपछि युआनले देशप्रेम र शोकका कविताहरू रचना गर्न थाले।
जब उनले देशमा बढ्दो भ्रष्टाचार र कलह नियन्त्रणमा आउने आशा त्यागे, उनले पनि मिलुओ नदीमा डुबेर आत्महत्या गरे। मिलुओ नदी अहिले चीनको हुनान प्रान्तमा पर्छ।
युआनका प्रशंसक भने उनको मृत्युपश्चात स्तब्ध भए। स्थानीय नागरिकहरू उनको शव खोज्न डुंगा चढेर मिलुओ नदीमा हेलिए।
युआनका शरीर कुनै पनि जनावरले निल्न नपाओस्, दुष्ट आत्माहरूबाट जोगाउने भन्दै मानिसहरू ड्रम बजाउँदै नदीमा डुंगा सयर गरिरहे। युआनको शव खोजिरहे।
दुष्ट आत्म डराओस् भनेर ड्रमको आवाज सँगसँगै डुंगामा बस्नेहरूले प्याडलमार्फत् पानी छकिए। बाँसको पातमा चामल बेरेर नदीमा फालिए। जसलाई चिनियाँँहरू ‘जोन्जी’ भन्छन्। उक्त घटनापछि चिनियाँँ नगरिकले ड्रागन बोट फेष्टिभल बर्सेनि मनाउँदै आएका छन्। त्यतिबेला नदीमा फालेको जोन्जी अहिले खानमा प्रयोग गर्छन्।
ड्रागन बोट फेष्टिभल सकिएपछि चिनियाँँले खाने जोन्जी पनि अनौठो हुने अर्का चिनियाँ नागरिक स्याङ शाओ ख्वाले बताए।
‘अनदीको चामल ७, ८ घण्टा पानीमा भिजाएर पकाइन्छ,’ उनले भने, ‘जसमा मासु, तरकारी, विभिन्न फल राखेर बाँसको पातमा बेरेर खाइन्छ।’
पछिल्लो समय जोन्जीसँगै चिनियाँँ वाइन खाने संस्कृति पनि बढेको छ।
चीनका एक जना राजनीतिकर्मी एवं साहित्यकारको देहवसानपछि सुरू भएको यस पर्व मनाउन थालिएको दुई हजार वर्ष पुग्दा धेरै देशमा फैलिएको शाङले बताए।
‘चीनमा त सबै ठाउँमा मनाउँछ, अहिले ५० वटा देशमा खेलिसक्यो,’ उनले भने, ‘अब नेपालमा पनि खेलियो, अब हरेक वर्ष हुन्छ।’
उक्त खाना अत्यन्त स्वादिलो र स्वास्थ्यवर्द्धक हुने शाङको अनुभव छ। ड्रागन बोट रेस चिनियाँ संस्कृतिमा भूतप्रेत अर्थात नकारात्मक शक्ति भगाउने भगवानका रुपमा प्रार्थना गर्न खेलिने उनले बताए। चीनमा ड्रागनलाई समृद्धि र सकारात्मक शक्तिका स्रोतको प्रतिक मानिने पनि उनले बताए।
चिनियाँँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ।
प्रतियोगिताको उद्घाटनमा बोल्दै नेपालका लागि चीनका राजदुत चेन सोङले पोखरामा आयोजित ड्रागन बोट रेस प्रतियोगिता सही समयमा, सही ठाउँमा आयोजना भएको बता। प्रतियोगिताले नेपालीमा मात्र होइन, पोखरा घुम्न आउने अरू देशका पर्यटकलाई पनि प्रभावित बनाएको उनको भनाइ छ।
‘पोहोर चिनियाँ परम्परागत संस्कृतिलाई पहिलो पटक फेवातालमा आयोजना गरियो। जसले चिनियाँ परम्परागत संस्कृतिलाई नेपालको जनताको शान्ति, सही समय, सही स्थानमा सही मानवीय मेलमिलापको भावना प्रस्तुत गर्यो कि, पोखरा भ्रमणमा पाल्नुभएका विभिन्न देशका जनतामा पनि नयाँ र गहिरो प्रभाव पार्न सफल भयो,’ उनले भने।
चीनको हाङचो र सुङचो सहर सुन्दरता र समृद्धिको पर्याय भएको भन्दै उनले नेपाली भूमी स्वर्ग बन्ने संभावना भएको बताए।
‘चीनलाई राम्रोसँग बुझेका नेपाली मित्रलाई थाहा छ कि आकाशमा स्वर्ग छ। सुङ्चो र हाङचो भन्ने प्रसिद्ध शहर छ। यी दुई सहरले सुन्दरता र समृद्धि र सम्पन्तताको वर्णन गर्दछ। मलाई लाग्छ, नेपालको धर्ति पनि स्वर्ग बन्ने संभावना छ,’ उनले भने।
पोखराको सुन्दरतामा चिनियाँ कार्यक्रमहरू क्रस कन्ट्री दौड प्रतियोगिता, फेवा डाइलग, ड्रागन बोट रेस जस्ता कार्यक्रममा पोखरेली जनताले राम्रो साथ दिएको भन्दै उनले खुशी व्यक्त गरे।
चीनका राष्ट्रपति सी चिनफिङले विविधता, समानता र समावेशी सभ्यताको अवधारणा प्रस्तुत गर्दै सभ्यता आदान प्रदानले विविधता ल्याउने कार्यक्रम अघि बढाएको भन्दै उनले ड्रागन बोट रेसले संस्कृति समिश्रण गर्न प्रोत्साहन दिने बताए।
‘ड्रागन बोट रेस प्रतियोगिताले संस्कृति समिश्रण र सम्बन्ध गहिरो बनाउने मञ्च दिएको छ,’ उनले भने, ‘राष्ट्रपति सीले प्रस्तुत गर्नुभएको अवधारणा अनुसार नेपाल–चीन सांस्कृतिक आदान प्रदानको नयाँ रूप दिने कोसिस गरेका छौं।’
पोखराका मेयर धनराज आचार्यले चिनियाँ पर्यटकलाई पोखरामा आकर्षण गर्न यस्ता कार्यक्रमले प्रोत्साहन दिने बता। उनले चिनियाँ राजदुत सोङलाई पोखराबाट चीनका सहरहरूमा सीधा उडान गर्न सहजीकरण गर्न पनि आग्रह गरे।
जवाफमा राजदुत सोङले आफुले चीन सरकारलाई पोखराबाट उडान गर्न अनुरोध गरेको र आफ्नो तर्फबाट सहयोग हुने आश्वासन दिएका थिए।
आगामी वर्ष नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव भव्यतापूर्वक मनाउने पनि उनले बताए।
पोखराको फेवातालमा गत वर्षदेखि चिनियाँ सांस्कृतिक खेल ड्रागन बोट रेस आयोजना गर्न थालिएको हो। गत वर्ष असार दोस्रो साता यस्तो कार्यक्रम आयोजना गरिएको थियो भने यसपालि अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजित २६ औं सडक महोत्सवका अवसरमा यस्तो प्रतियोगिता आयोजना गरिएको छ।
चिनियाँ राजदूतावासको पहलमा आयोजित ड्रागन बोट रेसमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी सरकार लगायतको सहयोग छ। प्रतियोगितामा नेपाली टिम ११ वटा, चिनियाँ टिम ८ वटा र सिंगापुरको १ वटा टिम सहभागी छन्।
आइतबार र सोमबार गरी दुई दिन चल्ने प्रतियोगितामा पहिलो हुने टिमले नगद ५ हजार अमेरिकी डलर, दोस्रो हुनेले २ हजार, तेस्रो हुनेले १ हजार २ सय डलर र सहभागी सबै टिमलाई प्रोत्साहन स्वरुप ५ सय अमेरिकी डलर प्रदान गरिनेछ।