चितवनको सौराहामा १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ।
क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा आगामी पुस ११ देखि १५ गतेसम्म उक्त महोत्सव सञ्चालन हुन लागेको हो।
२०५५ सालदेखि चितवनमा यो महोत्सव भइरहेको छ। यसअघि कोरोना महामारीका कारण महोत्सव तीन वर्ष रोकिएको थियो।
चितवनको पर्यटन विकासमा योगदान दिँदै आएको महोत्सवलाई गत वर्षदेखि निरन्तरता दिइएको हो।
यसपालि १८औं पटक हुन लागेको क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए।
महोत्सवले हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरूको आगमनमा वृद्धि हुने आयोजकले जनाएको छ।
संघका अध्यक्ष गंगा गिरीका अनुसार महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्त्व समेत उजागर गर्दै आएको छ।
साथै अन्तर्राष्ट्रिय स्तरमा महत्त्व राख्ने चितवन हात्ती तथा पर्यटन महोत्सवको आफ्नै गौरवशाली इतिहास रहेको उनले बताए।
महोत्सवअन्तर्गत हुने उल्लेखित विभिन्न गतिविधिमा निजी स्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका करिब ८० वटा हात्ती सहभागी हुनेछन्।