बाग्लुङ क्षेत्रलाई एडभेन्चर हबको रूपमा विकास गर्न सफल र अहिलेको प्रसिद्ध पर्यटकीय गन्तव्य 'द क्लिफ' नेपाललाई आन्तरिक राजस्व कार्यालय, बाग्लुङले उत्कृष्ट करदाताको सम्मान गरेको छ।
पर्वत जिल्लामा दर्ता रहेका करदाताहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस-२०८१ को अवसरमा कार्यालयले सम्मान गरेको हो।
कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले क्लिफका अध्यक्ष राजु कार्कीलाई कर दिवस-२०८१ का सन्दर्भमा आयोजित कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ।
बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चेयर लगायत गतिविधि सञ्चालनमा छन्।