काठमाडौंको दरबारमार्गमा २५ तलाको 'अन्नपूर्ण स्क्वायर' होटल निर्माण सुरू भएको छ।
यसअघि होटल अन्नपूर्ण भएको ठाउँमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा होटल बनाउन थालेको हो।
सोमबार एक कार्यक्रमबीच भूमि पूजा गर्दै भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरूङले भने, 'सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण गर्ने लक्ष्य छ।'
उनका अनुसार यो होटल भारतको आर्किटेक्चर कम्पनीले डिजाइन गरेको हो। २०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य छ।
होटलको अनुमानित लागत करिब ६ अर्ब रूपैयाँ छ। २५ तलाको अन्नपूर्ण स्क्वायर ९ लाख वर्गफिट क्षेत्रफलको हुनेछ। यहाँ तीन सय कोठाको होटलसँगै, क्यासिनो, ४० कोठाको अपार्टमेन्ट र भाटभटेनीको एउटा स्टोर पनि हुनेछ।
होटलमा एकपटकमा २५ सय, २ हजार र १५ सय मानिस अटाउने तीनवटा बैंक्वेट हल हुनेछन्।
'धेरै राम्रा कोठा हुनेछन् तर महँगा हुने छैनन्,' भाटभटेनीका अध्यक्ष गुरूङले भने, 'आर्केड (अपार्टेमेन्ट) डेढ वर्ष र होटल साढे दुई वर्षमा बनिसक्छ।'
तीनवटा समूह मिलेर यो होटलको निर्माण थाले पनि यसको व्यवस्थापन आइटिसीको वेलकम ब्रान्डले गर्ने उनले जानकारी दिए।