संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्द्री पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्न कार्ययोजना बनाएर सहुलियत दिँदा पनि विमान कम्पनीहरूले चासो नदिएको बताएका छन्।
पोखराका पर्यटन व्यवसायीसँग छलफल गर्दै मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विमान कम्पनीहरुले उडान थालेपनि पोखराबाट उडान भर्न चासो नदिएको बताएका हुन्।
‘पोखरा र गौतमबुद्ध विमानस्थल चालाउन कार्ययोजना बनायौं। सहुलियत पनि दियौं तर पोखराबाट उडान भर्न आकर्षण देखिएन,’ उनले भने।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न भइरहेको बेवास्ताको कारण खोज्न आफु लागेको पनि मन्त्री पाण्डेले बताए। नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टिमसँग मिलेर समस्याको खोजी गर्ने भन्दै उनले अफवाह नफैलाउन आग्रह गरे।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यारोबडी जहाज चलाउन ४० प्रतिशत लोड घटाउनुपर्ने भन्दै अफवाह फैलाएको भन्दै उनले असन्तुष्टि पोखेका छन्। उक्त अफवाह कसले फैलायो भन्नेबारे उनले खुलाएनन्।
‘पोखरामा न्यारोबडी जहाज उडान पनि क्षमताको ४० प्रतिशत लोड हटाउनुपर्छ भनेका छन्। कुन आधारमा यसो भनिएको हो? चाइनाबाट पोहोर विमान चार्टर गरेर आउँदा ८३ जना आए। क्षमता रहेनछ त्यही हो क्षमता भनेर घटाइयो भनियो। अहिले १२० जना आउनुभयो। अहिले कूल क्षमताको ४० प्रतिशत घटाइएको होइन होला नी १ यसले ४० प्रतिशत लोड हटाउनुपर्छ भन्ने कुरालाई खण्डन गरेको छ,’ उनले भने, ‘क्यान लगायत हाम्रो टेक्निकल टिम छ। उसले टेक्निकल्ली समस्या छ भने यो समस्या हो भनेर भनोस्। नत्र अफवाह फैलाउने काम बन्द गर्नुपर्छ।’
चीनको कुनमिङ सहरबाट बिहीबार सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ चार्टर्ड फ्लाइटबाट पोखरा आएको थियो। पोखरामा आयोजित क्रस कन्ट्री दौडमा भाड लिन उक्त जहाजमा १२० जना खेलाडी र अफिसियल ल्याएको थियो।
पोखराबाट नेपाल एयरलाइन्सबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पनि मन्त्री पाण्डेले प्रतिवद्धता जनाएका छन्। दसैंमा यात्रुको चाप बढी भएकाले आन्तरिक उडानमै न्यारोबडी जहाज चलाउने तयारी गरे पनि अन्तर्राष्ट्रिय यात्रुको चापले गर्दा सम्भव नभएको उनले बताए।
मेसो मिलाएर पोखराबाट नेपाल वायुसेवा निगमकै जहाज चलाउँछौं, अन्तर्राष्ट्रिय उडान भरेर यस विमानस्थलबारे आएका भ्रम चिर्छौ,’ उनले भने।
होटल एसोसिएसन अफ नेपाल (हान) पोखराको आयोजनामा भएको छलफलमा व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न सरकारले चासो नदिएको दुखेसो पोखेका थिए। हान अध्यक्ष लक्ष्मण सुवेदी र पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले मन्त्री पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान थाल्न आग्रह गरेका छन्।