भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार एकै दिन जजिरा एयरवेज र फ्लाई दुबईले उडान सुरू गरेका छन्। साथै शनिबार नै राति नेपाल एयरलाइन्सले पनि गर्ने तालिका रहेको छ।
विमानस्थल सुरू भएदेखि नै उडान थालेको जजिरा एयरलाइन्सले स्थगित गरेको उडान शनिबारदेखि फेरि नियमित थालेको छ। आज १७१ यात्रु लिएर आएको जजिरा एक बालकसहित १६८ यात्रु लिएर उडेको छ।
जजिराले पुरानै तालिकाअनुसार सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुबेतका लागि उडान गर्नेछ।
त्यस्तै शनिबार फ्लाई दुबईले भैरहवामा पहिलो उडान गरेको छ।
फ्लाई दुबइको जहाज दिउँसो पौन दुई बजे १७१ यात्रु बोकेर भैरहवा अवतरण गरेको विमानस्थलका सूचना अधिकरी विनोद सिहं रावतले जानकारी दिए। जसमध्ये १० जना यात्रु भैरहवामै ओर्लिएको उनले बताए।
उनकाअनुसार फ्लाई दुबई ३ बजे भैरहवाबाट काठमाडौं उडेको थियो। यससँगै फ्लाई दुबईले अब हरेक दिन दुबई-भैरहवा-काठमाडौं उडान गर्नेछ।
नेपाल एयरलाइन्सले पनि आजबाटै काठमाडौँ–भैरहवा–दुबई उडान थाल्दैछ।
सूचना अधिकारी रावतका अनुसार आज राती १० बजे निगमको जहाज दुबईबाट भैरहवा हुँदै काठमाडौं आउने तालिका छ। निगमले आइतबार, सोमबार र बुधबार यो गन्तव्यमा उडान गर्नेछ।
यससँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको सङ्ख्या चार पुगेको छ।
आगामी दिनमा उडानका लागि कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि छलफल भइरहेको रावतले बताए। अहिले भैरहवा विमानस्थल १८ घण्टा सञ्चालन भइरहेको छ।
एक घण्टामा विमानस्थलमा दुई अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्न सक्ने क्षमता रहेको उनले बताए।
‘दैनिक ३६ वटासम्म विमान भैरहवाबाट हामी सञ्चालन गर्न सक्ने अवस्थामा छौँ’, रावतले भने, ‘अध्यागमनलगायत अन्य जनशक्ति अहिले पूरा छ, आवश्यकताअनुसार यसलाई थप परिमार्जन पनि गर्न सकिन्छ।’