त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यही कात्तिक २३ गतेदेखि दैनिक १० घन्टा बन्द गरिने भएको छ।
धावनमार्गको कार्यक्षमता बढाउन र रनवेसँग समानान्तर हुने गरी ट्याक्सीवे बनाउन दैनिक १० घन्टा विमानस्थल बन्द गरेर काम गर्न लागिएको हो। यो काम सक्न करिब पाँच महिना लाग्नेछ।
गर्मी याममा काम गर्न नसकिने, त्यसैबेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए।
‘हामीलाई न्यूनतम दिनमा १० घण्टा चाहिन्छ। त्यो हिसाबअनुसार हामीले एयरपोर्ट ५ महिनासम्म दैनिक १० घन्टाका दरले बन्द गर्न लागेको हो,’ उनले भने, ‘विमानस्थल स्तरउन्नतीको काम हिउँदयाममै सक्ने लक्ष्य छ।’
महानिर्देशक अधिकारीले रनवेसँग समानान्तर हुने गरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताए।
सो कामको योजना करिब ८ महिनाअघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यक्षमता अभिवृद्धिका लागि सुरू गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनै पनि खालको रणनीति वा राजनीतिक नभएको उनले जानकारी दिए।
‘बनाउनैपर्ने भएकाले बनाउन लागिएको हो। यसपछि यसको क्षमता विस्तार हुन्छ। अहिलेको भन्दा बढी फ्लाइट गर्ने सम्भावना रहन्छ,’ उनले भने, ‘भैरहवा विमानस्थलमा जहाज पठाउनका लागि काठमाडौं विमानस्थल बन्द गरेको होइन।’
धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको पनि उनको भनाइ छ।
हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको उनले जानकारी दिए।
चालु आर्थिक वर्षको अनुमानित आयमा करिब दुई अर्ब नोक्सान पर्ने भए पनि विमानस्थलको कार्यक्षमता अभिवृद्धिका लागि सो काम सुरू गर्न लागिएको उनले बताए।
समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने महानिर्देशक अधिकारीले बताए। ट्याक्सी वे निर्माणपछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीको भनाइ छ।
विमानस्थल स्तरउन्नतीको काम हुँदै गर्दा बाह्य उडान मात्र नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने उनले बताए।
‘आन्तरिक उडान पनि कम्तीमा ३० प्रतिशत कटौती हुन्छ तर डोमेस्टिक एयरलाईन्सँग पनि हामीले प्रशस्त छलफल गरेका छौँ। उहाँहरू एकदमै सकारात्मक हुनुहुन्छ,’ उनले भने। (न्युज एजेन्सी नेपाल)
भिडिओ: