लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेशको दीर्घकालीन लक्ष्य पूरा गर्न पर्यटन क्षेत्र महत्त्वपूर्ण आधार स्तम्भ भएको बताएका छन्।
विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले ‘घुमौं लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको बताएका हुन्।
‘पर्यटन न्याय र शान्ति’ भन्ने नारासहित शुक्रवार विश्व पर्यटन दिवस मनाइँदै छ। लुम्बिनी प्रदेश सरकारले पनि दाङको घोराहीमा ४५ औं विश्व पर्यटन दिवस मनाउँदै छ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूलाई १२ जिल्लाका महत्त्वपूर्ण पर्यटकीय स्थलमा पु¥याउन लुम्बिनी पर्यटन सर्किट बनाउनेगरी सरकारले काम थालेको बताएका छन्।
लुम्बिनी प्रदेशमा पर्वतीय पर्यटन, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन, सामाजिक सांस्कृतिक पर्यटन तथा पर्यापर्यटनको माध्यमबाट संरक्षण, विकास र प्रवद्र्धन गर्नसक्ने थुप्रै सम्भावनाहरू रहेको मुख्यमन्त्री आचार्यले बताएका छन्।
सरकारले पर्यटन दिवस मनाईरहँदा रुपन्देहीको बेलहिया नाकाबाट भित्रिने पर्यटकहरुको संख्या भने बढ्न सकेको छैन। बेलहिया स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो। अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् २०२४ को जनवरीदेखि अगष्टसम्मको ८ महिनामा यो नाकाबाट तेस्रो मुलुकका ५२ हजार ४ सय ५२ जना पर्यटक नेपाल आएका छन्।
कार्यालयका अनुसार सन् २०२३ मा यो नाकाबाट ८१ हजार ५५१ जना विभिन्न देशका पर्यटक नेपाल प्रवेश गरेका थिए। बेलहिया नाकाबाट प्रवेश गर्ने अधिकांश पर्यटकको पहिलो रोजाई बुद्धजन्मस्थल लुम्बिनी र लुम्बिनीसँग जोडिएका स्थलहरु हुने गरेका छन्।
यहाँबाट सबैभन्दा बढी बौद्धमार्गी मुलुकका पर्यटकहरू भित्रिने गरेका छन्। कार्यालयका अनुसार पछिल्लो आठ महिनामा सबैभन्दा बढी श्रीलंकाका १४ हजार ८४८ जना पर्यटक बेलहियाबाट नेपाल प्रवेश गरेका छन्।
श्रीलंकापछि थाइल्याण्डका १२ हजार ५२०, म्यानमारका ८ हजार १४, भियतनामका ३ हजार ६८६ र साउथ कोरियाका २ हजार २९९ जना रहेका छन्। त्योसँगै पाल्पा, स्वर्गद्वारी, पोखरा, मुक्तिनाथ, चितवन, काठमाण्डौं लगायत पुग्ने गर्छन्।
सबै तस्बिरः भगवती पाण्डे/सेतोपाटी




