चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ। यही फुलेका जलकुम्भीका कारण फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड लागेको छ।
पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन्। जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर संरक्षणकर्मीलाई जलकुम्भीका कारण ताल सुक्दै जान थालेकोमा चिन्ता बढेको छ।
भरतपुर महानगरपालिका–५ केशरबागको नवज्योती मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भिमलाल चापागाईँले वनभित्र रहेको ‘किङ फिसर’ तालमा फोटो खिच्न र टिकटक बनाउन दैनिक करिब ८ सय आन्तरिक पर्यटक आउने गरेको बताए। ।
पहिले फाट्टफुट्ट आउने भएपनि टिकटकमा भिडियो भाइरल भएपछि यहाँ घुम्न आउनेको सङ्ख्या दिनदिनै बढेको अध्यक्ष चापागाईँको भनाइ छ। उहाँका अनुसार दैनिक विहान १० बजेदेखि पाँच बजेसम्म ताल क्षेत्रमा प्रवेश खुल्ला गरिएको छ।
'यहाँ आउने पर्यटक जलकुम्भीको फुल टिप्छन् । फोटो भिडियो खिच्छन् र नाच्छन् रमाउँछन् । फर्कने बेलामा केहीले फूलसहितका जलकुम्भी लैजान्छन् पनि,' उनले भने।
अध्यक्ष चापागाईँले तालमा जलकुम्भी फैलदा र फुल्दा ताल सुक्ने चिन्ता पनि बढेको बताए । उहाँले जमेका पोखरीमा जलकुम्भी धेरै फैलिने भएकाले र ताल पूरै ढाकिएको बताए।
दक्षिणकाली मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष बाबुराम न्यौपानेले यसवर्ष बर्सातको कमी भएका कारण जलकुम्भी झार बढेको बताए।
जलकुम्भीले ताललाई विनास गरेको उनको भनाइ छ। 'जलकुम्भीका कारण ताल पुरिएकाले ताल गहिराउनुपर्ने अवस्था छ,' न्यौपानेले भने, 'हाम्रो पनि दक्षिणकाली ताल र ओरालेघोल तालमा जलकुम्भी छ तर पर्यटकलाई टिकट काटेर प्रवेश गराएका छैनौँ।'
बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ज्ञानु सुनारले जलकुम्भीलाई कमलको फुल भन्दै टाढाटाढाबाट आन्तरिक पर्यटक आउने गरेको बताए।
'प्रत्येक दिन यहाँ आएर सयौँले जलकुम्भीबारे सोध्नुहुन्छ । हामीले तालमा फुल्ने झार हो भनेर जानकारी दिने गरेका छौँ”, उनले भने। जलकुम्भी झारले तालमा समस्या आएको भन्दै यसको व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको उनको भनाइ छ।
चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्नेले जलकुम्भीको समस्या विकराल हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले जलकुम्भीको समस्या बेलैमा समाधान गर्न नसके यसले विकराल अवस्था सृजना गर्ने बताए।
उनले भने, 'यसले तालतलैया सुकाउँदै छ । जहाँत्यही यसको समस्या छ । यसलाई आउनै दिन हुन्न । यसलाई मान्छे लगाएर निकाल्नुपर्छ । नत्र भयावह हुन्छ।'
जलकुम्भीकै कारण संकटमा पुगेको बीसहजारी तालको जलकुम्भी हटाउन ठूलो मिहिनेत र खर्च भएको यादवले बताए।
'मान्छे प्रकृतिमा रमाउन चाहन्छ । अहिले क्षणिक रमाइलो हेरेर हुँदैन । यहाँका तालमा पहिले जलकुम्भी थिएन । यो विदेशबाट आएको हो । यसले यहाँको रैथाने झारलाई समेत मार्छ,' उनले भने।
जलकुम्भीको फुल फुल्ने, बाक्लो हुँदै जाने र ताल माथिमाथि आएर कुहिने हुनाले विस्तारै ताल सुक्दै जाने यादवको भनाइ थियो । उनका अनुसार यहाँ हुने रैथाने झार चराका लागि राम्रो मानिन्छ। ताल सुक्दै जाँदा चरा पनि आउन छाड्ने बताउँदै यादवले प्रकृतिको यस्तो महारोगको उपचारबारे बेलैमा सोच्न जरूरी रहेको बताए।
निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले रैथाने बनस्पतीलाई संरक्षण गर्नुपर्ने बताए। उनले जैविक विविधता संरक्षण गरेर सबैको विविधता कायम गर्न सक्नुपर्ने भन्दै ध्यान यसतर्फ सबैको जानुपर्ने बताए। 'डढेलो लाग्ने ठाँउमा जलकुम्भी बढी फैलन्छ र ताल तलैया ढाक्छ । आगलागी नियन्त्रणलाई पनि ध्यान दिनुपर्छ । यसले दीर्घकालिन रुपमा असर गर्छ, बेलेमा सबैको पहलमा समाधनतर्फ लाग्नुपर्छ,' अधिकृत घिमिरेले भने।
निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जलकुम्भीको फूल देखाएर पर्यटक बढाउन खोज्ने चिन्तनले ताल नै नरहने जोखिम बढ्ने बताए।
उनले यहाँका ताल यस क्षेत्रको सिँचाइको स्रोत र अनुसन्धान केन्द्रसमेत रहेको बताए।
यिनको संरक्षण विना सिमसार जोगाउने कुरा सम्भव हँदैन। जलकुम्भीले तत्कालका लागि पर्यटक भित्रिए पनि दीर्घकालिनरुपमा यसले वातावरण र तालतलैयामा असर गर्छ”, समितिका अध्यक्ष ढुङ्गानाले भने।
उहाँले सामुदायिक वन क्षेत्रको संरक्षण र उपभोग दुवै स्थानीयले गर्ने भएकाले पर्यटक भित्र्याउन अन्य दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रचना शाहले जलकुम्भी जोगाउनभन्दा उखेल्न उपयुक्त हुने बताए। उनले यसको दीर्घकालिन समस्या समाधनका लागि संरक्षण कोषले सहयोग गर्ने प्रतिबद्धता जनाए।
राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरेले जलकुम्भी देखाएर पर्यटक भित्राउने भन्दा तालको संरक्षणमा जोड दिनुपर्ने बताए।
उनले तालहरू यहाँको कृषि प्रणालीसँग जोडिएकाले तालको संरक्षण गर्दा कृषि उत्पादनमा टेवा पुग्ने बताए। घिमिरेले सबै संरक्षणकर्मी एक भएर सिमसार क्षेत्रको संरक्षणमा जुट्न आह्वान गरे।
पत्रकार रमेशकुमार पौडेलले समस्या ल्याउने बनस्पतीलाई समस्याका रुपमा हेर्नुपर्ने भन्दै पर्यटकीय आकर्षणका लागि अन्य विकल्प खोजी जलकुम्भीको दीर्घकालीन समाधान खेज्नुपर्ने बताए। -रासस