आगामी सोमबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली-भैरहवा उडानको तयारी गरेको नेपाल एयरलाइन्सले यो योजना रोकेको छ।
नेपाल राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले आगामी सोमबार (मंसिर १२) गतेबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जाने योजना बनाएको थियो।
निगमले काठमाडौं-दिल्ली-भैरहवा हुँदै काठमाडौं उडान गर्न करिब एक साताअघि नेपाल नागरिक उड्डयन प्राधिकरणमा स्वीकृति प्रस्ताव पठाएको थियो।
अन्तर्राष्ट्रिय उडानका लागि दुबै देशका नियामक निकायसँग अनुमति लिनुपर्छ। यसका लागि सुरूमा नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिनुपर्ने हुन्छ। त्यसपछि मात्र भारतको नियामक निकायले अनुमति दिन्छ।
तर निगमले मागेको उडान अनुमति प्राधिकरणले स्वीकृत गरेको छैन। जसकारण भारतको नियामक निकायबाट पनि यसबारे अहिलेसम्म निगमलाई कुनै जवाफ आएको छैन। जसकारण निगमले आगामी सोमबारबाट सुरू गर्ने काठमाडौं-दिल्ली-भैरहवा उडान तत्कालका लागि नहुने बताएको छ।
एक साताअघि नै प्राधिकरणसँग उडान अनुमति मागे पनि किन स्वीकृत गरेन प्राधिकरणले?
प्राधिकरणले निगमलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुले आउन जान पाउने गरी रूट बनाउन अनुरोध गरेको थियो।
तर निगमले काठमाडौंबाट दिल्ली जाने र दिल्लीबाट गौतमबुद्ध फर्कने गरी सेड्युल बनाएकाले स्वीकृत नभएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
'भैरहवाबाट यात्रु चढ्न पनि पाउनुपर्छ र झर्न पनि पाउनुपर्छ भन्ने प्राधिकरणको बटम लाइन हो’ उनले सेतोपाटीसँग भने, ‘तर निगमले अहिले काठमाडौंबाट दिल्ली जाने र दिल्लीबाट भैरहवा फर्कने सेड्युल बनाएको छ, यसरी उडान गर्दा भैरहवामा यात्रले अवतरण गर्न पाए पनि प्रस्थान गर्न पाएनन्।’
सूचना अधिकारी भुलकाअनुसार प्राधिकरणले निगमलाई काठमाडौं-भैरहवा-दिल्ली र दिल्ली-भैरहवा-काठमाडौं उडान गर्ने गरी उडान अनुमति पेश गर्न अनुरोध गरेको थियो। तर यसबारे निगमले कुनै निर्णय गर्न नसकेको उनले बताए।
'निगमले सेक्टर परिवर्तन गरेर बिहीबार पेश गर्छौ भने पनि शुक्रबारसम्म पनि पेश गरेको छैन' उनले भने, 'पहिलेको सेड्युलअनुसार प्राधिकरणले उडान अनुमति स्वीकृत गर्न सक्दैन। दिल्लीबाट काठमाडौं आउने मान्छे भैरहवा पुग्दा समय बढी लाग्छ त्यस्तो उडान यात्रुले पनि रूचाउँदैनन्।'
उनले अगाडी भने, 'उडान तालिका राख्नका लागि मात्र उडान गरेर हुँदैन लामो समय टिकाउनका लागि पनि सेक्टर मिलाउन जरूरी छ। त्यसकारण प्राधिकरणले यो सेक्टर परिवर्तन गरेर पेश गर्न अनुरोध गरेका छौं।'
निगमले पहिलेको सेक्टर परिवर्तन गरेर प्राधिकरणमा पेश गरेपछि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कटौती भएको उडान समेत दिने उनले बताए।
यसअघि नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्दै आएको उडान प्राधिकरणले कटौती गरेको थियो।
प्राधिकरणले गौतमबुद्ध विमानस्थल पुर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि हाल स्वदेशीसँगै विदेशी वायुसेवालाई पनि पत्राचार गरिसकेको छ।
काठमाडौं विमानस्थलबाट दैनिक एकभन्दा बढी उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सलाई पनि अक्टोबरपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य उडान गर्न भनेको थियो। यद्यपी विदेशी वायुसेवाले भने डिसेम्बर १६ सम्मको समय मागेका छन्।
प्राधिकरणले अक्टोबर ३० बाट सन् २०२३ मार्चसम्मको उडान तालिका (विन्टर सेड्युल) मा भैरहवाबाट पनि अनिवार्य उडान राख्न प्राधिकरणले पत्र पठाएको थियो।
यहीअनुसार गत कात्तिक १७ गतेदेखि हिमालय एयरलाइन्सले भैरहवा-मलेसिया दैनिक चार्टर्ड उडान गरिरहेको छ।