गुड नेबर्स इन्टरनेसनल (जिएनआई) नेपालले मंगलबार (मार्च २८) आफ्नो २० औं वार्षिकोत्सव मनाउँदैछ।
यो गैरसरकारी संस्थाले सन् २००२ ले नेपालमा रही विभिन्न क्षेत्रमा आफ्नो सेवा पुर्याइरहेको छ।
'हामी हरेक बालबालिकाले राम्रो शिक्षा, स्वास्थ्य, खानेपानी, सुरक्षा लगायत सुविधा पाउनुपर्छ भन्ने मान्यतामा विश्वास राख्छौं। यीसँगै जिएनआईले सामाजमा आवश्यक विभिन्न क्षेत्रमा सक्रिय रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। हामी समाजमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू गर्छौं,' नेपालका लागि जिएनआईका निर्देशक जाय क्युन रोले भने।
स्थापनाकालदेखि हालसम्म जिएनआईले २२ जिल्लामा रहेका विभिन्न ७३६ विद्यालय, ३९३ स्वास्थ्य क्षेत्र र १४१ व्यावसायिक संस्थाहरूसँगको समन्वयमा काम गरिसकेको छ। विशेषगरी बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य तथा सरसफाई, खानेपानी क्षेत्रमा सक्रिय छ। त्यसैगरी विपद/जोखिम न्यूनीकरण कार्यक्रम, जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम र वकालत कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ।

संस्थाले विशेष ग्रामीण क्षेत्रका बालबालिका र समुदायका सदस्यहरूका लागि अनुकूल कार्यक्रम आयोजना गर्छ। यसले बालबालिकाहरूलाई उनीहरूका अधिकारबारे बुझ्न, उनीहरूको समग्र विकास प्रवर्द्धन गर्न र उनीहरूको परिवारलाई आत्मनिर्भर बनाउन विभिन्न सीप एवं तरिका पनि सिकाउँदै आएको छ।
बालबालिकालाई कुनै पनि प्रकारका हिंसा, शोषण र दुर्व्यवहारबाट जोगाउनु र त्यस्ता गतिविधि रोक्नु संस्थाको उच्च प्राथमिकता हो। हालसम्म ५४ जना बालबालिकाको बाल विवाह हुनबाट रोकेको संस्थाले जनाएको छ।
त्यस्तै जिएनआईले न्यून आय भएका परिवारका ४२ हजार तीन सय २८ जना विद्यार्थीहरूलाई उच्च शिक्षा पूरा गर्न मद्दत गरेको छ। यसमा धेरैजसो विपन्न, आदीवासी र सिमान्तकृत समुदायका बालबालिका रहेको संस्थाको भनाइ छ।
जिएनआई नेपालले विभिन्न क्षेत्रमा बाल क्लब र बाल संरक्षण समितिहरू पनि स्थापना गरेको छ।
त्यस्तै सन् २०१० देखि शिक्षा क्षेत्रलाई थप मजबुत बनाउन र बढावा दिन छात्रावृत्ति कार्यक्रम सञ्चालन गरेको छ। संस्थाले बर्दिया जिल्लामा एक समुदायका विद्यार्थीहरूका लागि यो कार्यक्रम सञ्चालन गरिरहेको हो।

संस्थाले नेपालका विभिन्न क्षेत्रमा १२९ विद्यालयमा पूर्वाधार तथा भवन निर्माण सम्पन्न गरेको छ भने ८४ विद्यालयको भवन पुनर्निर्माणको काम सकेको छ।
स्वास्थ्य र सरसफाई अन्तर्गत जिएनआईले विभिन्न स्थानमा शौचालयहरू पनि बनाउँदै आएको छ। यी शौचालयहरू बालबालिका-मैत्री, लैंगिक-मैत्री, अपांगता-मैत्री र महिनावारी स्वच्छता व्यवस्थापन-मैत्री हुने गर्छन्।
संस्थाले विभिन्न जिल्लाका स्थानीयहरूको दैनिकी सहज पार्न र सामाजिक-आर्थिक उत्थानका लागि माइक्रो-उद्यमको अवधारण विकास गर्न मद्दत गर्दैछ। यसबाहेक थुप्रै कृषक परिवारको आर्थिक उत्थान कार्य गरेको छ। अर्थात् उनीहरूलाई आर्थिक रूपमा बलियो बनाउन कार्यक्रमहरू आयोजना गरेको छ।
जिएनआईले जुन समुदायमा सामाजिक कार्य गरिरहेको छ, उक्त समुदायका मानिसहरूलाई पनि समावेश गरी कार्यक्रम सञ्चालन गर्ने गरेको छ। यसो हुँदा मानिसहरूमा थप आत्मीयताको भाव बढ्नुका साथै कार्यक्रम सञ्चालनमा पनि सहज हुने संस्थाको भनाइ छ।


'स्थानीय समुदायका सदस्य र स्वयंसेवकहरूलाई परिचालन गरेर कुनै पनि कार्यक्रम गर्दा सञ्चालनका लागि सहज हुन्छ,' राष्ट्र निर्देशक जाय क्युन रो भन्छन्, 'सामुदायिक र स्थानीय संस्थाहरूसँग सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने गर्छौं।'
यसबाहेक उक्त अभ्यासले पारदर्शिता र जवाफदेहिता हुने संस्थाको भनाइ छ।
सन् १९९१ मा दक्षिण कोरियाको सोलमा स्थापित जिएनआईले हाल विश्वभरका ४७ देशहरूमा आफ्नो सेवा सञ्चालन गरिरहेको छ। चिली, मेक्सिको, अमेरिका, क्यानडा, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, ताइवान, बेलायत र स्विट्जरल्यान्डमा जिएनआईका कोष संकलन कार्यालयहरू छन्।
यो संस्थाले कुनै पनि देशको अवस्था के-कस्तो छ भन्ने बुझेर आवश्यक क्षेत्रमा सुधारका लागि काम गर्ने गर्छ। जस्तै शिक्षा, स्वास्थ्य, बालबालिका संरक्षण, सामाजिक-आर्थिक उत्थान, जीविकोपार्जन उत्थान, पर्यटन तथा संस्कृति प्रवर्द्धन लगायत क्षेत्रमा विभिन्न किसिमले योगदान पुर्याइरहेको छ।

एड्भर्टोरियल