गोल्यान ग्रुपले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारका लागि सहयोग कार्यक्रम घोषणा गरेको छ। ग्रुपले सहिद परिवारप्रति सहानुभूति व्यक्त गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहयोगका प्रतिवद्धता जनाएको हो।
ग्रुपले उनीहरूको साहसको सम्मानस्वरूप सहिद परिवारका सदस्यहरूका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। सहयोग कार्यक्रम अन्तर्गत सहिदका दाजुभाइ, दिदीबहिनी तथा सन्तानका लागि कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गरिनेछ।
साथै, बालबालिकाको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापमा पनि आवश्यक सहयोग उपलब्ध गराइनेछ। सहिदका आमा–बुबाका लागि स्वास्थ्य बीमा सुविधा व्यवस्था ग्रुपले जनाएको छ।
‘कुनै सहयोगले सन्तान गुमाएको पीडा मेटाउन सक्दैन, तर यो साथ र सहकार्यको प्रतिवद्धता हो,’ विज्ञप्तीमा भनिएको छ।
ग्रुपले सहिद परिवारको गोपनीयता र मर्यादालाई उच्च प्राथमिकता दिने जनाएको छ। त्यसअनुसार, कुनै पनि परिवारको नाम वा तस्विर सार्वजनिक नगरी प्रत्यक्ष सम्पर्कमार्फत सहयोग कार्यक्रम अघि बढाइनेछ।