आन्तरिक स्रोतबाट निर्माण भएको निजी क्षेत्रको सबभन्दा ठूलो सोलुखोला दूधकोशी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
छयासी मेगावाटको यो जलविद्युत आयोजना माघ २७ गतेबाट १३२ केभी डबल सर्किट क्षमताको १२ किलोमिटर लामो तिङ्ला प्रसारण लाइनमा जोडिएको साहस ऊर्जा लिमिटेडका अध्यक्ष अध्यक्ष हिमप्रसाद पाठकले जानकारी दिए।
यो जलविद्युत आयोजना नदी प्रवाहमा आधारित छ। यो हालसम्मको नेपालको तेस्रो ठूलो आयोजना पनि हो। यसबाट वार्षिक ५२०.२ गिगावाट आवर (सुख्खा याममा १००.२७ र वर्षातमा ४१९.९३ गिगावाट आवर) विद्युत उत्पादन हुने र हाल ३० मेगावाट बिजुली उत्पादन भइरहेको पाठकले बताए।
यो आयोजना सोलुखुम्बुको दूधकुण्ड र थुलुङ गाउँपालिकामा छ। करिब १४ अर्ब लागतमा बनेको यो आयोजना निर्माणको जिम्मा सिई कन्स्ट्रक्सनले पाएको थियो।
यसअघि सन् २०१७ मा यो आयोजना निर्माणको जिम्मा इटालियन कम्पनी सिएमसी दि रिभेन्नले पाएको थियो। सम्झौताअनुसार आयोजना सुरू गर्न नसकेपछि उक्त विदेशी कम्पनीसँगको ठेक्का रद्द गरियो। त्यसपछि सन् २०१९ मा सिई कन्स्ट्रक्सनले ठेक्का पाएको हो। यो आयोजनाले २०७१ असोजमा विद्युत विकास विभागबाट उत्पादन अनुमति पाएको थियो।
यो आयोजनाले राष्ट्रिय विद्युत प्रणालीमा ३.५८ प्रतिशत योगदान पुर्याउने आयोजनाका प्रबन्ध निर्देशक सुशील थापाले बताए।
‘यसले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ०.३ प्रतिशत योगदान गरेको छ। आगामी दिनमा वार्षिक ०.१० प्रतिशत योगदान गर्ने प्रक्षेपण रहेको छ,’ उनले भने।
आन्तरिक स्रोतबाट साना जलविद्युत आयोजना मात्रै निर्माण भइरहेको अवस्थामा आफूहरूले हिम्मत गरेर यो आयोजनामा लगानी गरेको पाठकले बताए।
‘यो आयोजना सफल भएपछि स्वदेशी पुँजी परिचालन गरेर पनि ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने पुष्टि भएको छ। सेतो सुनका रूपमा परिचित जलविद्युत क्षेत्रको लगानी अरूभन्दा फरक छ। तीन दशकपछि हामीले जलविद्युत आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्छ। हामीलाई सरकारले राष्ट्रसेवकका रूपमा लिएर यो क्षेत्रमा केही गर्छु भन्नेलाई हौसला दिने वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भने।
यो आयोजनाबाट व्यावसायिक उत्पादन सुरू भएको घोषणा कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्रलाई करिब १० मेगावाट क्षमताका आयोजना निर्माण गर्न असहज अवस्थामा साहस ऊर्जाले सोलुखोला दूधकोशी आयोजना निर्माणका लागि साहस जुटाएको बताए।
‘त्यस समयमा हामी कसरी बिजुली उत्पादन गर्ने भन्ने अवस्थामा थियौं। अहिले उत्पादित बिजुली कसरी खपत गर्ने भन्ने अवस्थामा पुगेका छौं,’ उनले भने।
खर्बौंको लगानी भएको जलविद्युत क्षेत्रमा सरकार तथा सम्बन्धित सरोकारवालाले सहजीकरण गर्नुपर्ने उनको तर्क छ। उनका अनुसार जलविद्युत क्षेत्रमा हाल करिब १४ खर्ब लगानी छ। सबै आयोजना बनिसक्दा लगानी ३० खर्ब बढी नाघ्छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालको विद्युत उत्पादनको इतिहासमा निजी क्षेत्रले सबभन्दा ठूलो परियोजना सम्पन्न गरेकोमा धन्यवाद दिए।
‘जलविद्युत हामी नेपालीहरूले धेरै वर्षदेखि सपना देखेको हो। धेरै वर्षपहिले ८३ हजार मेगावाटको मोटामोटी अध्ययन गरियो। त्यसबाट समग्र राष्ट्रको विकाससँगै समाजको रूपान्तरणमा पनि यसको ठूलो योगदान हुन्छ भन्ने सपना हामीले देख्यौं। तर व्यवहारमा उतार्ने सम्बन्धमा हाम्रो गति निकै पट्यारलाग्दो भएकै हो,’ उनले भने।
नेपालमा ठूलो राजनीतिक उथलपुथल र परिवर्तनपछि उक्त सपना साकार पार्न महत्वाकांक्षी परियोजनातर्फ आफू अघि बढेको उनी बताउँछन्।
‘म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढ्नुपर्छ भनेर योजना बनाइएको थियो। तर देशको राजनीतिक उतारचढावका कारण सरकारले जे सपना देखेको हो, त्यसलाई त्यही उचाइमा लैजान सकिएन,’ प्रधानमन्त्री दाहालले भने।
तर जलविद्युतबाट नेपालको रूपान्तरण गर्ने सन्देश आफूले दिएको दाबी उनले गरे। दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङको विकराल अवस्था हटाएको पनि उनले बताए।
‘सही ठाउँमा सही अधिकारीहरू नियुक्त गरेर लोडसेडिङको समस्यालाई प्राविधिक, राजनीतिक र व्यावहारिक रूपमा समाधान गर्ने नयाँ अवसर आएको थियो,’ उनले भने।
अहिले आफ्नै पालामा आन्तरिक स्रोतबाटै ठूला आयोजनाको बिजुली उत्पादन सुरू भएको तथा नेपालमा उत्पादन भएको बिजुली भारत तथा बंगलादेशमा समेत बिक्री गर्ने वातावरण बनेको पनि उनले बताए।