खोटाङका ३० वर्षीय उपेन्द्र भट्टराई विगत पाँच वर्षदेखि लक्ष्मी लघुवित्त वित्तीय संस्थामा कार्यरत थिए। संस्थाअन्तर्गत पाँचथर, भालुचोक शाखामा काम गर्थे। गत असोज ५ गते कोरोना संक्रमण भएर उनको निधन भयो।
एक्ला छोराको निधनपछि परिवार पूरै शोकमा डुब्यो। अर्कातिर उमेर पाक्दै गरेका रोगी आमाबुबा र एउटी बहिनीको जीवन धान्ने खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताउन थाल्यो।
यसैबीच उपेन्द्र काम गर्ने कम्पनीमार्फत् छोरा सामाजिक सुरक्षा कोषमा आवद्ध भएको भट्टराई परिवारले सुने। कोषबाट सुविधा पाइने सुनेपछि अलिकति भए पनि आड देखे।
'हाम्रो एउटै छोरा थियो। पाल्छ भन्ने आशा थियो। उसले नै हामीलाई छाडेर गएपछि कति चोट पर्यो कति,' कोषको कार्यालयमा भेटिएका उपेन्द्रका बुबा देवराज भट्टराईका आँखा टिलपिलाए, 'सुरक्षा कोषले केही सहयोग गर्छ भन्ने सुनेका छौं।'
एकछिन रोकिएर कोषका कर्मचारीतर्फ हेर्दै उनले भने, 'अब छोरो त आउँदैन। तर तपाईंहरूले सहयोग गर्नुभयो भने पनि धेरै राहत हुन्छ।'
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ का ५८ वर्षीय देवराजको परिवार छ जनाको हो। परिवारमा श्रीमती, तीन छोरी र एक छोरा हुन्। दुई छोरीको बिहे भइसक्यो। देवराजसहित उनकी ६३ वर्षीया श्रीमती र कान्छी छोरी उपेन्द्रकै भरमा थिए। उपेन्द्र अविवाहित थिए।
'छोरोको तलब बढ्थ्यो होला। हामीलाई सजिलो हुन्थ्यो होला, हाँसीखुसी हुन्थ्यौं,' छोरा सम्झिएर देवराज भक्कानिए।
उपेन्द्र २०७८ वैशाखदेखि कोषमा सूचीकृत भएका कारण उनका बुबा देवराज र आमा ढकमायाले आश्रित परिवार सुरक्षा योजनाअन्तर्गतको सुविधा पाउने भएका छन्। २०७८ असोज ६ गतेदेखि उनीहरूले उक्त सुविधा पाउने भएका हुन्।
मृतक उपेन्द्रको आधारभूत पारिश्रमिक २६ हजार नौ सय ८५ रूपैयाँ थियो। तीन महिनामा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत अर्थात् ३० हजार नौ सय ४९ रूपैयाँ योगदान रकम जम्मा भएको कोषले जनाएको छ।
उपेन्द्रको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतका आधारमा आश्रित परिवारले मासिक १६ हजार एक सय ९१ रूपैयाँ पाउने भएका हुन्। आश्रित परिवारले यो रकम आजीवन पाउने व्यवस्था छ।
त्यस्तै उपेन्द्रको अन्तिम संस्कारका लागि कोषले उनका आमाबुवालाई २५ हजार रूपैयाँ पनि उपलब्ध गराएको छ। मृतक परिवारलाई यो रकम दिने कोषको प्रावधान हो।
सामाजिक सुरक्षा व्यवस्था श्रमिकका आश्रित परिवारलाई घाउमा मलम बनेको मृतकका आफन्त राजनप्रसाद बाँस्तोलाले बताए।
'उपेन्द्र फर्किएर त आउँदैनन्। तर सामाजिक सुरक्षाले गर्दा आमाबुबालाई निकै राहत हुन्छ। यो ठूलो कुरा हो,' उनले भने।
भट्टराई दम्पतीसँगै कोषमा उपेन्द्रले काम गर्ने लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा पनि आएका थिए। शर्माले पाँच वर्षसँगै काम गरेको कर्मचारी गुमाउनुपरेको दुःख व्यक्त गरे। तर कोषबाट परिवारलाई राहत मिलेकोमा खुसी लागेको पनि बताए।
'कोषको खुबै आलोचना भइरहेका बेला हामी सूचीकृत भएका थियौं,' उनले भने, 'अहिले परिवारलाई जीवनभर राहत भयो। संस्थाले केही सुविधा दिन्थ्यो होला तर आश्रित परिवारका लागि भनेर यस्तो सुविधा हुन्थेन।'
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली यस्तै भइपरी आउने घटनामा राहत हुने भएकाले कोषमा आवद्ध हुन जरूरी रहेको बताउँछन्।
'अहिले उपेन्द्रका परिवारमा पीडा पर्यो। कोषले मृतकलाई जीवित गराउन त सक्दैन तर आर्थिक संकटमा मलम लगाउन सक्छ,' उनले भने।
योजना सुरू भएको दुई वर्ष अवधिमा सूचीकृत धेरै श्रमिक लाभान्वित भएको पनि उनले उल्लेख गरे। कोषमा श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम मासिक रूपमा नियमित जम्मा गर्नुपर्छ। जसमा ११ प्रतिशत श्रमिकको तर्फबाट र २० प्रतिशत रोजगारदाताको तर्फबाट जम्मा गर्नुपर्ने व्यवस्था छ।
कोषका अनुसार हालसम्म आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत सात करोड, ७९ लाख २१ हजार दुई सय ९२ रूपैयाँ योगदान रकम जम्मा भएको छ। आठ सय ७३ जनालाई ९९ लाख ६० हजार पाँच सय २७ रूपैयाँ दावी भुक्तानी गरिएको कोषको तथ्यांकले देखाउँछ।
कोषमा योगदान सुरू गरेपछि श्रमिकले निम्न किसिमका सुविधा पाउँछन्।
औषधि–उपचार तथा स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाः
यो सुविधाका लागि कोषमा नियमित तीन महिना योगदान गरेको हुनुपर्छ। यो योजनाअन्तर्गत औषधि–उपचारका लागि अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक एक लाख रूपैयाँसम्म कोषले उपलब्ध गराउँछ।
सामान्य बिरामी भई औषधि सेवन गर्नुपर्ने अवस्थामा वार्षिक २५ हजार रूपैयाँसम्म कोषले प्रदान गर्छ। कुल दावीको २० प्रतिशत रकम भने श्रमिकले बेहोर्नुपर्ने व्यवस्था छ।
मातृत्व सुरक्षा योजना अन्तर्गत पुरुष योगदानकर्ताको पत्नी वा महिला योगदानकर्ता गर्भवती भई नियमित गर्भ परीक्षण गराउँदाको खर्च, अस्पताल भर्ना भई प्रसूति सम्बन्धि शल्यक्रिया वा उपचार गराउँदाको खर्च, अस्पतालमा सुत्केरी हुँदाको खर्च, सुत्केरी भएको छ हप्तासम्मको सुत्केरीसँग सम्बन्धित उपचार खर्च तथा तीन महिनासम्मको शिशुको उपचार वापतको खर्च कोषले बेहोर्छ।
प्रसूति स्याहारका लागि प्रति शिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध गराउने व्यवस्था छ। सो रकम २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत पाइन्छ। पति र पत्नी दुवै योगदानकर्ता भएको अवस्थामा भने कुनै एक जनाले मात्र यस्तो सुविधा दावी गर्नुपर्नेछ।
दुर्घटना तथा अशक्तता सुरक्षा योजनाः
यसअन्तर्गत योगदानकर्ता रोजगारीजन्य (कार्यस्थल) दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च पाइन्छ। रोजगारीजन्य दुर्घटनामा परी उपचार गराउँदा सम्बन्धित रोजगारदाता वा योगदानकर्ता वा निजको परिवारको सदस्यले सात दिनभित्र कोषलाई जानकारी गराउनु पर्नेछ।
जानकारी नगराई कोषसँग सम्झौता भएको अस्पतालबाहेक अन्य अस्पतालमा रोजगारीजन्य दुर्घटनामा उपचार गराएकोमा त्यस्तो उपचारवापत सात लाख रूपैयाँभन्दा बढीको खर्च कोषले नबेहोर्ने व्यवस्था कार्यविधिमा छ। रोजगारीजन्य बाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले सात लाख रूपैयाँसम्मको मात्र उपचार खर्च बेहोर्छ।
तर अन्य बीमा प्रणालीबाट सात लाख वा सोभन्दा बढी सुविधा पाउने अवस्थामा कोषले कुनै खर्च बेहोर्ने छैन। सोभन्दा कम सुविधा पाउने भए बाँकी रकमको हदसम्म कोषले बेहोर्ने उल्लेख छ।
कार्यस्थल दुर्घटना वा व्यवसायजन्य रोगको कारण अस्थायी पूर्ण अक्षमता भएको योगदानकर्ताले निजले खाइपाइ आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रूपमा काममा नफर्किँदासम्म पाउनेछन्।
कार्यस्थल दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी अक्षमता भएको योगदानकर्ताको अक्षमताको अनुपातमा श्रमिकले खाइपाइ आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबर रकमलाई शतप्रतिशत मानी निजको अक्षमता प्रतिशतका आधारमा जीवनभर निवृत्तिभरण सुविधावापत मासिक रूपमा कोषले प्रदान गर्छ।
पूर्ण अक्षमता भएको योगदानकर्ता जीवित रहुञ्जेल हेरचाह गर्ने व्यक्ति वा संस्थालाई योगदानकर्ताले खाइपाइ आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबर रकम मासिक रूपमा उपलब्ध गराउँछ। यो सुविधा कोषमा सूचीकरण भइ कोषले योगदान रकम लिन सुरू गरेको मितिबाट लागू हुन्छ।
आश्रित परिवार सुरक्षा योजनाः
जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको साठी प्रतिशतको दरले जीवनभर निवृत्तिभरण पाउँछन्।
मृतक योगदानकर्ताको १८ वर्ष उमेर पूरा नभएको सन्तान भएमा सो उमेर पूरा नभएसम्म शैक्षिकवृत्ति बापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा पाउँछन्। एकभन्दा बढी सन्तान सुविधा पाउने अवस्थाका भए बढीमा दुई सन्तानलाई आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम दामासाहीले प्रदान गरिनेछ।
कुनै सन्तान निरन्तर अध्ययनरत रहे त्यस्तो सुविधा एक्काइस वर्ष पूरा नभएसम्म प्रदान गर्न सकिने कोषले जनाएको छ। तर निजको बिहे भए वा अध्ययन पूरा भए त्यस्तो सुविधा प्रदान गरिँदैन।
योगदानकर्ताको पति, पत्नी, छोरा वा छोरी नभएको अवस्थामा आश्रित आमाबुबाले सुविधा पाउँछन्। उनीहरूलाई कोषले योगदानकर्ताको आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकम निजहरूको जीवनभर मासिक रूपमा प्रदान गर्छ। आमाबाबु दुवै जीवित भए दुवैलाई दामासाहीले सुविधा दिइन्छ। यी सुविधा कोषमा सूचीकरण भइ कोषले योगदान लिन सुरू गरेको मितिबाट पाइन्छ।
वृद्ध अवस्था सुरक्षा योजनाः
यो योजना अन्तर्गत योगदानकर्ताले निवृत्तिभरण योजना र अवकाश सुविधा पाउँछन्। २०७८ साउन एक गते वा सोभन्दापछि कोषमा योगदान सुरू गर्ने सबै योगदानकर्ता निवृत्तिभरण योजनामा समावेश हुनेछन्।
निवृत्तिभरण प्राप्त गर्न योगदानकर्ताको उमेर साठी वर्ष पूरा भएको र कम्तीमा १८० महिना योगदान गरेको हुनुपर्छ। योगदानकर्ताले १८० महिनाको योगदान नगर्दै साठी वर्ष उमेर पुरा भएमा निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुस्ट पाउने व्यवस्था छ। वा सो रकमलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनभर निवृत्तिभरण पनि लिन सक्छन्।
२०७८ असार मसान्त अगाडि कोषमा सूचीकरण भएका श्रमिक अवकाश योजनामा समावेश हुन्छन्। यो सुविधा अन्तर्गत जम्मा भएको रकम र सो रकममा प्राप्त प्रतिफलसमेत जोडी हुन आउने रकम योगदानकर्ता अवकाश हुँदा वा निजको रोजगारी अन्त्य भएको अवस्थामा एकमुस्ट पाइन्छ। योगदानकर्ताको मृत्यु भएको अवस्थामा हकवालाले भुक्तानी पाउँछन्।
त्यस्तै कोषमा जम्मा भएको रकमबाट तीन वर्ष लगातार योगदान गर्नेले यो सुविधाअन्तर्गत जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउने व्यवस्था छ।