जनकपुरधाम विमानस्थलमा हवाई रिफ्युलिङ स्टेशन संचालन भएकाे छ।
बुद्ध एयरको विमानमा इन्धन भरेर उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले रिफ्युलिङ स्टेशनको उद्घाटन गरे।
योसँगै जहाजले जनकपुरधाम विमान स्थलमै हवाई इन्धन भर्न पाउने छन्। जनकपुरधाम विमानस्थल स्थापना भएको ५३ वर्ष पछि मात्रै रिफ्युलिङ स्टेशनको स्थापना गरिएको हो।
उदघाटन अवसरमा मन्त्री यादवले रिफ्युलिङ स्टेशनको स्थापनामा भारत सरकारको समेत सहयोग रहेको बताए। जनकपुरधाम विमानस्थलमा रिफ्युलिङ स्टेशनको स्थापना भए पनि भण्डारणका लागि डिपोको व्यवस्था छैन।
विराटनगर विमानस्थलबाट हवाइ इन्धन ल्याएर दुई बाउजर (ट्याङ्कर) भण्डारण गर्ने व्यवस्था मिलाइएको जनकपुरधाम विमानस्थलका स्टेशन इन्चार्ज सरोज कुमार यादवले जानकारी दिए।
उनले तत्काल ४१ किलोलिटर हवाई इन्धन मात्रै स्टक गरिएको बताए। विमानस्थलमै डिपो स्थापनाका लागि प्रकृया समेत अगाडि बढाइएको छ।
नागरिक उडड्यन प्राधिकरणले डिपो स्थापनाका लागि नेपाल आयल निगमलाई ५ कठ्ठा जग्गा समेत उपलब्ध गराएको छ ।
१ सय ४० किलोलिटर क्षमताको डिपो दुई वर्षभित्रै स्थापना गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको स्टेशन इन्चार्ज यादवले बताए।
रिफ्युलिङ स्टेशनको स्थापनापछि हुने फाइदाहरु
रिफ्युलिङ स्टेशन जनकपुरधाम विमान स्लमै स्थापना भएपछि विमान कम्पनीका साथै यात्रुहरुलाई समेत फाइदा पुग्ने भएकोछ।
रिफ्युलिङ स्टेशनका कारण वैकल्पिक ल्यान्डिङका लागि काठमाडौँ पछि जनकपुरधाम विमानस्थल प्राथमिकतामा पर्ने नागरिक उड्डयन प्राधिकरणका प्रमुख मोहन ठाकुरको भनाइ छ।
काठमाडौँबाट सबैभन्दा सहज रुट जनकपुरधाम विमान स्थलकै रहेकाले लैण्डिंग तथा टेक अफ चार्ज उठाएर समेत विमान स्थलले अर्थोपार्जन गर्न सक्नेछ।
यस्तै रात्रिकालीन ल्यान्डिङ गर्नुपर्ने अवस्थामा समेत जनकपुरधाम विमानस्थल नै प्राथमिकतामा पर्ने ठाकुरले बताए । उनले भने ‘ यदी यहाँको विमानस्थलमा रात्रिकालीन पार्किङ सुरु भयो भने होटेल व्यवसाय समेत फष्टाउने छन्।’