सुर्खेतका नौवटा स्थानीय तहमध्ये आठवटाले मंगलबार आगामी आर्थिक बर्ष २०७६/७७ को बजेट प्रुस्तुत गरेका छन् । गुर्भाकोट नगरपालिकाबाहेक अन्य स्थानीय तहले तोकिएको समयमै बजेट प्रस्तुत गरेका हुन् ।
सुर्खेतका स्थानीय तहको बजेटमध्ये सबैभन्दा धेरै बजेट वीरेन्द्रनगर नगरपालिकाको रहेको छ । धेरैजसो स्थानीय तहहरुले विशेषगरी सडक, शिक्षा, स्वास्थ्य, कृषि जस्ता कार्यक्रमलाई नै उच्च प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।
कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक बर्ष ०७६/७७ को लागि १ अर्ब २० करोड ७९ लाख ३० हजार ४०० रुपैया बराबरको बजेट ल्याएको छ । नगरपालिकको पाँचौ नगरसभामा उपमेयर मोहनमाया ढकालले प्रस्तुत गरेको बजेट अनुसार जम्मा बजेटमध्ये चालुतर्फ ७४ करोड,९३ लाख ३८ हजार ४०० रुपैया रहेको छ भने पुँजीगततर्फ ४५ करोड ३ लाख १२ हजार रुपैया रहेको छ ।
बजेटमध्ये आन्तरिक आयतफ १३ करोड ९० लाख ९२ हजार रुपैया रहेको छ । यस्तै संघीय सरकारको समानीकरण अनुदान २४करोड २३ लाख, संघीय सरकारको राजस्व बाँडफाँडतर्फ १८ करोड २१ लाख, सशर्त अनुदान ३५ करोड ९ लाख रहेको छ ।
वीरेन्द्रनगरका लागि प्रदेश सरकारको वित्तीय सामानीकरणतर्फ १ करोड १९ लाख ६७ हजार, सवारी कर बााँडफँडतर्फ ३० लाख १३ हजार रुपैया प्राप्त भएको छ ।
नेपाल सरकारबाट सामाजिक सुरक्षाअन्तर्गत प्राप्त हुने २० करोड ४२ लाख ७८ हजार ४००, साझेदारी कोषतर्फको ८२ लाख ८० हजार, चालु आर्थिक बर्षको मौज्दात ६ करोड ६० लाख रुपैया ०७६÷७७ को बजेटमा समावेश गरिएको उपमेयर ढकालले जानकारी दिइन् ।
पूर्वाधारहरुको विकास तथा विस्तारबाट सेवासुविधा, बजारमा पहुँच र उपयोग वृद्धि भई जीवनयापनमा सहजता ल्याउने, स्वच्छ खानेपानी तथा सरसफाईमा नगरबासीको सहज पहुँचमा वृद्धि गर्ने, कृषि तथा पशुपालन पेशा व्यवसायिक रोजगारमूलकतर्फ उन्मुख गर्ने, उद्योग तथा व्यवसायको सिर्जना, वृद्धि र विस्तार गर्ने, वीरेन्द्रनगर शैक्षिक पर्यटनको गन्तव्य वन्ने आधार तयार गर्ने, शिक्षा तथा खेलकुद सर्वसुलभ, गुणस्तरीय, व्यवसायिक र समावेशी गराउन योजनावद्ध विकासको शुरुवात गर्नेलगायतका योजनासहित बजेट ल्याइएको ढकालले जानकारी दिइन् ।
आर्थिक बर्ष ०७६/७७ को बजेटमध्येबाट वडास्तरीय योजनाका लागि २४ करोड विनियोजन गरेको छ भने नगर महत्वको योजना मुख्य बजार पुर्वाधार विकास र म्याचीङ फण्डसतिका लागि २ करोड ४० लाख रुपैया विनियोजन गरेको छ ।
महिला स्वरोजगार कार्यक्रमतर्फ १ करोड, नगरस्तरीय गुरुयोजना निर्माण तथा अध्ययन अनुसन्धानतर्फ १० लाख, महिलालाई सेनेटरी प्याड वितरणका लागि २० लाख, शहरी नापी कार्यक्रमतर्फ ४० लाख, ल्याण्डफिल्ड साईट निर्माण्का लागि ५० लाख, विपद व्यवस्थापनतर्फ २५ लाख, महिला स्वयमसेवक प्रोत्साहनतर्फ १५ लाख, शैक्षिक तथा पूर्वाधार सुधार कार्यक्रमतर्फ १ करोड ५० लाख, नगर कृषि प्रवद्र्धनका लागि ३५ लाख रुपैया विनियोजन गरिएको छ ।
यस्तै, डकर्मी, सिकर्मी तालिमलगायतका क्षमता विकास कार्यक्रमका लागि १० लाख, ४८ अध्ययन अवलोकन भ्रमणका लागि ५ लाख, लागुऔषध नियन्त्रण तथा सडक बलिवालिका व्यवस्थापनका लागि १० लाख, बजार व्यवस्थापन तथा नियमनका लागि ५ लाख रुपैया विनियोजन गरिएको छ ।
लेकवेशीको ४८ करोड, प्राथमिकतामा शिक्षा
लेकवेशी नगरपालिकाले आर्थिक बर्ष ०७६÷७७ का लागि कुल बजेट ४८ करोड ४८ लाख ८० हजार रुपैया ल्याएको छ । जसमा चालुतर्फ २३ करोड ७१ लाख २२ हजार रुपैया रहेको छ भने पुँजीगततर्फ १८ करोड ३३ लाख ६६ हजार रुपैया रहेको छ ।
नगरपालिकाले पहिलो प्राथमिकतामा शिक्षा राखेको छ । जसमा शैक्षिक सुधारका लागि २ करोड रुपैया विनियोजन गरेको छ । नगरपालिकाभित्र रहेका माध्यमिक, निम्न माध्यमिक, प्राथमिक विद्यालयहरुमा दरबन्दी र विषयगत शिक्षकहरु तालिम, सेवासुविधा र शैक्षिक भवनहरु निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।
यस्तै, बालविकास सहयोगी कार्यकर्तालाई पोशाक, प्रोत्साहन, शिक्षकहरुलाई विषयगत तालिम दिनेगरी बजेटको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख गगनसिंह सुनारले जानकारी दिए ।
सिम्ताको बजेट ५९ करोड, प्राथमिकतामा पुरानै कार्यक्रम
सिम्ता गाउँपालिकाले ५९ करोड ५२ लाख ४८ हजार रुपैया बजेट ल्याएको छ । जसमा संघीय सरकारबाट १८ करोड ३४ लाख रुपैया सशर्त अनुदान रहेको छ भने वित्तीय समानीकरण १० करोड १३ लाख रुपैया रहेको छ । यस्तै, राजस्व बाँडफाँडतर्फ ८ करोड ८७ लाख रुपैया रहेको छ ।
प्रदेश सरकारका तर्फबाट समानीकरण अनुदान १ करोड २ लाख ५१ हजार, राजस्व बाँडफाँडतर्फ १० लाख ९७ हजार, गत आर्थिक बर्षको मौज्दात अनुमानि ५५ लाख रुपैया रहेको गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिए ।
उनका अनुसार कुल बजेटमध्ये पूर्वाधार विकासका लागि ९ करोड ९१ लाख १२ हजार, विपद् व्यवस्थापनका लागि ३० लाख, संस्थागत विकासका लागि ५१ लाख ५० हजार रुपैया विनियोजन गरिएको छ ।
गाउँपालिकाले उर्जा, सडक र शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । जसमा सिम्ता उज्यालो कार्यक्रम, वडा कार्यालयसम्मका पहुँच मार्ग (सडक) निर्माण, सहिन ऋषि स्मृति चक्रपथ, सहिद ईन्द्र विसी दु्रतमार्ग (सिम्ताबाट कर्णालीको राजधानी जोड्ने सडक) लगायतलाई प्राथमिकता दिएको छ । क्षेत्रगत रुपमा शिक्षा, पूर्वाधार, आर्थिक, सामाजिक कार्यक्रमलाई प्राथमिकता दिइएको अध्यक्ष केसीले बताए ।
चिंगाड गाउँपालिकाको झण्डै २८ करोड
चिङ्गाड गाउँपालिकाले २७ करोड ७३ लाख ३९ हजार रुपैया बजेट ल्याएको छ । जसमध्ये चालु तर्फ १८ करोड ७७ लाख ५४ हजार रहेको छ भने पुँजीगततर्फ ८ करोड ९५ लाख ८५ हजार रुपैया रहेको छ ।
गाउँपालिकाले ‘चिङ्गाड अध्यक्ष रोजगार’ कार्यक्रम, चिंगाड गाउँपालिका महिलासँग उपाध्यक्ष कार्यक्रम, चिंगाड अध्यक्षकप खेलकुद कार्यक्रम, अध्यक्ष जेहेन्दार छात्रवृत्ति कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।
यस्तै गाउँपालिकाले एक टोल, एक स्टेचर कार्यक्रम, एक घर, एक मिटरसहितको धारा, चिङ्गाड बहुमुखी क्याम्पस स्थापना, बहुप्राविधिक शिक्षालय स्थापना, गाउँपालिकासँग बालबालिका, न्योनो कपडा वितरण कार्यक्रम, युवा लक्षित लोकसेवा तयारी कक्षा सञ्चालन, उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, शिक्षिका सम्मान कार्यक्रमतर्फ ०७६÷७७ को बजेट विनियोजन गरेको छ ।
यसैगरी महिला स्वास्थ्य स्वयमसेविकालाई पोषाक भत्ता, आमा घर व्यवस्थापन कार्यक्रम, पाठेघर खसेका महिलाको उपचार सहयोग, गर्भवती महिलाको चेक जाँचमा सहयोग, वडा कार्यालयलाई गाउँपालिका केन्द्रसम्म जोड्ने सडक निर्माण, बालबालिका सिकाई उपलप्धी बढाउन गाउँपालिका सबै विद्यालय छात्रामय बनाउने, व्यापसायिक कृषि र पशपालन कार्यक्रमलगायत कार्यक्रममा बजेटमार्फत जोड दिइएको छ ।
भेरीगंगाको ५७ करोड, नागरिकताको सिफारिस निःशुल्क
भेरीगंगा नगरपालिकाले ०७६÷७७ का लागि ५८ करोड २० लाख ८५ हजार रुपैया बजेट ल्याएको छ ।
नगरपालिकाले ल्याएको बजेटमा नागरिकताको सिफारिस निःशुल्क दिनेगरी व्यवस्था गरिएको छ । नागरिकलाई नागरिकता प्राप्त गर्नका लागि सहज होस भन्ने हेतुले यस्तो व्यवस्था गरिएको नगरपालिकाको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
नगरपालिकामा रहेका माध्यामिक तहमा निःशुल्क सेनेटरी प्याड, स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अघि बढाउन माध्यमिक तहहरुमा नर्सिङ्ग कर्मचारीको व्यवस्था, छिन्चुमा प्राथमिक आँखा उपचार केन्द्र संचालन, छोरी लक्ष्मी बचत कार्यक्रम, अनुदानमा उत्पादनमुलक सामाग्री वितरणलगायतका कार्यक्रम सञ्चालनको लागि बजेटमा व्यवस्था गरिएको छ ।
चौकुने गाउँपालिकाको ३४ करोड
चौकुने गाउँपालिकाले आर्थिक बर्ष ०७६÷७७ का लागि ३४ करोड ४० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमा चालु खर्चतर्फ ५ करोड रुपैया रहेको छ भने पुँजीगततर्फ १५ करोड ६५ लाख रुपैया रहेको छ ।
चौकुने गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधारलगायतलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याएको उपाध्यक्ष निर्मला रानाले जानकारी दिइन् ।
बराहतालको ४० करोड
बराहताल गाउँपालिकाले ४० करोड १५ लाख ८२ हजार रुपैया बराबरको आगामी आर्थिक बर्षको लागि बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ ९ करोड २० लाख रुपैया रहेको छ भने पुँजीगततर्फ १४ करोड २६ लाख ८२ हजार रुपैया रहेको छ ।
आर्थिक बर्ष २०७६÷०७७ का लागि ल्याइएको बजेटमा कृषि, स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर रकमान्तर गरिएको नगर प्रमुख तेजबहादुर बस्नेतले जानकारी दिए ।
पञ्चपुरीमा केवलकार र प्याराग्लाइडिङ, बजेट
सुर्खेतको पञ्चपुरी नगरपालिकाले मंगलबार नीति तथा कार्यक्रम प्रस्तु गरेको छ । नीति तथा कार्यक्रममा पाँचतले गुफा हुँदै पलैँटेसम्म केबलकार सञ्चालन गर्ने उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा पञ्चपुरी नगरपालिका–१ को पाँचतले गुफादेखि वडा नम्वर २ को पलैटेसम्म केबुलकार सञ्चालनमा ल्याइने उल्लेख छ ।
‘केबुलकारको संभाव्यता अध्ययनका लागि आवश्यक बजेटको व्यवस्था गरेका छौं’ मेयर उपेन्द्रबहादुर थापाले भने, ‘धार्मिक एवम् पर्यटकीय क्षेत्र भएकाले यहाँ केवलकारको आवश्यकता महशुस गरेका हौं ।’ पाँचतले गुफा पञ्चपुरीको सबैभन्दा अग्लो ठाउँ हो ।
यस्तै पाँचतले गुफा नजिकै रहेको सालेकोटडाँडाबाट पलैंतेसम्म प्याराग्लाइडिङ सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटकीय तथा धार्मिक क्षेत्रले नगरपालिका धनी भएपनि आवश्यक भौतिक पूर्वाधार, सडक पहुँच र प्रचार–प्रसारको अभावले यि क्षेत्र ओझेलमा पर्दै गएका छन् । नगरपालिकाले आफैले आगामी आर्थिक वर्षदेखि भेरी र कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालनमा ल्याउने जनाएको छ ।