वीरेन्द्रनगर नगरपालिकाले अटो व्यवसायमा लगाइएको दोहोरो कर हटाएको छ।
दोहोरो कर हटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका अटो व्यवसायी र नगरपालिकाबीच शुक्रबार भएको छलफलपछि कर हटाउने निर्णय गरिएको हो। दुवै पक्षबीचको सहमतिअनुसार यस वर्ष अटोव्यवसायीले अटो तथा ई–रिक्साको सुरूकै दर्ता नियमानुसारको शुल्क लिने निर्णय भएको छ।
नगरपालिकाको दर्ता प्रक्रियाभन्दा अगाडि यातायात व्यवस्था कार्यालयमा सवारी साधन कर तिरेका अटोहरूको हकमा नगरपालिकाको कार्यविधि अनुसार तोकिएको सवारी करको बाँकी शुल्क मात्र लिई नगरपालिकामा दर्ता गर्नुपर्ने निर्णय पनि छलफलपछि गरिएको छ। कार्यविधिअनुसार दर्ता शुल्क पाँच हजार तोकिएको छ।
नगरपालिकाको अटो तथा ई–रिक्सा व्यवस्थापन कार्यविधि–२०७५ बमोजिम स्थानीय तहले लिन मिल्ने करबाहेकका अन्य कर प्रदेश तथा संघीय सरकारले लिने निर्णय भएको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए।
उनका अनुसार सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपिका सम्बन्धमा नगरपालिकाको सिफारिस अनुसार यातायात व्यवस्था कार्यालयले नियमानुसार प्रतिलिपि जारी गर्ने छ। दुवै पक्षबीच यस्तो सहमति भएपछि अटो व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन्।