यातायात व्यवस्था कार्यालय सुर्खेतबाट सवारी चालक अनुमति पत्रको नविकरण सेवा सुरू भएको छ।
बिहिबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. डम्मर खड्काको अनुमति पत्र नविकरण गरेर सेवा उद्घाटन गरेका हुन्।
हालसम्म राजस्व संकलनको मात्र काम गर्दै आएको यातायात कार्यालयले अबदेखि सवारी साधन दर्ता, चालक अनुमति पत्र वितरण, नविकरण, परीक्षा सञ्चालन समेत गर्नेछ।
नविकरण सेवा सुरू भए पनि अन्य कामका लागि भने केही समय लाग्ने कार्यालयका निमित्त प्रमुख घनश्याम बोगटीले जानकारी दिए।
उनका अनुसार कार्यालयमा जनशक्ति पूर्ति, विद्युतीय तथा सञ्चार प्रणालीको आवश्यक व्यवस्थापनपछि कार्यालयबाट सबै सेवा प्रदान गरिने छ। कार्यालयमा २९ जना कर्मचारीको दरबन्दी भए पनि पूरा जनशक्ति नभएको उनले जानकारी दिए ।
नविकरण सेवा उद्घाटनपछि बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सबै सेवा दिनका लागि व्यवस्थापन गर्न प्रदेश सरकार लागेको बताए। उनले सेवालाई निरन्तर र जनमुखी बनाउने प्रतिवद्धता समेत जनाएका छन् ।