नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिलान्यास भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले शुक्रबार देवीघाट जलविद्युत केन्द्र परिसरमा स्थापना हुन लागेको नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास गरेका हुन्।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण हुने प्लान्टको काम एक वर्षभित्रमा सकेर विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको बताइएको छ। प्राधिकरणका अनुसार सोलार प्यालन राखी त्यसबाट दिउँसो उत्पादन भएको विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।
प्लान्ट सञ्चालनमा आएपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग पुग्ने उपेक्षा लिइएको प्राधिकरणले जनाएको छ।
प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङदी, मस्र्याङदी, चिलिमे जस्ता अर्ध–जलाशययुक्तको जलाशयमा दिउसो पानी सञ्चित गरी ती विद्युत केन्द्र विद्युतको माग बढी हुने बेलुका र बिहान (पिक समय) सञ्चालन गर्न मद्दत पुग्ने प्राधिकरणले बताएको छ। जसले पिक समयको विद्युत माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणको छ।
विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो। प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीस“ग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको छ। जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरिरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको स्वामित्वमा रहेका त्रिसुली र देवीघाट विद्युत केन्द्रको नाममा रहेको खाली जग्गामा राखिने सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मत सम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्ने छ। कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ।
कम्पनीले प्लान्टबाट वार्षिक रुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नु पर्ने हुन्छ।