सरकारले आगामी आर्थिक वर्षको बजेट व्यवसायीहरूको समस्यालाई सम्बोधन हुने गरी ल्याउने प्रतिबद्धता जनाएको छ।
राजस्व सचिव शिशिरकुमार ढुंगानाले व्यवसायीहरूसँगको सहकार्यमा कार्यान्वयन हुने गरी नयाँ बजेट आएको प्रष्टयाएका हुन्। उनले राजस्व संकलन गर्ने सरकारको लक्ष्य हासिल गर्न पनि व्यवसायीहरूसँग मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।
आगामी आर्थिक वर्षको बजेटबारे छलफल गर्न सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राजस्व सचिव ढुंगानाले सरकारले चालू आर्थिक वर्षमा ७ सय ३० अर्ब राजस्व उठाउने लक्ष्य लिएको पनि स्मरण गराए।
उनले निजी क्षेत्रको सहकार्यमा मात्रै सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सक्ने पनि बताए। राजस्व सचिव ढुंगानाले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने नारालाई साकार बनाउन निजी क्षेत्रले ठूलो साथ दिने विश्वास पनि व्यक्त गरे।
सचिव ढुंगानाले सरकारले मुलुकको अर्थतन्त्रको अवस्थाबारे जानकारी दिन स्वेतपत्र ल्याउनु परेको पनि बताए। उनले राजस्व संकलनको काममा लाग्नुपर्ने भएकाले पनि सरकारले सार्वजनिक बिदा कटौती गर्ने निर्णय लिएको पनि उल्लेख गरे।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायीहरूको समस्या समाधान हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए।
सरकारले संवैधानिक व्यवस्था अनुसार आगामी जेठ १५ गते ल्याउने गरी बजेटको तयारीको कामलाई तीव्रता दिएको छ।