तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गतका चार लेनको तीन वटा पुल निर्माण गर्ने जिम्मा लिएको निर्माण कम्पनीले म्याद गुर्जी सक्दापनि दुई वटा पुल निर्माणको काम हालसम्म पनि थालनी गरेको छैन।
कालो खोला र हापुर खोलाको पुल निर्माणको अवधि गुर्जिसकेको छ। ग्वार खोलामा भने गत वर्ष एउटा पिलरको काम सामान्य रूपमा गरे पनि काम त्यतिकै थाँती राखिएको छ।
कालो खोलाको पुल निर्माण गर्नेबारे २०७९ असार २९ गते ठेक्का सम्झौता भएको थियो। सम्झौतामा २०८२ भदौ २८ गते पुल काम सक्ने सर्त थियो। जुन अवधि गुज्रिसकेको छ। कुल ९० मिटर लम्बाइ र साढे २० मिटर चौडाइको यो पुल बनाउन १७ करोड ८२ लाख ७९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
त्यस्तै, हापुर खोलामा चार लेनको १५० मिटर लामो पुल बनाउन जिम्मा पनि शर्मा सगुन जेभीले नै पाएको छ।
२७ करोड ८४ लाख ३१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
यो पुल २०८२ पुस मसान्तमा सक्ने गरी २०७९ असार २९ गते ठेक्का सम्झौता भएको छ। जसको काम पनि अझै सुरू भएको छैन। अब म्याद सकिन डेढ महिना जति मात्रै बाँकी छ।
कालो खोला र हापुर खोलाको बीचमा पर्ने ग्वार खोलामा दुई लेनको पुल थप्ने जिम्मा पनि सोही शर्मा सगुन जेभीले नै लिएको छ।
ग्वार खोलामा पहिल्यै दुई लेनको पुल निर्माण भइसकेको हुँदा त्यसमा फेरि (त्यस्तै आकार प्रकाशरको) समानान्तर २२० मिटर लम्बाइ र ११ मिटर चौडाइको अर्को पुल निर्माण गर्नुपर्ने छ। यो पुल पनि २०८२ भदौ २८ गते सम्पन्न गर्ने गरी २०७९ असार २९ गते सम्झौता भएको छ। २२ करोड पाँच लाख ४७ हजारमा शर्मा सगुन जेभीले नै कामको जिम्मा लिएको छ। जसको निर्माण अवधिको म्याद सकिएको तीन महिना बितिसकेको छ। तर हालसम्म पश्चिमतर्फको एउटा फाउन्डेसनको काम गत असारमै सुरू भए पनि निर्माणको काम त्यत्तिकै थाँती छ।
एउटै सडक खण्डमा तीन पुल निर्माणको काम गर्ने गरी जिम्मा लिएको ‘शर्मा सगुन जेभी’ बुटवलले लिएको तीन वर्ष बितिसक्दा पनि काम भने गरेकै छैन। जबकि निर्माण कम्पनी धेरै आयोजनाहरू तोकिएको समयावधिभन्दा छिटो सम्पन्न गर्ने भनेर चिनिएको संस्था हो। जुन निर्माण कम्पनीको मुख्य व्यक्ति वा प्रमुख हिस्सेदार किर्गिस्तानका अवैतनिक राजदूत रमेश प्रसाद शर्मा हुन्।
हामीले तुलसीपुर–घोराही सडक खण्डका तीन वटा पुल निर्माणमा भइरहेको ढिलाइबारे शर्मालाई सोधेका थियौं। जबाफमा शर्माले ती पुल निर्माण गर्ने जिम्मेवारी आफ्नो नभएको बताए।
‘त्यो पुल निर्माण गर्ने जिम्मेवारी मैले लिएको होइन,’ उनले भने, ‘मैले जिम्मा लिएको काम हालसम्म कहाँ ढिलो गरेको छु र?’
ती तीन वटा पुल निर्माणको जिम्मा अर्का हिस्सेदार सगुन कन्स्ट्रक्सका सहदेव खड्काको रहेको शर्माले बताए।
खड्काको मोबाइलमा भने सम्पर्क हुन सकेन।
हामीले सगुन कन्स्ट्रक्सका प्रोजेक्ट म्यानेजर इन्जिनियर सुमन मिश्रालाई पुल निर्माणमा भइरहेको बिलम्बबारे सोधेका थियौं।
गत वर्ष बजेट अभावका कारण पुल निर्माणको काम सुरू हुन नसकेको उनले दाबी गरे।
सरकारले समयमै रकम उपलब्ध नगराउँदा काम गर्न नसकिएको उनले बताए।
हामीले मिश्रलाई फेरि सोध्यौं– यो काम गर्ने मुख्य समयसम्म काम सुरू भएको छैन? अब यो आर्थिक वर्षको ६/७ महिना मात्र बाँकी छ? कहिले काम सुरू गर्नुहुन्छ? त्यसपछि इन्जिनियर मिश्राले पुल निर्माण क्षेत्रको हाइटेन्सन विद्युत लाइनका कारण पनि ढिला हुन पुगेको बताए।
‘हामीले हिजो मात्रै तुलसीपुर र घोराहीका विद्युत कार्यालयका साथै नेपाल टेलिकमको कार्यालयमा पनि विद्युत पोल स्थान्तरणका लागि निवेदन दिएका छौं,’ उनले भने, ‘अब तत्काल डाइभर्सन निर्माण काम सुरू गर्दैछौं र दुई तीन दिनभित्रै हापुर खोलाको पुल निर्माणको काम धमाधम अगाडि बढ्छ।’

हापुर खोलाको पुलको काम सुरू गर्ने गरी मेसिन आउँदै गरेको उनले बताए।
तर, कालो खोलामा हाइटेन्सन लाइनको थप समस्या रहेको हुँदा त्यो नर्सादासम्म त्यो पुल निर्माणको काम भने अझै १५ – २० दिन पछाडिबाट सुरू हुन सक्ने उनले बताए।
फेरि हामीले इन्जिनियर मिश्रालाई सोध्यौं– तुलसीपुर – घोराही चार लेनमा विस्तार गर्ने काम पछिल्लो समय धमाधम सुरू भएको छ भने अर्कोतर्फ तपाईंहरूले यही पाराले काम गर्ने हो भने त सडक विस्तारको काममा पनि बाधा पुग्ने अवस्था आउन सक्छ, हैन र?
प्रोजेक्ट म्यानेजर मिश्राले तुलसीपुर–घोराही सडक विस्तारको काममा आफूहरूका मानिसहरू रहेको हुँदा सँँगसँगै काम सक्न मिलेर काम गर्ने सल्लाह भएको बताए।
डिभिजन सडक कार्यालय दाङका प्रमुख इञ्जिनियर दीपेन्द्रबहादुर विष्ट पनि सडक विस्तारको काम धमाधम अगाडि बढिरहँदा त्यो बीचमा पर्ने चार वटा पुल निर्माणको जिम्मा लिएका कम्पनीहरूले समयमै काम नगर्दा समस्या उत्पन्न हुन सक्ने सम्भावना औंल्याए।
‘अब पुल निर्माणको जिम्मा लिएका निर्माण कम्पनीहरूले पहिले जस्तै यो वा त्यो बहानामा काम नगर्ने भन्ने सुविधा पाउनु हुने छैन,’ विष्टले भने, ‘हामीले पनि उहाँहरूलाई त्यो कुरा सम्झाउँदै आएका छौं हैन भने जन आक्रोश दबाव थेग्न उहाँहरूलाई सजिलो हुने छैन।’
तुलसीपुर–घोराही सडकखण्डमा पुल निर्माणको काम हेर्ने निकाय ‘पुल सेक्टर कार्यालय, नेपालगञ्ज’ हो।
सेक्टर कार्यालयका इन्जिनियर रामकिसुन थारूले निर्माणको जिम्मा लिएका कम्पनीले समयमा काम नगर्दा जन आक्रोस बढेको र गाली आफूहरूले खेप्नुपरेको बताए।
तुलसीपुर–घोराही सडकखण्ड अन्तरगत कालोखोला, ग्वारखोला र हापुर खोलामा पुल निर्माण गर्ने जिम्मा तीन वर्ष पहिले नै ‘शर्मा सगुन जेभी’ बुटवलले पाएको भए पनि हालसम्म दुई वटा पुलको काम सुरू नै नगरी समय गुज्रिएको उनले बताए।
‘हामीले जति ताकेता गर्दा पनि उहाँहरूले कालो खोला र हापुर खोलाको काम सुरू नै नगरी अवधि गुजारी सक्नु भएको छ,’ इन्जिनियर थारूले भने, ‘काम नै सुरू नगरी म्याद गुर्जी सकेपछि अहिले आएर म्याद थपका लागि निवेदन दिनुभएको छ। सम्झौता रद्द गर्ने के गर्ने भन्नेबारे निर्क्यौल हुन बाँकी छ।’
सम्झौता तोड्दा वा कानुनी प्रक्रियामा जाँदा पनि अदालतको स्टे अर्डरका कारण समस्या हुने गरेको इन्जिनियर थारूले बताए।
अर्कोतर्फ कानुनी प्रक्रियामा जाँदा लामो समय लाग्ने हुँदा विकास निर्माण ठप्प हुन पुग्ने स्थिति आउन सक्ने उनले बताए।
‘हामीले निर्माण व्यवसायीलाई मनाएर वा हात पाउ जोडेर भए पनि छिटो काम गराउन पहल गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘पहुँच र फितलो नीतिका कारण हामीले भनेको सुन्दै नसुन्ने प्रवृत्ति कतिपय निर्माण व्यवसायीमा देखिँदा विकासको गति रोकिन पुगेको साँचो हो।’
एउटै सडक खण्डमा तीन वटा पुल निर्माणको जिम्मा लिएको ‘शर्मा सगुन जेभी’ले ग्वार खोलामा मात्रै गत वर्ष सामान्य काम सुरू गरेको हुँदा म्याद थपे पनि समयमै काम हुन्छ भन्नेमा आशंका पैदा भएको उनले बताए।
‘यतिखेर तुलसीपुर–घोराही सडकखण्ड चार लेनमा विस्तार गर्ने काम धमाधम भइरहेको छ, जो खुसीको कुरा हो,’ इन्जिनियर थारूले भने, ‘हामीले पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीलाई भनेका छौं कि, तपाईंहरूका कारण चार लेन सडक विस्तारको काम शिकार बन्न हुन्न। त्यसो भए जनआक्रोश चुलिन सक्छ र तपाईंले परिणाम भोग्नुपर्ने हुन सक्छ।’
तुलसीपुर–घोराही २४ किलोमिटर सडकखण्ड अन्तर्गत चार वटा खोलामा पुल बनाउन एकसाथ ठेक्का लागेको थियो।
तीमध्ये घोराहीको सेवार खोलामा मात्र चार लेन पुल निर्माणको काम अघि बढेको छ। सेवार खोलाको चार लेन पुल निर्माणको ठेक्का भने ‘एमएस रायमाझी कन्स्ट्रक्सन जेभी’ ले पाएको छ।
सेवार खोलामा ७० मिटर लम्बाइ र साढे २० मिटर चौडाइको पुल निर्माण गर्न २३ करोड २२ लाख ४३ हजार रुपैयाँमा सम्झौता भएको थियो। २०८० जेठ ३० गते भएको सम्झौता अनुसार निर्माणको काम २०८३ जेठ २८ गतेसम्म सक्ने सर्त छ। तर, हालसम्म यो पुल निर्माणको काम पनि आधा जति मात्रै भएको छ। इन्जिनियर थारूले सेवार खोलामा पुल निर्मार्णको भौतिक प्रगति ५० प्रतिशत पुगेको बताए।
तुलसीपुर–घोराही सडकखण्डमा सेवार खोला, गुर्जे खोला, हापुर खोला, पत्रे खोला, सक्राम खोला, ग्वार खोला र काला खोलाहरू पर्छन्।
यीमध्ये गुर्जे खोला, पत्रे खोला, सक्राम खोला र ग्वार खोलामा पहिलै पुल निर्माण भइसकेको छ। ग्वार खोलामा टु लेनको मात्रै पुल रहेको हुँदा फेरि अर्को त्यस्तै समानान्तर पुल निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको छ।
तुलसीपुर– घोराही चार लेन सडक विस्तारको काम भौतिक रूपमै मंसिर १ गतेदेखि सुरू भइसकेको छ। पछिल्लो समय १३ वटा साधन सडक निर्माणमा प्रयोग गरिएका छन्।
घोराही उपमहानगरपालिका – १० मा ग्राभेल हाल्ने काम सुरू भइसकेको डिभिजन सडक कार्यालय दाङका प्रमुख इन्जिनियर दीपेन्द्रबहादुर बिष्टले बताए।
‘पछिल्लो समय चार लेन विस्तारको काम धमाधम भइरहेको छ,’ उनले भने, ‘तर, यही सडक खण्डमा तीन वर्ष पहिले ठेक्का सम्झौता भएका र अहिले बनिसक्नुपर्ने पुल निर्माणको काम अझै सुरू नहुँदा समस्या भइरहेको छ।’
प्रमुख बिष्टका अनुसार सडकखण्डमा पर्ने पुलहरूको पहुँच सडकको कार्य पुल निर्माण कम्पनीबाटै हुने भएकाले चार लेन सडक स्तरोन्नति कार्य गर्दा पहुँच सडकको स्तरोन्नति गरिने छैन। जसले गर्दा चार लेन सडक विस्तार भए पनि पुन: समयमै निर्माण नहुने हो भने सर्वसाधारणको यात्रा सहज हुने छैन।
यो खण्डमा पर्ने सेवार खोला पुल, हापुर खोला पुल, ग्वार खोलामा अर्कJ थप गर्ने पुल र काला (रानीघाट) खोला पुल चार लेनको निर्माण गर्न सडक विभाग, पुल महाशाखाबाट विगतमै सम्झौता भइसकेको थियो। ती पुल निर्माणको काम म्याद सकिँदासम्म अधिकांशमा सुरू नै नहुनुलाई बिडम्बना मान्नु पर्ने इन्जिनिर बिष्टले बताए।
तुलसीपुर–घोराही सडक चार लेनमा विकास गर्न लागत अनुमान भ्याट बाहेक २ अर्ब ८८ करोड ८२ लाख ३९ हजार ७८० रूपैयाँको टेन्डर आह्वान भएको थियो। निर्माण कम्पनी ‘दिवारवन्दन भगवती जेभी’ ले सम्झौतापछि भ्याट बाहेक २ अर्ब २४ करोड ५६ लाख १७ हजार १३४ रूपैयाँमा काम सकारेको थियो।
त्यो रकमले तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोल पम्पसम्म २१.५८ किलोमिटर सडक चार लेनमा विकास गरिने छ। ठेक्का सम्झौता अवधि ३६ महिनाको छ। डिभिजन सडक कार्यालय दाङका प्रमुख विष्टका अनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट बजेट व्यवस्थापन भए पनि सडक निर्माणको काम हेर्ने सम्पूर्ण जिम्मा सडक डिभिजन दाङबाट भइरहेको छ।
सडकले ओगट्ने ३० मिटर र कालोपत्रेको चौडाइ चार लेनको बीचमा मिडियन र दुवैतर्फ २/२ लेनको सडक हुनेछ। यसअघि सडक सुधार आयोजना अन्तर्गत लमही–घोराही हुँदै तुलसीपुरसम्म सडक स्तरोन्नतिका लागि ठेक्कापट्टा व्यवस्थापन भइसकेको थियो। तत्कालीन निर्माण व्यवसायीले निर्माण कार्यमा ढिलाइ गरेको र सम्झौताका सर्तहरू उल्लंघन गरेकाले नेपाल सरकारले आयोजनासँग ठेक्का सम्झौता तोडिएको थियो।
भारतको एक्जिम बैंकको सहयोगमा सञ्चालित सडक स्तरोन्नतिको कार्य गर्ने कार्यको प्रतीक्षामा करिब चार वर्ष अनिर्णित बस्नु परेको थियो। अधुरो निर्माण कार्यका कारण सवारी दुर्घटना बढेका थिए।
त्यसैले पछिल्लो समय नेपाल सरकारको स्रोतबाटै स्तरोन्नति गर्न २०८१ साउनदेखि प्रक्रिया सुरू भएको हो।
२०८१ मंसिर ११ गते अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको २०८१ मंसिर १६ गतेको निर्णयअनुसार ३ करोड ९९ लाख ४९ हजार रूपैयाँको बहुवर्षीय ठेक्का गर्ने सहमति प्राप्त भएको थियो। त्यसपछि मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका सम्पूर्ण कार्यहरू गरी २०८१ फागुन १ मा बोलपत्र आह्वानको सूचना प्रकाशन भएको थियो।
२०८१ चैत १० मा बोलपत्रहरूको प्राविधिक प्रस्ताव खोलिएकोमा प्रस्तावहरूको मूल्यांकन गरी २०८२ असार २ मा बोलपत्रको आर्थिक प्रस्ताव खोलिएको थियो। बोलपत्रहरूको मूल्यांकन सम्पन्न गरी २०८२ असार २४ मा सडक विभाग, मदन भण्डारी राजमार्ग निर्देशनालय र निर्माण व्यवसायी दिवारवन्दन भगवति जेभी बीच खरिद सम्झौता भएको थियो।
हाल सडक निर्माणको काम धमाधम भइ रहेको भएपनि दाङका डिभिजन प्रमुख विष्टका अनुसार अब सडक खण्डमा पर्ने बिजुलीका खम्बाहरू सार्न र केही काट्न बाँकी रूखहरू काट्नका लागि स्वीकृति लिनेछ ।
सडक निर्माण कम्पनीका म्यानेजर इन्जिनियर सुनिल ढुंगानाले तोकिएको अवधि भन्दा पहिले नै सडक विस्तारको काम पूरा गर्ने गरी हौसलाका साथ धमाधम काम सुरू गरिएको बताए।