ललितपुर महानगरपालिकाले चक्रपथस्थित धोबीघाटमा साइकलमैत्री आकाशे पुल बनाउने भएको छ।
आइतबार मेयर चिरिबाबु महर्जनले एक कार्यक्रममाझ पुलको शिलान्यास पनि गरेका छन्।
यो साइकलमैत्री पुल कस्तो हुन्छ त?
यसबारे हामीले मेयर महर्जनलाई सोधेका छौं।
उनका अनुसार यो आकाशे पुलमा साइकल र मानिसहरूलाई मात्र प्रवेश दिइनेछ।
'हामीले यहाँ मोटरसाइकल प्रवेश गर्न दिँदैनौं। त्यो भनेपछि अन्य सवारीसाधन छिर्ने कुरै भएन। पैदलयात्री र साइकललाई मात्र त्यहाँबाट जाने स्वीकृति हुनेछ,' उनले भने।
साइकल चलाउन उपयुक्त हुने गरी महानगरले पुलमा 'र्याम्प' बनाउने तयारी गरेको छ। र्याम्प भनेको बिस्तारै साइकल चढाउन मिल्ने उकालो बनाउनु हो। यो पुल ह्विलचेयर र अपांगमैत्री समेत हुने मेयर महर्जनले बताए।
'चक्रपथको धोबीघाट पैदलयात्रीका लागि निकै जोखिमपूर्ण भएकाले हामीले यहाँ पुल बनाउन लागेका हौं,' मेयर महर्जनले भने, 'पुल बनिसक्दा एकदमै नौलो खालको हुनेछ।'
महर्जनका अनुसार त्यो ठाउँमा अहिलेसम्म ३२ जना पैदलयात्रुको मृत्यु भइसकेको छ। पुल निर्माणपछि मृत्यु संख्या शून्य हुनेमा उनी आशावादी छन्।
'खासमा हामीले यहाँ ट्राफिक आइल्यान्ड बनाएर मृत्यु संख्या नियन्त्रण गर्ने सोच बनाएका थियौं। त्यो भनेको एक प्रकारले सडक उठाउने वा रङ गरेर बनाइने क्षेत्र हो। सडक विभागबाट त्यसका लागि अनुमति नपाए पनि पुलका लागि अनुमति पाएका हौं,' उनले भने।
पुल निर्माणका लागि पहिल्यैदेखि नै माग राखे पनि स्वीकृति पाउन धेरै समय लागेको उनले बताए। अब चाँडै पुलको काम सुरू गर्ने उनको भनाइ छ।

यो पुल निर्माणका लागि महानगरले पाँच करोड ४ लाख ४८ हजार रूपैयाँ छुट्ट्याएको छ। एक वर्षमा पुल निर्माण सक्ने योजना छ।
महानगरले साइकल लेन सम्बन्धी यसरी काम गरेको यो पहिलो पटक भने होइन। २०७६ सालबाटै साइकलका लागि लेन बनाउने, रंगरोगन गरेर बाटो छुट्ट्याउनेदेखि साइकल स्ट्यान्ड बनाउनेसम्मको काम गर्दै आएको हो।
यो वर्ष पनि महानगरले बुंगमती, खोकना लगायत ठाउँमा साइकल लेनका लागि ४० लाख रूपैयाँ बजेट छुट्ट्याएको छ।
महानगरको साइकल लेनको अवधारणा भने त्यति प्रभावकारी भएको देखिएको छैन।
यस विषयमा हामीले मेयर महर्जनलाई सोध्यौं।
उनले भने, 'साइकल लेन सम्बन्धी नेपालमा कानुन नै छैन। कानुन नभएकाले यस्तो समस्या भएको हो। कानुन नभएपछि हामीले गर्नुपर्ने कारबाही पनि गर्न सकेका छैनौं। सरकारले अझै पनि साइकललाई यातायातको माध्यम भनेर स्वीकार गरेको छैन। यसले गर्दा पनि कानुन र नीतिनियम बनाउन गाह्रो भएको हो।'
ललितपुर महानगरले आफै पनि साइकल सम्बन्धी कानुन बनाएको छ। तर सरकारबाट कानुन नबनाइन्जेल त्यसलाई कार्यान्वयन गर्न नसकिने उनले बताए।
उनका अनुसार हाल ललितपुरले चक्रपथस्थित धोबीघाटमा मात्र साइकलमैत्री आकाशे पुल बनाइने छ। अन्य ठाउँमा बनाउने योजना तत्काल छैन।
'यो पुल बन्यो भने कीर्तिपुर जाने मानिसहरुलाई पनि सजिलो हुनेछ। चोभारस्थित आदिनाथ मन्दिरमा मेला लाग्दा भिड लागिरहेको हुन्छ। पुल बनेपछि विभिन्न ठाउँ जाने मानिसलाई सजिलो हुनेछ,' मेयर महर्जनले भने।
महानगरले नख्खुमा टिपरजस्ता हेभी गाडी आवतजावत गर्न मिल्ने तीन वटा सामान्य पुल पनि बनाइसकेको छ। त्यस्तै नख्खुकै वडा नम्बर १४ मा दुइटा पुल बनिरहेका छन्। कर्मनाशा खोला र धापाखेलस्थित महादेव खोलामा पनि पुल बन्दैछन्।
त्यस्तै महानगरले कुसुन्तीमा लिफ्ट र शौचालयसहितको अपांगमैत्री पुल बनाइरहेको छ। यसको काम अन्तिम चरणमा पुगेको मेयर महर्जनले बताए।
'अहिले पुलको स्टिल खिया नलागोस् भनेर रसायन सम्बन्धी काम भइरहेको छ। त्यसको काम हेटौंडा र भरतपुरमा भइरहेको छ। अब काठमाडौंमा ल्याएपछि पुल तयार हुनेछ,' उनले भने।
यो पुलको वरपर 'टफन ग्लास' राख्ने पनि महानगरको योजना छ। टफन ग्लास भनेको बाक्लो खालको सिसा हो जसबाट पुलको संरचना बाहिरबाट पनि देख्न सकिन्छ।