मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने गरी २०७७ सालमा शिलान्यास गरी निर्माण अगाडि बढाइएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको छ।
हाल नेपाल सरकारले विपदग्रस्त क्षेत्र र प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेस प्रदेशमा सिँचाइ सुविधा पुर्याउन सो आयोजनाको महत्वपूर्ण भूमिका रहन्छ। तर एक वर्षअघि नै सो आयोजनाको सुरुङ ब्रेक थ्रु गरिए पनि बाँध निर्माणको काम प्रभावकारी रूपमा अगाडि बढेको छैन।
बाँध निर्माणको का पटेल–रमण (संयुक्त) निर्माण कम्पनीले गरिरहेको छ।
१४ अर्ब सात करोड ५९ लाख रूपैयाँ लागतमा यो बाँध निर्माणको ठेक्का लिएको सो निर्माण कम्पनीले बाँध निर्माण सुरु भएको ३० महिनामा ७ प्रतिशत मात्र काम भएको छ।
सो आयोजनाले सुनकोशी नदीको पानीलाई सुरुङमार्फत कमलामाइ नगरपालिकाको कुसुमटारस्थित मरिण खोलामा खसालिने छ भने त्यहाँबाट मरिण नदी हुँदै बागमती ब्यारेकबाट तराई मधेसका खेतहरुमा सिँचाइ गर्छ।
हालसम्म सो आयोजनाको समग्र भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ।
२०८४ असोज सम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न लक्ष्य रहेको आयोजनाले जानकारी दिएको छ।
तस्बिरहरूः










तस्बिरहरु: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी