सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ मा एक दर्जनब बढी जलविद्युत आयोजना निर्माण सुरू गर्ने घोषणा गरेको छ।
अपर अरूण, किमाथांका अरूण, नलगाड, फुकोट कर्णाली, उत्तरगंगा, तमोर, मुगुकर्णाली, सुनकोशी–३ जलविद्युत आयोजनाको लगानी ढाँचा निर्धारण गरी निर्माण काम सुरू गरिने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरे।
त्यस्तै, आगामी वर्षभित्र २१० मेगावाट क्षमताको चैनपुर सेती, १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको निर्माण सुरू गरिने पनि उनले बताए।
अध्ययन सम्पन्न भएको तल्लो सेती जलविद्युत आयोजना सरकारी लगानीमा निर्माण गरिने उल्लेख छ।
बुढीगण्डकी जलविद्युत आयोजना सार्वजनिक–निजी–साझेदारीमा निर्माण गरिने बजेटमा उल्लेख छ। यस आयोजनामा सरकारले गरेको लगानीलाई सेयरमा परिणत गरिनेछ।
दूधकोशी जलविद्युत आयोजना निर्माण समेत सुरू गरिने अर्थमन्त्री पौडेलले बताए।
कर्णाली चिसापानीको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न गरी लगानी ढाँचा यकिन गरिने उल्लेख गरे।