बीस वर्षपछि फेरि कृष्णभिरको पहिरो बल्झने जोखिम बढेको छ।
गत असोज १० देखि १३ गतेसम्मको वर्षापछि आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ मा पर्ने कृष्णभिरको तल्लो भाग कटान गरेको थियो। त्रिशूली नदीले निरन्तर कटान गरेकाले सडकको तलको भाग भास्सिएको थियो।
‘गत असोजको वर्षापछि त्रिशूली नदीमा आएको बाढीले कटान गरेका कारण सडकभन्दा मुनिको संरचनामा क्षति पुगेको छ। सडकको तलको भाग भास्सिएर बाटो एकतर्फी बनेको छ। सडकको माथिल्लो भागमा पनि साना–ठूला पहिरा गएका छन्। आउँदो बर्खामा समस्या निम्त्याउन सक्ने ठानेका छौं,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले भने।
बर्खाअघि नै पहिरो रोकथाम गर्न नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) लाई निर्देशन दिइसकिएको उनको भनाइ छ।
अहिले धमाधम पृथ्वी राजमार्ग विस्तारको काम भइरहेको छ। नागढुंगा–नौबिसे १२.२६, दोस्रो ४३.५४ र तेस्रो ३८.८६ किलोमिटर छुट्टयाएर विस्तारको काम भइरहेको छ।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) ले पनि बर्खाअगावै कृष्णभिरको पहिरो रोकथामको काम सक्ने जानकारी दिएको छ।
तर पहिरो रोकथामका लागि भर्खरै मात्र डिजाइन तयार भएर आएकाले तदनुरूप काम हुनेमा विज्ञहरूले नै शंका व्यक्त गरेका छन्।
२०५५ देखि २०६१ सालसम्म कृष्णभिरले खुबै दुःख दिएको थियो।
त्यतिबेला मनसुन सुरू हुनेबित्तिकै कृष्णभिरमा पहिरो खसिहाल्ने समस्याका कारण मुग्लिन–नागढुंगाको यात्रा कष्टकर मात्र नभई जोखिमपूर्ण नै थियो। त्यतिबेला वैकल्पिक बाटाहरू बनिसकेका थिएनन्। त्यसैले हप्तौंसम्म यात्रुहरू बाटामै थुनिनुपर्थ्यो।
२०५७ साल साउन २७ गते कृष्णभिरमा विशाल पहिरो खस्यो। कृष्णभिरको आठ सय मिटर जति जमिनको भागमा विचलन देखिएको थियो।
२३० मिटर उचाइ र २०० मिटर चौडाइको त पहिरो नै खस्यो। पृथ्वी राजमार्गको आवागमन झन्डै ११ दिन अवरूद्ध बनेको थियो।
पहिरोका कारण सकडमा २२ मिटरजति लेदो थुप्रिएको थियो। त्यो पन्छाउनेबित्तिकै पुनः पहिरो बग्न सुरू हुने समस्याका कारण बर्खाभरि यातायात सञ्चालन कठिनाइपूर्ण बन्यो।
त्यसपछि चार वर्ष लगाएर र झन्डै पाँच करोड ३४ लाख रुपैयाँ खर्चिएर त्यहाँ 'जियो टेक्निकल र बायो इन्जिनियरिङ' प्रविधिबाट पहिरो रोकथाम गरिएको थियो।
त्यस प्रविधि अन्तर्गत थोरै–थोरै गरेर पहिरो पन्छाउने र पहिरो पन्छाएको ठाउँमा तारजाली लगाउँदै संरचना तयार पारिएको थियो।
त्यतिबेला सडक विभागका जियो टेक्निकल इन्जिनियर नरेश शाक्य सहितको समूह कृष्णभिरको पहिरो रोक्न खटिएको थियो।
पहिरो, पानीलाई प्राकृतिक रूपमै बग्न दिने, स्टेप–स्टेप गरेर पर्खालगायत संरचना तयार पार्ने र पानीको निकास वरपर घाँस लगाउने गरेर त्यहाँको पहिरो रोकथाम गरिएको थियो।
झन्डै चार वर्ष लाग्यो पहिरो रोकथाम गर्न।
-1744538465.gif)
२०६१ मा पहिरो रोकिएपछि त्यहाँ बनाइएका संरचनाको रेखदेख, मर्मतसम्भार नहुँदा समस्या उत्पन्न भएको त्यतिबेला रोकथाममा खटिएको एक अधिकारीले भने। त्यहीकारण २० वर्षअगाडिको समस्या बल्झन लागेको उनले बताए।
२०७० सालतिरै कृष्णभिरको घाउ बल्झनसक्ने औंल्याइएको थियो। त्यतिबेला नै सडकभन्दा तलको भाग भास्सिन थालेको थियो।
पर्खाल पनि लच्किन थालेको थियो। पानीको निकास टुटेको थियो। त्रिशूली नदीको भँगालो सडक भएको भागतिर सोझिएकाले कटान तीव्र बनाउने खतरा औंल्याइएको थियो।
माथिको भागको अवस्था पनि उस्तै थियो।
स–साना पहिरा चलेका, रूख–बुट्यान लच्किन थालेको र त्यहाँ पनि पानी बग्ने नालाहरू थुनिएकाले निकास जथाभावी बगिरहेकोतर्फ विज्ञहरूले सचेत गराएका थिए।
‘पहिरो रोकिएपछि त्यहाँ बनाइएको संरचनाहरू हेर्ने काम भएन। नाला कस्तो अवस्थामा छन्? पहिरोको अवस्था के छ? त्यसको रेखदेख पनि भएन। संरचना बनाएर मात्रै हुँदैन, त्यसको मर्मतसम्भार पनि हुनुपर्छ,’ ती अधिकारीले भने।
मनसुन सकिने बेला अविरल रूपमा परेको पानीले समस्या निम्त्याएपछि पृथ्वी राजमार्गको कृष्णभीर खण्ड एकतर्फी छ। आउँदो बर्खामा कृष्णभीरको पहिरोले दुई दशकअघिको समस्या निम्त्याउनसक्ने जोखिम सडक विभागकै अधिकारीले औंल्याएका छन्।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का आयोजना प्रमुख केदारप्रसाद नेपालले राजमार्गभन्दा माथिको भागको ड्रइङ डिजाइन भएर आएको बताए।
उनले पनि सडकभन्दा माथिको भागको पहिले बनाएका संरचना बिग्रिएको, त्यहाँ साना–ठूला पहिरा चलेको र पानीको निकास टुटेको बताए। त्यसलाई समाधान गर्ने गरी उपाय पहिल्याइसकेकाले बर्खा अगावै पहिरो रोकथामको काम भइसक्ने दाबी गरे।
उनका अनुसार ‘ड्रिलिङ एङ्करेज’ विधिबाट पहिरो रोकथाम गर्नेबारे छलफल भइरहेको छ। यस्तो विधिअन्तर्गत पहिरो गएको तथा जान सक्ने सम्भावित स्थलहरूमा प्वाल पार्दै पानी निकालिन्छ जसले ठूलो भू–क्षयको जोखिमलाई न्यूनीकरण गर्छ।
यसका अतिरिक्त ‘माइक्रो पाइलिङ’ विधिबाट पहिरो रोकथाम गर्ने छलफल पनि भइरहेको आयोजना प्रमुख नेपालले बताए। यस विधिअन्तर्गत कंक्रिट, काठ अथवा फलामका संरचना सडकको भित्तापट्टि गाडिन्छ। धेरै गहिराइसम्म गाडिने यस्ता संरचनाले पर्खाल लगायतलाई टेकेको काम गर्छन्।
‘कृष्णभीरमा सडकभन्दा माथिको भागमा माइक्रो पाइलिङ गर्ने। नालाहरू बनाउने र बायो इन्जिनिरिङ नै गर्ने तयारी गरेका छौं। बर्खाअगाडि नै यो काम सक्ने गरी प्रक्रिया अगाडि बढाएका छौं। आउँदा बर्खा कृष्णभिरको बाटो सहज बनाउने नै हाम्रो तयारी छ,’ आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रले भने।
सडकभन्दा तलको खण्ड भने ज्युँका त्युँ छ।
माथिको पहिरो समस्यापूर्ण भएकाले त्यसको रोकथाम गर्नेबित्तिकै बर्खामा आवागमन सहज तुल्याउन सकिन्छ भन्ने विज्ञहरूको राय रहेको आयोजना प्रमुख नेपालले बताए।
‘सडकभन्दा मुनिको भाग ड्रइङ, डिजाइन र इस्टिमेट (लागत) निर्धारण गर्न भ्याइएन। माथिको भाग नै समस्याग्रस्त भएकाले त्यसको रोकथाम गर्न सके हुन्छ भन्ने सुझाव आयो, त्यहीअनुसार बर्खाअगाडि नै सक्ने तयारी छ,’ नेपालले भने।
कृष्णभिरमा सडकभन्दा माथिको पहिरो रोकथाम गर्न नै चार करोड रुपैयाँभन्दा माथि खर्च हुने अनुमान गरिएको छ।
माथिको भाग रोकथाम गरे पनि त्रिशूली नदीले कटान तीव्र पार्ने र सडकभन्दा तलको भागमा पहिरो खसेर आवागमन अवरूद्ध हुनेतर्फ अहिले नै विचार पुर्याउनुपर्ने सडक विभागका पूर्व अधिकारीहरू बताउँछन्।
पृथ्वी राजमार्ग अन्तर्गत नै थाक्रे गाउँपालिकाभित्र पर्ने महेश खोलाको चार किलो भन्ने स्थानमा पनि समस्या देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले बताएका छन्।
उनका अनुसार महेश खोला क्षेत्रमा करिब एक सय मिटरजति सडक भासिएको छ।
‘गत असोज १०–१३ गतेसम्मको बाढीले धार्केनजिकै सय मिटर सडक भासिएको थियो। नाला पुरेर सडक दुईतर्फी बनाइएको थियो,’ उनले भने।
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत २६ किलोमा पनि सडक भास्सिएको छ। यो खण्ड पनि गत असोजकै वर्षातले क्षति पुर्याएको हो।
‘२६ किलो खण्डमा त्यतिबेला सडक भासिएको देखिएको थिएन। दुई–तीन महिनापछि क्रमशः भासिन थाल्यो। उक्त खण्ड पनि बर्खा अगावै मर्मत गरिएन भने मनसुन याममा दुःख दिन्छ,’ उनले भने।
त्रिभुवन राजपथअन्तर्गत झ्याप्ले खोलामा यस वर्ष पनि ग्रेग्रानसहितको बाढीको उच्च जोखिम रहेको उनले बताए।
गत असोज १० देखि १३ गतेसम्म निरन्तर परेको पानीले धादिङ धुनिबेसी र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्रमा पर्ने झ्याप्ले खोलामा पहिरो जाँदा तीन वटा सवारी साधन पुरिएका थिए। त्यसमा सवार ३५ जनाको मृत्यु भएको थियो।
नागढुंगा साढे दुई किलोमिटर पर मात्रै त्यत्रो त्रासदी निम्तिँदा सुरक्षाकर्मी पुग्न सकेका थिएनन्। खबर दिँदा पनि पुग्न नसकेको भन्दै सुरक्षाकर्मीको आलोचना भएको थियो।
झ्याप्ले खोलामा दुई दशकअघि; २०५९ साउन ६ गते पनि त्यस्तै पहिरो गएको थियो। त्यतिबेला एकै परिवारका तीनसहित ४ जनाको मृत्यु भएको थियो। पाँच जना बेपत्ता भएका थिए।
आउँदो बर्खामा पनि त्यहाँ पहिरो–गेग्रान बहावको सम्भावना रहेको शर्माले बताए।
गत बर्खायाममा असोज १०–१३ अगाडि पनि झ्याप्ले खोलाको माथिल्लो सडक खण्ड आसपास पहिरो गएको थियो। पहिरो पन्छाउँदा माटो खोल्सामै फालिएकाले गेग्रान बहावको रूप लिएको थियो।
थानकोट–झ्याप्ले खोलाको बाटाको ’राइट अफ वे’ भन्दामाथि अहिले पनि जग्गा खण्डीकरण नरोकिएको शर्माले बताए। त्यहाँको माटो सडकमा आउने अवस्था छँदैछ। प्लटिङसम्म पुग्ने पहुँचमार्ग समेत बनाएकाले त्यसको माटोको व्यवस्थापन पनि यथोचित ढंगले नभएको शर्माले बताए।
त्यसभन्दा पनि ठूलो समस्या चाहिँ त्यस भेगकै पानीको निकास झ्याप्ले खोलाबाट मात्रै हुन्छ। अन्यत्र निकास पठाउने ठाउँ छैन।
‘त्यसले गर्दा खोल्सालाई पानी चाप बढी पर्ने गरेको छ। बाटाको राइट अफ वेभन्दा माथि जग्गा प्लटिङ गर्ने क्रम चलिरहेकाले त्यहाँको माटो खोल्सामा आउने अवस्था छँदै छ। यस कारण झ्याप्ले खोलामा पुनः बाढी–पहिरोको जोखिम देखिएको छ। बर्खा अगाडि नै यस क्षेत्रको समस्या पनि हामी समाधान गर्छौं,’ शर्माले भने।
यो पनि पढ्नुस्:
एकझर पानीले नै बनायो सडक अवरूद्ध र एकतर्फी, आउने बर्खामा के होला?