लुम्बिनी प्रदेश सरकारको मुख्य गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको शिलान्यास भएको छ।
प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा १२ तले अस्पताल भवन निर्माण हुन लागेको हो।
उक्त अस्पताल भवनको शनिबार बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गरेका हुन्।
लुम्बिनी प्रदेश सरकारको लागतमा निर्माण हुने उक्त भवनको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगशनसँग २०८० पुस २६ गते ठेक्का सम्झौता गरेको थियो।
सम्झौताअनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ।
विक्रम सम्वत् १९६७ फागुन १५ गते ६ शैय्याबाट सुरु गरिएको यो अस्पतालको २०१६ सालमा निर्माण गरिएको भवन जिर्ण बनेपछि सोहि भवन भत्काएर अत्याधुनिक सेवासुविधा सहितको भवन निर्माण गर्न लागिएको हो।
प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि चालू आर्थिक वर्षमा एक अर्ब ८० करोड बजेट बिनियोजन गरिसकेको छ।
ठेक्का सम्झौता भइसकेपछि निर्माण कम्पनीले भवन निर्माणका लागि जग खन्न ७० प्रतिशत बढी पाइलिङ (जमिनमा मेसिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न गरिसकेको छ।
कूल ७८५ वटा पाइलिङ गर्नुपर्नेमा ४९० पाइलिङ सम्पन्न भइसकेको साइट इन्जिनीयर रमेश शर्माले जानकारी दिए।
भवन निर्माण परिसरमै अन्य भवनबाट अस्पतालको सेवा संचालन भइरहेकाले वरिपरिका संरचनामा क्षति हुनबाट रोक्नका लागि १३ मिटर गहिरो पाइलिङ गरेर भवनको जग खन्ने काम गरिने उनले बताए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल लामो समयको प्रतीक्षा पछि प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा अस्पतालको नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढेको बताए।
यसअघि संघीय सरकार मातहत रहेको यो अस्पताल लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएको थियो।
प्रदेश सरकार मातहत आएपछि प्रादेशिक अस्पतालको रुपमा स्तर वृद्धि गरि अत्याधुनिक सुविधा सहितको नयाँ भवन निर्माण सुरु भएको उनले बताए।
यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले २०७६ सालमा प्रदेश सरकारको ड्रिम प्रोजेक्टको रुपमा अस्पताल भवन बनाउने प्रक्रिया अगाडि बढाएका थिए।
अस्पतालको नयाँ बन्ने भवनको डीपीआर अनुसार १२ तले अत्याधुनिक भवनमा बहिरङ्ग सेवा, आपतकालीन सेवा, इनडोर सर्भिस कक्ष रहनेछन्। त्यस्तै ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन्। भवनको माथि हेलिप्याड रहनेछ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ।
क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ। १२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ।
एक सय १४ वर्ष पुरानो यो अस्पताल बुटवल उपमहानगरपालिका वडा नं. ९ स्थित बुटवलकै मध्यभाग सिद्धार्थ र महेन्द्र राजमार्गको पश्चिमतर्फ रहेको छ। कुल ६ बिघा १२ कठ्ठा जग्गामा संचालित अस्पतालमा नयाँ भवन निर्माणपछि अत्याधुनिक पूर्वाधारसहितको प्रदेशकै अब्बल अस्पताल बन्ने छ।
पुरानो भवन बुढो र जीर्ण बन्दै जाँदा उच्च भूकम्पीय जोखिममा परेपछि यसअघि पनि संघ र प्रदेश सरकारसँगै अस्पताल विकास समिति आफैंले पनि करोडौं रुपैयाँ लगानी गरी अन्य भवन निर्माण गरिसकेका छन्।
पछिल्लो पाँच वर्ष यता मात्रै संघीय सरकारको लगानीमा दुई पटक गरी ५८ करोडको लागतमा भौतिक संरचना निर्माण गरिएका छन्।
अस्पताल विकास समितिले पनि इमर्जेन्सी, ओपिडी, अन्तरंग सेवा, फार्मेसी, अस्पताल परिसरभित्रको सडक र अस्पताल कम्पाउण्ड वाल निर्माण लगायतमा ३५ करोड बढी लगानी गरेको छ।
तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर ज.ब.रा को पालामा वि.सं. १९६७ फागुन १५ गते ६ शैय्याबाट यो अस्पतालको सेवा सुरु गरिएको थियो। सेनवंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फूलबारीमा दुईजना भारतीय चिकित्सकबाट सेवा सुरु गरिएको यो अस्पताल लुम्बिनी क्षेत्रकै सबभन्दा पुरानो र ठूलो अस्पताल हो।
३१ वर्ष बुटवल फूलबारीबाट सञ्चालन भएको अस्पताललाई १९९८ सालमा हाल रक्तसंचार गृह रहेको स्थानमा सारिएको थियो। हाल रहेको स्थानमा भने २०१६ सालमा भवन निर्माण गरी सारिएको थियो।
फराकिलो स्थानबाट सेवा सुरु गरिएपछि २०२४ सालमा ५० शैय्या र्पुयाएर लुम्बिनी अञ्चल अस्पताल बनाइएको थियो। अञ्चल अस्पताल बनेपछि बिरामीको चाप बढ्दै गयो र २०५० सालमा १ सय शैय्या र्पुयाइयो।
२०७५ साल माघमा लुम्बिनी प्रदेश सरकार मातहत आएपछि लुम्बिनी प्रादेशिक अस्पताल बनेपछि अहिले आइपुग्दा अस्पतालमा ५२० शैय्या पुगेको छ।
दैनिक २ हजारदेखि बाइस सयसम्म बिरामीहरु उपचारका लागि आउने यो अस्पतालमा सामान्य अवस्थामा पनि ८० प्रतिशत बढी शैय्याहरू बिरामीले भरिने गर्छन्।
सरकारी ३ सय र अस्पताल विकास समितिमार्फत् एक सय गरी ४ सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरुको अत्यधिक चापका कारण १२४ बेड थप गरी ५२४ बेडबाट बिरामीहरुलाई सेवा प्रदान भइरहेको छ।
अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालले लुम्बिनी प्रदेशका मात्र नभई अन्य प्रदेशका समेत गरी ४० लाख जनसंख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।
श्रेष्ठका अनुसार अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा ओपिडीमार्फत ३ लाख ४८ हजार ९७१ जना विरामीले सेवा लिएका छन्। त्यस्तै २६ हजार ९०८ विरामीले भर्ना भएर सेवा लिएका छन्।
पछिल्लाा तीनवर्ष यता बर्सेनि ५० हजारको हाराहारीमा ओपिडीमार्फत सेवा लिने बिरामीहरुको संख्या बढिरहेको छ। इमर्जेन्सीमा पनि गत आर्थिक वर्षमा ७२ हजार २४४ जना विरामीले सेवा लिएका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार गतवर्ष १२ हजार ९५ जना महिलाले प्रसूति सेवा लिएका छन्। प्रसूति सेवा दिने पनि यो अस्पताल प्रदेशकै सबैभन्दा ठूलो अस्पताल हो।
गत आर्थिकवर्षमा ७ हजार ५४८ जनाको सामान्य प्रसूति हुँदा ४ हजार ५४७ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको छ।
त्यस्तै ९ हजार ७६५ जना विभिन्न समस्याका बिरामीको शल्यक्रियामार्फत उपचार गरिएको डा. ढकालले जानकारी दिए।
हाल अस्पतालबाट क्याथल्याब सेवासहित मिर्गौलाको डायलाइसिस, प्लाष्टिक सर्जरी, ग्याष्ट्रो मेडिसिन, न्यूरो मेडिसिन, न्यूरो सर्जरी, युरो सर्जरी, इन्टेरेस्कोप, सिएनसियू, पिआइसियु, एनआइसियु, बर्थिङ सेन्टर, नेत्र रोग, हाड जोर्नी तथा नसा रोग, दन्त, नाक, कान घाँटी, आँखा, मनोरोग लगायतका विशिष्टिकृत सेवा संचालन भईरहेको डा. ढकालले जानकारी दिए।
अस्पतालमा १२७ जना चिकित्सक (विशेषज्ञ र मेडिकल अधिकृत), २९४ नर्सिङ कर्मचारी, १५७ पारामेडिक्स कर्मचारी, २८ जना प्रशासनिक कर्मचारी, १८९ जना कार्यालय सहयोगीरसरसफाइकर्मी, २६ जना सुरक्षागार्ड तथा २८ जना अन्य गरी ८५१ जना कार्यरत छन्।
अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भई सेवा संचालन भएपछि बुटवल स्वास्थ्यको हबको रुपमा स्थापित हुन सक्ने अपेक्षा गरिएको छ।