नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने २५ उद्योगको लाइन काटेको छ।
आइतबारसम्म २५ उद्योगको लाइन काटिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए।
यसअघि प्राधिकरणले २८ किस्तामा बक्यौता भुक्तानीका लागि २१ कार्य दिनको समय दिएर कात्तिक १७ गतेभित्र बक्यौता तिर्न सूचना निकालेको थियो। पछि सूचना सच्याएर सूचना निकालेको २१ दिनभित्रै बक्यौता तिर्न भनेको थियो।
यो अवधिमा सम्पर्कमा नआएका र बक्यौता नतिरेका उद्योगको लाइन काटिएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणले गएको मंगलबार ६ ठूला उद्योगको लाइन काटेको थियो। शुक्रबार राति थप १८ र आइतबारसम्म एक गरी कुल २५ वटा उद्योगमा बिजुली काटिएको हो।
प्राधिकरणले मंगलबार बिहानबाट जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको बिजुली काटेको थियो।
त्यस्तै प्राधिकरणले एभेरस्ट पेपर मिल्स, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, एसआर स्टिल लगायत उद्योगको लाइन काटेको हो।
पञ्चकन्या प्लास्टिक, भलबारी स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेस्ट रोलिङको पनि लाइन काटिएको छ। लाइन काटिएका अन्य उद्योगमा घराना फुड्स, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्वार्थ पेट प्लास्ट, बुटवल सिमेन्ट, सोनापुर मिनरलस एन्ड आयल र निगाले सिमेन्ट हुन्।
डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवादमा रहेका केही उद्योगले भने अन्तरिम आदेश पाएकाले नकाटिएको प्राधिकरणले जनाएको छ।
सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्टले यस अघि नै भुक्तानी प्रतिबद्धता जनाएका कारण हाल लाइन नकाटिएको उल्लेख छ। यो बक्यौता विवाद २०७२ माघदेखि २०७५ वैशाखसम्मको हो।
लोडसेडिङको समयमा यी उद्योगहरूले विशेष लाइनमार्फत विद्युत् प्रयोग गरे पनि तोकिएको अतिरिक्त शुल्क भने नबुझाएको प्राधिकरणको आरोप छ।
उद्योगीहरूले भने बक्यौता नरहेको दाबी गर्दै आएका छन्। बक्यौता तिर्नपर्ने भए प्रमाण दिन पनि सरकारलाई आग्रह गर्दै आएका छन्।
बिजुली काटिएपछि हाल कतिपय उद्योगले उत्पादन बन्द भएको बताएका छन्। केही उद्योगीले भने जेनेरेटर लगायत वैकल्पिक माध्यमबाट आंशिक उत्पादन गरिरहेको बताएका छन्।