हावाबाट निकालिएको बिजुलीबाट घरमा बत्ती बाल्दा पाल्पाको मित्यालकी हुमिसरा खाम्चा खुसीले गदगद् थिइन्।
कुरा हो पाँच वर्षअघिको।
नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तार नभएको समयमा मित्यालको अग्लो डाँडामा वायुपंखा जडान गरी बिजुली निकालिएको थियो। हुमिसराले २०७६ सालमा त्यही वायुपंखाको बिजुली बालेकी थिइन्।
भौगोलिक हिसाबले निकै विकट निस्दी गाउँपालिकामा ‘वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र’ र ‘निस्दी गाउँपालिका’ को लगानीसँगै स्थानीयवासीको श्रमदान समेतमा वायु ऊर्जा र सौर्य ऊर्जा जडान गरिएको थियो।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नेपालको एक करोड ८० लाख रुपैयाँ र निस्दी गाउँपालिकाको ४२ लाख १३ हजार रुपैयाँ लागतसँगै स्थानीयवासीले श्रमदान पनि गरेका थिए।
श्रमदानसमेत गरी साढे दुई करोड रुपैयाँको लागतमा वायु र सौर्य गरी २५ किलोवाट विद्युत उत्पादन भएको जनाइएको थियो।
विराटनगरको ‘कृष्ण ग्रील एन्ड इन्जिनियरिङ वर्क्स प्रालि’ ले ठेक्का लिएर दुई वर्षमा बिजुली उत्पादन गरेको थियो। निस्दी गाउँपालिका वडा नम्बर ४ का मित्याल, रुप्सेभन्ज्याङ, मौलाथर र याल्टुङ गाउँका कम्तीमा १५० घर र केही सरकारी कार्यालयहरूमा बत्ती बालिएको थियो।
हाल ती गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ। राष्ट्रिय प्रसारण लाइन पुगेको तीन वर्ष भयो।
वायु ऊर्जा उत्पादन सुरू भएको तीन वर्ष पनि पूरा नहुँदै पंखामा समस्या आएपछि बिजुली उत्पादन बन्द भएको थियो।
निर्माण कम्पनी ‘कृष्ण ग्रील एन्ड इन्जिनियरिङ वर्क्स प्रालि’ ले समयमा मर्मतसम्भार नगरेको र त्यही समय राष्ट्रिय प्रसारण लाइन जोडिएको हुमिसराले बताइन्।
रुप्सेका मानबहादुर चिदीले पनि समयमा मर्मत सम्भार हुन नसकेको बताए।
उनले भने, ‘विद्युत उत्पादन भएको तीन वर्ष नहुँदै पंखा बिग्रियो तर एक वर्ष मर्मत भएन। त्यही बेला विद्युत प्राधिकरणको लाइन जडान भयो।’
राष्ट्रिय प्रसारण लाइन जोडिएपछि पंखा मर्मत भयो। त्यसपछि त्यहाँको बिजुली निस्दी गाउँपालिका कार्यालय, वडा नम्बर ४ को वडा कार्यालय, रुप्से प्रहरी चौकी र केही सामुदायिक विद्यालयमा प्रयोग भएको छ।
गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार गाउँपालिका कार्यालय नजिकै रहेको मित्याल डाँडामा जडान गरिएका दुई वटा वायु पंखा र सोलार प्यानलबाट अहिले पनि २५ किलोवाट विद्युत उत्पादन हुँदैछ।
उनले भने, ‘पहिले वितरण गरिएका कार्यालय र घरहरूमा राष्ट्रिय प्रसारण पुगेको छ। यहाँको (वायु र सौर्य) बिजुली थोरै ठाउँमा प्रयोग भएको छ।’
सामान्य प्राविधिक समस्यामा पनि निर्माण कम्पनीले समयमा मर्मत नगर्दा लागत अनुसार लाभ प्राप्त हुन नसकेको सारुले बताए।
उनले भने, ‘विद्युत उत्पादन सुरू गर्दाको उद्देश्य अनुसार भएन तर प्रयोग भइरहेको छ।’
मित्याल डाँडाको वायु र सौर्य बिजुली एकपटक जडान गरेपछि निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था छ तर कहिलेकाहीँ बिग्रने र तत्कालै मर्मत नहुने समस्या रहेको अध्यक्ष सारुले बताए।
उनले भने, ‘बेलाबेलामा वायु पंखा र सोलारमा समस्या आइरहन्छ, हामीसँग प्राविधिक छैन। निर्माण कम्पनीबाटै प्राविधिक झिकाएर मर्मत गर्न धेरै दिन लाग्छ।’
अध्यक्ष सारुका अनुसार विद्युत उत्पादन सुरू भएको तीन वर्षमै वायु पंखामा समस्या भएर उत्पादन बन्द भएको थियो। त्यसको एक वर्षपछि मात्र मर्मत भयो।
उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारीका अनुसार हाल वायु ऊर्जाबाट १५ किलोवाट र सौर्य ऊर्जाबाट १० किलोवाट बिजुली उत्पादन हुँदैछ।
हावाबाट बिजुली निकाल्न प्रतिसेकेन्ड कम्तीमा ६ मिटर गतिमा हावा चल्नुपर्छ। अग्ला डाँडामा जडान गरिएका टावरमा राखिएको वायु पंखामा हावा ठोक्किएपछि त्यसले भित्रको टर्वाइन घुमाउँछ।
वायु पंखा, कन्ट्रोलर र ब्याट्री जडान गरेर हावाको गतिअनुसार विद्युत उत्पादन हुन्छ। यसबाट निस्कने एसी विद्युत ब्याट्रीमा सञ्चय गरेर डिसीमा परिवर्तन गरी घरायसी प्रयोग गर्न सकिन्छ।
सोलारबाट विद्युत उत्पादन गर्दा प्यानल जडानकै लागि धेरै जमिन आवश्यक पर्छ। वायु ऊर्जाको लागि अग्ला डाँडाको थोरै जमिनले पनि काम चल्छ।
विज्ञहरूका अनुसार बाह्रै महिना कडा हावा चल्ने अग्ला डाँडा रहेको निस्दीमा वायु ऊर्जाको प्रशस्त सम्भावना छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गरेको अध्ययनले निस्दीमा वायु ऊर्जाको बलियो सम्भावना रहेको निष्कर्ष दिएको थियो।
हावाबाट बिजुली निकाल्दा पर्यटकीय हिसाबले राम्रो देखिने तर मर्मतसम्भार हुन नसक्नु मुख्य समस्या रहेको अध्यक्ष सारुको भनाइ छ।
उनी भन्छन्, ‘अग्लो डाँडामा सेता वायु पंखा घुमेको दृश्य हेलिकप्टर उड्ने तयारीमा रहेको जस्तो देखिन्छ। यहाँ आउने पर्यटकहरू पनि वायु पंखा हेरेर रमाउँदै फोटो खिच्छन् तर हामीले २५ किलोवाट पनि राम्ररी उपयोग गर्न सकेका छैनौं।’
पहिले डेढ सयभन्दा धेरै घरमा प्रयोग भएको विद्युत अहिले आधा दर्जन कार्यालयमा मात्र सीमित रहेको उनले बताए।