सुनचाँदी व्यवसायी कारोबारै बन्द गरेर विरोधमा उत्रिएका छन्।सुनमा विलासिता कर लगाएको भन्दै उनीहरूले बिहीबार कारोरबार बन्द गरेका छन् भने, शुक्रबार पनि बन्द गर्ने बताएका छन्।
सरकारले सुन तथा गहनामा विलासिता कर लगाउन सुरू गरेपछि व्यवसायी त्यसको विरोधमा उत्रिएका हुन्। त्यस्तै, बहुमूल्य हिरा तथा पत्थरमा लगाइँदै आएको १३ प्रतिशत भ्याट पनि खारेज गर्न माग गरेका छन्।
पहिलो चरणमा दुई दिन सांकेतिक विरोधका लागि देशभर सुनचाँदी पसल बन्द गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्म सुन्दर बज्राचार्यले बताए।
‘अहिले हामीले दुई दिन पसल बन्द गरेर सांकेतिक विरोध जनाएका हौं,’ उनले भने, ‘सरकारले माग सम्बोधन नगरे आन्दोनमा उत्रन्छौं।’
आन्दोनका कार्यक्रमबारे महासंघमा छलफल भइरहेको उनको भनाइ छ।
विलासी कर र भ्याट लगाएपछि सुनको लागत मूल्य बढी कारोबार नै हुन छाडेकोले आन्दोलन गर्न बाध्य भएको व्यवसायीहरूको दावी छ।
यद्यपी सरकारले पहिलो पटक यो कर लगाएको भने होइन। विगतमा पनि १० लाख माथिको कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउँदै आएको थियो।
तर जतिसुकै कारोबार हुँदा पनि छुट्टा छुट्टै बिल बनाएर कर संकलन नगरेपछि सरकारले सबै प्रकारका सुनमा विलासिता कर लगाउन लागेको हो।
यसअघि सरकारले गत वर्ष नै सुनमा लाग्ने भन्सार शुल्क भने घटाएको थियो। यो वर्षका बजेटबाट पनि भन्सार शुल्क बढाइएको छैन।
उनका अनुसार सरकारले भ्याट र विलासिता कर लगाउँदा ग्राहकलाई सुनको लागत महँगो पर्नेछ र माग घट्ने छ। सरकारको यस्तो नीतिले सुनचाँदी व्यवसायी डुब्ने छ।