लगातार तीन दिनदेखि सुनको मूल्यले नयाँ रेकर्ड राखिरहेको छ।
२३ दिन यता मात्रै सुनको मूल्य तोलामा ११ हजार आठ सय रूपैयाँले बढेर मंगलबार (आज) एक लाख ३६ हजार तीन सय रूपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको सुनको मूल्यमा वृद्धि, भन्सार शुल्क, ज्याला र जर्तीसहित एक तोला सुनको लागि नेपालीले मंगलबार करिब एक लाख ५० हजार खर्चिनुपरेको छ।
नेपालमा माग बढेको वा घटेको कारण सुनको मूल्यमा कुनै परिवर्तन हुँदैन।
अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यको आधारमा नै नेपालमा हरेक दिन सुनको मूल्य तोकिने गर्छ।
त्यसो भए अहिले किन त अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भइरहेको छ त?
केही समयदेखि नै विभिन्न मुलुकमा द्वन्द्व चलिरहेकै छ। रसिया युक्रेन, इसरायल र प्यालेस्टाइन लगायतका क्षेत्रमा तनाव देखिएको निकै लामो समय भइसकेको छ। तर, अहिले एक्कासी आएर सुनको मूल्य बढेकोमा धेरै आश्चर्यमा परेका छन्।
यसमा मुख्य कारण अहिले विश्वका विभिन्न मुलुकका केन्द्रीय बैंकहरूले सुनको खरिद बढाएका छन्। चीन, टर्की, काजाकिस्तान, भारत र केही युरोपेली मुलुकहरूले पनि सुनको खरिद बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
सन् २०२१ मा १०३७ टन सुन खरिद गरेका विश्वका विभिन्न केन्द्रीय बैंकहरूले सन् २०२२ मा मात्रै १०८१ टन सुन खरिद गरेका थिए। सन् २०२४ फेब्रुअरीसम्ममा मात्रै सुन धेरै राख्नेमा अमेरिकन बैंक सबैभन्दा अघि छ।
अमेरिकाले सो समयसम्म केन्द्रीय बैंकहरूले राखेको कुल सञ्चितिको ६९.७ प्रतिशत अर्थात् ८ हजार १ सय ३३ टन सुन राखेको छ।
चीनमा गत पुससम्ममा सुनको सञ्चिति २ हजार २ सय ३५ टन थियो। चीनको केन्द्रीय बैंकले मात्रै मार्च महिनामा करिब ५ हजार केजी सुन खरिद गरेको छ।
चीनले लगातार १७ औं महिनादेखि सुन किनिरहेको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
चिनियाँ सर्वसाधारणहरूले समेत सुनको खरिदारी बढाइरहेका छन्। घरजग्गाको कारोबार, सेयर बजारमा आएको शिथिलता र मुद्राको भाउ घटिरहेकोले पनि त्यहाँ सुनको खरिद बढिरहेको हो।
डलरको विकल्पको रूपमा विभिन्न मुलुकले सुनको खरिदारी बढाइरहेका छन्। युरोप र अमेरिकाले केही समयअघि रसियामा प्रतिबन्ध लगाएको थियो। रसियाले यही कारण डलरको विकल्पमा सुनको सञ्चिति बढाउँदै लगेको थियो।
यस्तै प्रतिबन्धमा पर्न सक्ने मुलुकहरूले पनि सुनको सञ्चिति बढाउँदै लगेका छन्।
त्यसबाहेक अमेरिकाले ब्याजदर नियन्त्रणमा गरिरहेको अभ्यास र केही समयअघि नोट छापेरै सर्वसाधारणमा बाड्ने जस्ता काम गरेकोले पनि डलरभन्दा सुनको सञ्चिति लाभदायक हुने निष्कर्षमा केन्द्रीय बैंकहरू पुगेको समेत बताइन्छ।