अब विदेशबाट फर्किनेहरूले २५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने भएका छन्। हाल एक सय ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था रहँदै आएको छ। साउन १ गतेदेखि लागू हुने गरी सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको नयाँ आर्थिक विधेयकले नयाँ व्यवस्था गरेको हो।
यद्यपी सुनका गहना ल्याउन लाग्ने भन्सार शुल्क भने बढाइएको छ। जसअनुसार ५० ग्रामसम्म सुनका गहना ल्याउँदा कुनै भन्सार शुल्क लाग्दैन। त्यसपछिको १०० ग्रामसम्म प्रति दश ग्राममा ७ हजार २ सय रुपैयाँ भन्सार शुल्क लाग्नेछ।
त्यस्तै अर्को १ सय ग्राम (१५० ग्रामपछिको) मा प्रतिदश ग्राममा ९ हजार रूपैयाँ शुल्क लाग्नेछ। सोभन्दा बढी परिमाण भएमा जफत गरिने छ।
यसअघि ५० ग्रामसम्म नि:शुल्क र थप ५० ग्राममा प्रति दशग्राम ५ हजार २ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था थियो।
त्यस्तै काँचो सुन ल्याउँदा लाग्ने भन्सार शुल्क पनि बढेको छ। यसअघि ५० ग्रामसम्म काँचो सुन ल्याउँदा प्रतिदश ग्राम ५ हजार २ सय रूपैयाँ शुल्क लिइँदै आएकोमा अब ६ हजार २ पुग्ने भएको छ। त्यसपछिको ५० ग्रामसम्म प्रतिदश ग्राम ७ हजार २ सय रूपैयाँ शुल्क बुझाउनु पर्ने भएको छ। यसअघि ६ हजार २ सय रूपैयाँ शुल्क तोकिएको थियो।
बैंकहरूले ल्याएर वितरण गर्ने सुनको भन्सार शुल्क समेत बढेको छ। यसअघिसम्म प्रतिकेजी ४ लाख ५० हजार भन्सार शुल्क लाग्ने गरेकोमा अहिले ५ लाख पुर्याइएको छ।
जसकारण नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकै दिन प्रतितोला १५ सय रुपैयाँले महँगिएको छ। भन्सार शुल्क बढेकै कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढे पनि नेपाली बजारमा उच्च दरले महँगिएको हो।
यो पनि हेर्नुहोस्
सुनको भाउ एकैदिनमा तोलामा १५ सय बढ्यो