नेपाली राष्ट्रिय फुटबल खेलाडीले अखिले नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मुख्यालयको गेटमा बिहीबार धर्ना दिएका छन्।
करिब डेढ घन्टा धर्ना दिएका खेलाडीहरूले मुख्यत: ए डिभिजन लिग नगर्ने एन्फाको निर्णयप्रति असन्तुष्ट जनाएका थिए। नेपाल फुटबल खेलाडी संघको आह्वान भएको धर्ना कार्यक्रमको अन्त्यमा कतिपय खेलाडीले आफूले जितेका मेडल एन्फाको गेटमा झुन्ड्याएका थिए।
मेडल झुन्ड्याएपछि खेलाडी संघका अध्यक्ष विक्रम लामाले भने, 'मेडल जित्नका लागि कतिधेरै संघर्ष गर्नु पर्छ। कति तपस्या गर्नु पर्छ, कति हाड खियाउनु पर्छ, कति घाइते भएर आफ्नो रगत-पसिना बगाउनु पर्छ भनेर भान पक्कै पनि उहाँहरुलाई हुन्छ होला।'
यस्तै लामाले भने, 'मेडल एन्फा आफै लगाओस्, हामी छाडेर जान्छौ।'
लामाले अबको एक साताभित्र एन्फाले लिग सम्बन्धि निर्णय नगरेमा एन्फामा अझ ठूलो संख्यामा खेलाडी उपस्थित भएर आन्दोलन गर्ने पनि उनले चेतावनी दिए।
एन्फा र ए डिभिजन खेल्ने १४ क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएसँगै राष्ट्रिय फुटबल खेलाडी विरोधमा उत्रिएका हुन्।
यसअघि सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्दै विरोध गरेका खेलाडीहरू अब सडकमा उत्रिएका छन्।
नियमित लिग नहुँदा खेलाडी मारमा परेको र नेपाली फुटबल ओरालो लागेको भन्दै विरोध गरेका छन्।
एन्फा मुख्यालयको गेटमा खेलाडीहरूले धर्ना दिएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो। गेटबाट कसैलाई पनि भित्र पस्न दिइएको थिएन भने एन्फा पदाधिकारी उपत्यकाबाहिरको कार्यक्रममा गएका छन्।
धर्नाको विषयमा खेलाडी संघको भनाइ छ, 'हामी नेपाल फुटबल खेलाडी संघले पछिल्लो २ वर्षयता लगातार नेपाली फुटबलको मेरूदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिग आयोजना गर्न नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) सँग चरणबद्ध रूपमा विभिन्न स्तरमा प्रयास गर्दै आएका थियौं। तर हाम्रो शालीनतालाई बेवास्ता गरेर एन्फाले पुन: एकपटक लिग स्थगन गर्ने निर्णय गरेपछि हामी खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएका छौं। खेलाडी भएपछि हामीले सधैं मैदानमा नै व्यस्त हुनुपर्छ भन्ने मान्यता राख्छौं, तर पटक पटकको हाम्रो प्रयासलाई बेवास्ता गरिएपछि हामीसँग सडकमा आउनुको विकल्प नरहेको महसुस गरेका छौं।'
यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्षदेखि मात्र होम एन्ड अवेको आधारमा ए डिभिजन गर्ने सहमति गरेका थिए।
यो वर्ष भने तीन वर्षअघि भएको ए डिभिजन लिगका शीर्ष ६ टोली र आजदेखि हेटौंडामा सुरू एन्फा प्रेसिटेन्ड लिगको सेमिफाइनलमा पुग्ने चार टोली गरी १० टोलीबीच राष्ट्रिय लिग गराउने सहमति भएको थियो।
राष्ट्रिय लिगमा गत संस्करणको च्याम्पियन चर्च ब्वाइजसँगै, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब,सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिमले प्रतिस्पर्धा गर्नेछन्। बाँकी ८ ए डिभिजन क्लबको भने प्रतिनिधित्व हुनेछैन।
राष्ट्रिय लिगमा रेलिगेसन व्यवस्था नहुने भएको हुँदा पनि लिगको रौनकतामा कमी आउने भन्दै कतिपयले विरोध गरेका छन्।