नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिस कम्पनीज (नास आइटी)ले नेपालमा पहिलोपटक ‘नास आइटी एक्स्पो २०२५’ राखेको छ।
यो एक्स्पोले सूचना प्रविधि क्षेत्रमा कार्यरत कम्पनीहरूका लागि ठूलो अवसरको प्लेटफर्म बन्ने बताइएको छ।
कात्तिक २१ र २२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने यो दुईदिने एक्स्पोमा ३५ भन्दा बढी नेपाली आइटी कम्पनीहरूले आफ्ना सफ्टवेयर, सेवा, र प्रविधिमूलक समाधान प्रस्तुत गरिने आयोजकले जनाएको छ।
एक्स्पोमा टेक र टेक–इनेबल सर्भिस कम्पनीहरूले पनि सहभागिता जनाउने उल्लेख छ। यी कम्पनीहरूले स्थानीय शासनदेखि बैंकिङ, डेटा एनालाइटिक्स, र डिजिटल नागरिक सेवासम्मका प्रविधि देखाउनेछन्।
योङ इनोभेसन, एमोइबा ल्याब्स्, स्प्यारो एसएमएस, अलपास टेक्नोलोजी, फोकस डेटा एनालिसिस, आकाश टेक, निम्बल इन्फोटेक, गल्ली म्याप्स र मन्त्र आइडियाजले आफ्ना उत्पादन प्रदर्शन गर्ने उल्लेख छ।
अलपास टेक्नोलोजी प्रालिका सञ्चालक सुवोध राजभण्डारीका अनुसार कम्पनीले स्थानीय सरकारका सेवा नागरिकसम्म डिजिटल रूपमा पुर्याउने कार्यमा ध्यान केन्द्रित गरेको छ।
‘हामीले ललितपुर महानगरपालिकासँग सहकार्य गर्दै डिजिटल नागरिक वडापत्र र ‘अलपालिका एप’ सञ्चालन गरेका छौँ, जसबाट वडाको बजेटदेखि दमकल वा एम्बुलेन्स सेवासम्मको सूचना सजिलै पाउन सकिन्छ,’ राजभण्डारीले भने।
उनका अनुसार अहिले ललितपुरका ४, २३ र २८ नम्बर वडामा अलपालिका एप सञ्चालनमा छ। साथै, कम्पनीले ‘अलर्ट एप’ मार्फत दमकल, ढल निकास र स्वास्थ्य सेवासँग सम्बन्धित तत्काल सूचना प्रणाली पनि सञ्चालनमा ल्याएको छ।
राजभण्डारीले थपे, ‘नास आइटी एक्स्पो जस्ता कार्यक्रमहरूले हाम्रा यस्ता प्रविधिलाई देशभर विस्तार गर्न सहज बनाउने विश्वास छ। हाम्रो लक्ष्य सिभी अलर्ट एपमार्फत सबै महानगर र उपमहानगरमा सेवा विस्तार गर्ने हो।’
नास आइटी एक्स्पो २०२५ मार्फत आयोजकहरूले नेपाली कम्पनीहरूको प्राविधिक क्षमता, नवप्रवर्तन, र सेवा–सक्षम प्रविधिलाई एकै मञ्चमा ल्याउने उद्देश्य लिएका छन्।
कार्यक्रममा साइबर सुरक्षा, इआरपी, एआई, क्लाउड कम्प्युटिङ, डेटा एनालाइसिस, र डिजिटल नागरिक सेवा सम्बन्धी उत्पादनहरू प्रदर्शनीमा रहने छन्।