एनसेल एपमा नयाँ सुविधा थपिएको छ। ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिन सजिलैसँग आवेदन दिन सक्छन्। यो सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ।
'सधैं अन प्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभव अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरूप यसले पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा आफ्नो एपमा थपेको हो,' कम्पनीले भनेको छ।
कम्पनीका अनुसार प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एप मार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन्। साउन २९ गतेबाट लागू हुने गरी एनसेलले नेपाल प्रहरीको वेबसाइट लाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्ने गरी निःशुल्क बनाएको थियो। यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदन लगायतका सेवाहरू लिन यो वेबसाइट चलाउँदा इन्टरनेटको पैसा नलाग्ने भएको छ।
'एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सहकार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एप मार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं। यदि हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौं भने यस्ता पहलहरू आधारभूत आवश्यकताहरू हुन्,' एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने, 'सधैं अनको महत्वलाई थप बढाउँदै, एनसेलले डिजिटल रूपमा सेवाहरू प्रदान गर्न र सरकारको डिजिटल नेपाल अवधारणालाई सघाउन समान विचारधाराका भएका बैंकहरू जस्ता साझेदारहरुसँग सहकार्य गरेर एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ।'
एनसेलको यो एपले स्व–सेवाको अवधारणालाई पुनः परिभाषित गरेको र डिजिटल रूपान्तरणका लागि नभई नहुने एक सेल्फ केयर एपको रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ।
'यो एपलाई स्थानीय श्रम बजारमा उपलब्ध सूचना प्रविधि क्षेत्रका प्राविधिकप्रयोग गरेर अद्यावधिक गरिएको छ र यसले ग्राहकहरूलाई विभिन्न सेवा, सुविधाका बारेमा जानकारी प्रदान गर्छ,' कम्पनीले भनेको छ।
यो एप लामो वा छोटो समयका लागि देश बाहिर रोमिङमा रहेका नेपालीका लागि पनि एकदमै महत्व राख्छ। रोमिङका बेलामा ग्राहकहरुले सजिलै रिचार्ज गर्न, प्याकहरू किन्न र आफू देश बाहिर भए पनि सहजै सम्पर्कमा रहन सक्छन्। ग्राहकले सजिलैसँग गुगल प्ले स्टोर वा एप स्टोरमा गई एनसेल एपलाई अपडेट वा डाउनलोड गर्न सक्छन्।