'आइबिएम' को विद्यालय कार्यक्रम नेपालमा ल्याइएको छ। भारतको शिक्षा–प्रविधि कम्पनी ट्रान्सन्युरनसँगको सहकार्यमा एसियन इ–लर्निङले कक्षा ५ देखि १२ कक्षा सम्मका विद्यार्थीका लागि तयार पारिएको 'आइबिएम' कार्यक्रम भित्र्याएको हो।
यो विश्वव्यापी रूपमा प्रविधिमा नेतृत्व गरिरहेको आइबिएम कम्पनीले तयार पारेको विश्वस्तरको विद्यालय कार्यक्रम हो। यो कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ, साइबर सुरक्षा र ब्लकचेन गरी तीनवटा नवीनतम सूचना प्रविधिका क्षेत्रहरू समेटिएको छ।
नेपाल लगायत दक्षिण एसियामै पहिलोपटक सुरू गरिएको यो कार्यक्रममा ४० देखि ६० घण्टाका विभिन्न सात वटा कोर्स समावेश छन्।
'विश्वप्रसिद्ध टेक कम्पनीको कार्यक्रम नेपालमा ल्याउन पाउनु हाम्रो लागि गौरवको कुरा हो,' एसियन इ–लर्निङका प्रबन्ध निर्देशक सुबोध त्रिपाठीले भने, 'अहिले सूचना प्रविधिको व्यापक विकाससँगै यसका चुनौतीहरू देखापरेका छन्। हामीले हाम्रा बालबालिकालाई यो चुनौती सामना गर्न सक्ने बनाउन पनि आइबिएमको यो कार्यक्रम आवश्यक महसुस भयो। त्यस्तै आइटी क्षेत्रमै करिअर बनाउँछु भन्नेका लागि त यो कोर्ष वरदान सरह नै छ।'
आइबिएमको यो कार्यक्रम अन्तर्गत तीन चरणका कोर्ष छन्- एक्सप्लोरर, डिस्कभरर र इनोभेटर। यसमा पनि सामान्यदेखि एडभान्ससम्मका कोर्स छन्। त्यसभित्र हप्तामा एक दिन एकदेखि डेढ घन्टा पढाउने गरी ४० देखि ६० घन्टासम्मको कोर्स छ।
अध्यक्ष त्रिपाठीका अनुसार यो कोर्स स्कुलमा कुनै थप लगानीबिनै उपलब्ध पूर्वाधार एवं जनशक्तिका आधारमा संचालन गर्न सकिनेछ। ७० प्रतिशत अनलाइन र ३० प्रतिशत अफलाइन माध्यमबाट यसको कक्षा संचालन गरिने गरी कोर्स डिजाइन गरिएको छ। कुनै पनि कोर्ष सफलतापूर्वक सम्पन्न गरे पश्चात विद्यार्थीले विश्वका सबै ठाउँमा मान्यता पाउने आइबिएमको ग्लोबल सर्टिफिकेट पनि पाउने उनले बताए।
आइबिएम विद्यालय कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष कुमार घिमिरेले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन आइबिएम उपयोगी हुने बताए।
प्रविधि कम्पनीमध्ये आइबिएम सबैभन्दा बढी (एक लाख २२ हजारभन्दा बढी) युएस पेटेन्ट आफ्नो नाममा दर्ता गरेको कम्पनी हो। सन् १९८१ मा विश्वमै पहिलो व्यक्तिगत कम्प्युटर बजारमा ल्याएको आइबिएमले संसारको सबैभन्दा उच्च गतिको कम्प्युटर निर्माण गरेको छ।