पछिल्लो समय घर र कार्यालयको काम गर्न होस् या कलेज र विद्यालयको गृहकार्य गर्न, कम्प्युटर अनिवार्य जस्तै भएको छ।
एक दशक अघिसम्म डेस्कटप कम्प्युटरको प्रयोग बढी देखिन्थ्यो। तर अहिले डेस्कटपलाई ल्यापटपले प्रतिस्थापन गरिसकेको छ। प्रायः डेस्कटपको तुलनामा ल्यापटपको माग र प्रयोग बढेको छ।
बोकेर हिँड्न सजिलो, सानो ठाउँमै राखेर चलाउन सकिने ल्यापटप व्यक्तिगत पोर्टेबल कम्प्युटर हो। अंग्रेजी शब्द 'ल्याप'को अर्थ 'काख' हो। यसरी बुझ्दा काखमा राखेर चलाउन सकिने कम्प्युटर नै ल्यापटप हो।
यद्यपि यसरी चलाउन विज्ञहरूले सुझाव भने दिँदैनन्। ल्यापटपले छालाको क्यान्सरसम्म हुने हानिकारक विकिरण उत्सर्जन गर्छ। उक्त विकिरणले स्नायु प्रणालीलाई पनि हानि पुर्याउँछ भने यौनांगमा समेत असर गर्ने विभिन्न अध्ययनहरूले देखाएको छ।
ल्यापटपलाई काखमा राखेर चलाउँदा नकारात्मक असर गर्छ। तर, यो बोकेर हिँड्न सजिलो हुने, बिजुली नहुँदा पनि केही समय चल्ने जस्ता फाइदालाई भने नकार्न सकिन्न।
डेस्कटप कम्प्युटरको लागि छुट्टै ठाउँ नै चाहिन्छ। यो सजिलै एक ठाउँबाट अर्को ठाउँमा सार्न सजिलो हुँदैन। र, बिजुलीबिना चल्दैन। तर डेस्कटप कम्प्युटरहरू भिडिओ/फोटो इडिटिङ (सम्पादन) र गेमिङको लागि उपयुक्त हुन्छन्।
यसको कुलिङ प्रणाली ल्यापटपको तुलनामा बढी शक्तिशाली हुन्छन्। राम्रो कुलिङ प्रणाली भएको कम्प्युटर चलाउँदा प्रदर्शनीमा सहज हुनुका साथै छिटो हुन्छ।
ल्यापटप वा डेस्कटप खरिद गर्ने सोचमा हुनुहुन्छ तर के खरिद गर्ने अन्यौलमा हुनुहुन्छ भने उल्लेखित विषयलाई ध्यानमा राख्नुहोस्। तपाईंलाई निर्णय लिन सहज हुनेछ।
ल्यापटप र डेस्कटपको प्रमुख भिन्नताः
ल्यापटप र डेस्कटप दुवैमा हुने मुख्य अवयवहरू (कम्पोनेन्ट) एकै हुन्। यसमा सिपियू, र्याम, स्टोरेज, मदरबोर्ड लगायत पर्छन्।
ल्यापटपका लागि यी सबै कम्पोनेन्ट सानो र हल्का वजनमा तयार पारिएको हुन्छ। डिस्प्ले, किबोर्डदेखि टचप्याड सबै संयुक्त रूपमा हुन्छ। डेस्कटपमा भने कम्पोनेन्टहरूको आकार ठूलो हुनुका साथै डिस्प्ले, किबोर्ड, माउसहरू छुट्टाछुट्टै हुन्छन्। डेस्कटप कम्प्युटर प्रायः छुट्टै डेस्क नै उपलब्ध गराइन्छ।
ल्यापटप खरिद गर्दाका फाइदाहरूः
- ल्यापटपलाई जुनसुकै ठाउँमा सहजै बोकेर हिँड्न सकिन्छ।
- ल्यापटप बोकेरै हिड्ने भएपछि आफूले चाहेको बेला उपलब्ध हुन्छ। यसले गर्दा प्रयोगकर्ताको उत्पादकता बढाउँछ।
- आकारमा सानो भए पनि एउटै ल्यापटपबाट कार्यालयको कामदेखि कलेजको गृहकार्य गर्न सकिन्छ। त्यस्तै राम्रो ग्राफिक्स भएको ल्यापटप फोटा/भिडिओ सम्पादन र गेमिङको लागि पनि उपयुक्त हुन्छ।
- प्रयोगकर्ताको डेटा सुरक्षित गर्न/राख्न ल्यापटपमा थुप्रै सुरक्षा सुविधाहरू हुन्छन्। जस्तै, फायरवाल, इन्क्रिप्सन, र पासवर्ड सुरक्षा।
- ल्यापटपहरू 'इनर्जी इफिसियन्ट' हुन्छन् र यसमा प्रयोग गरिने ब्याट्री लामो समयसम्म टिकाउन हुन्छन्। घर/कार्यलयमा केही समय बिजुली नहुँदा काम नै रोकिने भन्ने हुँदैन। एक पटकको पूरा चार्जाम १२ घण्टासम्म प्रदर्शन गर्ने ल्यापटपहरू बजारमा उपलब्ध हुन्छन्।
- तुलनात्मक रूपमा अहिले हरेक बजेटमा ल्यापटप उपलब्ध छन्। आफ्नो आवश्यकता र बजेटअनुसारको ल्यापटप खरिद गर्न सकिन्छ।
ल्यापटप खरिद गर्दाका बेफाइदाहरूः
- राम्रो प्रदर्शनी गर्ने र बढी क्षमताको ल्यापटपहरू तुलनात्मक रूपमा महँगा हुन्छन्।
- डेस्कटप कम्प्युटरको तुलनामा ल्यापटपको कम्पोनेन्ट र पार्टसहरू अपग्रेड गर्न वा फेर्न गाह्रो हुन्छ। फेरिहाले पनि थप महँगो भइदिन्छ। कुनै नयाँ विशेषता/फिचर आवश्यक परे तपाईंले नयाँ ल्यापटप नै खरिद गर्नुपर्नेसम्म हुन सक्छ।
- ल्यापटपको स्क्रिन आकार सीमित हुन्छ। त्यसैले, भिडिओ/फोटो सम्पादन गर्न, गेमिङको लागि र मनोरञ्जन (उदाहरणका लागिः फिल्म हर्न)का लागि ल्यापटप स्क्रिन सानो हुन सक्छ।
- तुलनात्मक रूपमा ल्यापटप बढी तात्छ। यसको कुलिङ प्रणाली फितलो हुन सक्छ। ल्यापटप बढी तात्यो भने कार्य सम्पादनमा समस्या आउन सक्छ।
- ल्यापटपको ब्याट्री लाइफ समयसँगै खस्किँदै जान्छ। र, नयाँ हुँदा जति चार्ज टिक्थ्यो, विस्तारै चार्ज नै नटिक्नेसम्म हुन सक्छ।
डेस्कटप खरिद गर्दाका फाइदा/बेफाइदाहरूः
डेस्कटप खरिद गर्दाका फाइदाहरूः
- डेस्कटपको सिपियू र ग्राफिक्स कार्डहरू बढी क्षमताका हुन्छन्। त्यस्तै, यसको कुलिङ प्रणाली पनि तुलनात्मक रूपमा राम्रो हुन्छ।
- फोटाे/भिडिओ सम्पादनसँगै गेमिङको लागि डेस्कटप थप प्रभावशाली र शक्तिशाली हुन सक्छ। यसमा प्रयोगकर्ताले इच्छाअनुसारको डिस्प्ले (मोनिटरको आकार) राख्न सक्छन्।
- तुलनात्मक रूपमा डेस्कटपको हार्डवेयरहरू लामो समयसम्म टिक्छ। आवश्यकता अनुसार सस्तो मूल्यमा फेर्न पनि सहज हुन्छ।
- आफूले प्रयोग गरिरहेको डेस्कटप कम्प्युटरलाई प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार कस्टमाइज गर्न सक्छन्। (जस्तै स्क्रिन आकार, किबोर्ड, स्टोरेज थप्ने लगायत)
- कतिपय समय एक समर्पित कार्यस्थान (डेडिकेटेड वर्कस्पेस) हुँदा प्रयोगकर्ताको उत्पादकता बढ्ने हुन्छ। किनभने डेस्कटप कम्प्युटर एउट निश्चित ठाउँमा राख्नुपर्ने हुन्छ।
- डेस्कटप कम्प्युटर अहिलेको समयमा सस्तो मूल्यमा सेटअप गर्न सकिन्छ। र, त्यो 'भ्यालू फर मनी' पनि हुन्छन्। किनभने डेस्कटप सेट टिकाउ हुन्छन्।
डेस्कटप खरिद गर्दाका बेफाइदाहरूः
- ठूलो आकार र भारी हुँदा एक ठाउँबाट अर्कोमा सार्न अप्ठ्यारो हुन सक्छ। त्यसमाथि डेस्कटप कम्प्युटर सेटअप गर्न बिजुली अनिवार्य र तारहरू आवश्यक पर्छ।
- कतिपय समय डेस्कटप कम्प्युटर सेटअप गर्दा प्रारम्भिक खर्च बढी पनि आउन सक्छ। यो कम्प्युटरको कम्पोनेन्टले निर्धारण गर्छ।
- डेस्कटप कम्प्युटर चलाउन बिजुली आवश्यक हुन्छ। यसले बढी विद्युत खपत गर्न सक्छ।
- डेस्कटपलाई नियमित चेकजाँचको आवश्यक पर्छ। कतिपय समय यो खर्चिलो पनि हुन सक्छ।
- कतिपय समय डेस्कटपमा सफ्टवेयर अपरेट हुन समस्याहरू आउन सक्छन्।
- डेस्कटप कम्प्युटरहरू प्रायः विद्युतीय झट्काका कारण बिग्रिन सक्छ। साथै, हार्ड डिस्कमा पनि समस्या आउन सक्छ।
ल्यापटप वा डेस्कटप कम्प्युटर खरिद गर्दा थुप्रै फाइदासँगै बेफाइदा पनि छन्। प्रयोगकर्ताको आवश्यकता अनुसार एउटै कुरा कसैका लागि फाइदाजनक हुन सक्छ भने अर्को व्यक्तिको लागि बेफाइदाको विषय हुन सक्छ। त्यसैले कुनै पनि कम्प्युटर खरिद गर्नु अघि व्यक्तिगत तहमा अध्ययन गर्न आवश्यक हुन्छ।
यो पनिः यी हुन् डेढ लाख रूपैयाँमा पाइने पाँच 'बिजनेस ल्यापटप'