गुगल ट्रान्सलेटमा नेपाल भाषा समेटिएको छ।
योसँगै अब प्रयोगकर्ताले नेपाल भाषा (नेवारी)लाई कुनै पनि अन्य भाषामा ट्रान्सलेट अर्थात् अनुवाद गर्न सक्नेछन्। त्यस्तै, अन्य भाषालाई नेपाल भाषामा ट्रान्सलेट गर्न सक्नेछन्।
गुगलले बिहीबार एक ब्लगमार्फत् गुगल ट्रान्सलेटमा संसारको विभिन्न ठाउँमा बोलिने ११० वटा नयाँ भाषा थप गरेको जानकारी सार्वजनिक गरेको हो। तिनैमध्ये एक नेपाल भाषा रहेको छ।
यसभन्दा अघि गुगल ट्रान्सलेटले जम्मा १३३ वटा भाषा पहिचान गरेको थियो। कम्पनीले सन् २०२२ मा विश्वमा बोलिने भाषामध्ये २४ वटा भाषा गुगल ट्रान्सलेटमा समेटेको थियो।
नेपाल भाषा अर्थात् नेवारी समुदायको भाषालाई पनि गुगल ट्रान्सलेटमा समेट्न लामो समयदेखि पहल हुँदै आएको थियो।
नेपाल भाषा नेपालमा बोलिने पुरानो भाषामध्ये पर्छ। यसलाई हालै बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषा समेत घोषणा गरेको छ।