गत असार ५ गते मंगलबार सेयर बजार पुँजीकरणको आधारमा विश्वकै सबैभन्दा महँगो कम्पनी बनेको एनभिडियाको सेयर मूल्य त्यसलगत्तै घट्न थाल्यो।
सेयर मूल्य घटेसँगै हालसम्मकै महँगो कम्पनी बनेको केही दिनमा नै एनभिडियाको सेयर सम्पत्ति पाँच खर्ब ५० अर्ब डलरले घटेको छ। एनभिडिया, अमेरिकी बहुराष्ट्रिय कर्पोरेसन तथा प्रविधि कम्पनी हो।
सोमबार मात्रै कम्पनीको सेयर मूल्य सात प्रतिशतले घटेको छ। गत बिहीबार यता कम्पनीको सेयर मूल्यमा १६ प्रतिशतको ह्रास आएको छ।
गत बिहीबार अन्तर दिनको कारोबारमा हालसम्मकै उच्च मूल्य प्रतिकित्ता १४०.७६ डलर पुगेकै कारण अमेरिकी सेयर बजार एसएण्डपी ५०० मा पनि उल्लेख्य वृद्धि देखिएको थियो।
एनभिडिया गत साता माइक्रोसफ्ट र एप्पल कम्पनीलाई समेत उछिनेर बजार पुँजीकरणको आधारमा सबैभन्दा महँगो कम्पनी बनेको थियो।
सोमबारसम्म आइपुग्दा यो कम्पनी बजार पुँजीकरणको आधारमा सबैभन्दा महँगो कम्पनीको सूचीमा तेस्रो स्थानमा नै आएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ। कम्पनीको कुल बजार पुँजीकरण २.९१ ट्रिलियन डलर छ।
कम्पनीले गत साता सबैभन्दा मूल्यवानको स्थान पाइरहँदा कम्पनीका कार्यकारी प्रमुख तथा सहसंस्थापक जेनसेन हुयाङले ९ करोड ५० लाख डलर बराबरका सेयर बिक्री गरेका थिए।
गत शुक्रबार यस्तो जानकारी सार्वजनिक गरिएको थियो। यो बिक्री गत मार्चमा लिइएको बिक्री तालिकाको योजना अनुसार नै भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
अमेरिकी कम्पनी एनभिडियाले कम्प्युटर चिप उत्पादन गर्छ जुन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सफ्टवेयरहरूमा प्रयोग हुन्छ। पछिल्ला केही वर्षदेखि उक्त चिपको माग बढ्दो छ भने यसको बिक्री र बिक्री पछिको फाइदा पनि बढ्दो छ।
अहिले एनभिडियाको सेयर मूल्य घट्न थालेसँगै धेरैले यसलाई सन् २००० मार्चमा भएको अर्को एक घटनासँग तुलना गरिरहेका छन्।
नेटवर्किङ उपकरण बनाउने सिस्कोको पनि सन् २००० को मार्चमा सेयर मूल्य उच्च भएको थियो। तर, केही समयमै कम्पनीको मूल्य ८० प्रतिशतले घटेको थियो।