अर्बपति उद्यमी एलन मस्कले च्याटजिपिटी बनाउने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआई र त्यसका दुई सह-संस्थापक स्याम अल्टम्यान र ग्रेग ब्रोकम्यानविरुद्ध तीन महिनाअघि दर्ता गरेको मुद्दा फिर्ता लिएका छन्।
मस्कका वकिलहरूले मंगलबार संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को सुपिरिअर कोर्टमा उक्त मुद्दा खारेज गर्न निवेदन दिएका हुन्। तर उनीहरूले निवेदनमा मुद्दा खारेज गर्नुपर्ने कारण भने खुलाएका छैनन्। उक्त मुद्दा खारेज गर्न माग गर्दै ओपनएआईले दिएको निवेदनमाथि सुनुवाइ गर्न अदालतले बुधबार पेसी तोकेको थियो।
अर्को रोचक कुरा के छ भने यसै हप्ता आइफोन निर्माता एप्पल कम्पनीले ओपनएआईसँग नयाँ साझेदारीको घोषणा गर्यो। सामाजिक सञ्जाल एक्समा लेख्दै मस्कले उक्त साझेदारीको आलोचना गरेका थिए र आफ्ना कम्पनीहरूमा आइफोनमाथि प्रतिबन्ध लगाउने धम्की दिएका थिए।
मुद्दा फिर्ता लिएसँगै ओपनएआई र मस्कबीच चलिरहेको महिनौं लामो कानुनी लडाइँ हालका लागि समाप्त भएको छ।
तर मस्कले बिना पूर्वाग्रह मुद्दा फिर्ता लिएको भनिएको छ। यसको अर्थ उनले चाहेमा भविष्यमा यो मुद्दा पुन: दर्ता गर्न पाउनेछन्।
मानवताको हितका लागि एआई विकसित गर्ने कम्पनीको मूल उद्देश्य र प्रतिबद्धता त्यागेर नाफा बढाउनमा केन्द्रित भएको आरोप लगाउँदै मस्कले फेब्रुअरीमा ओपनएआई र त्यसका सह-संस्थापक अल्टम्यान र ब्रोकम्यानविरुद्ध मुद्दा हालेका थिए।
उनले ओपनएआईलाई माइक्रोसफ्ट कम्पनीसँग अर्बौं डलरको लगानी सम्झौता गरेर एआईमा प्राप्त हुने ठूलो उपलब्धिलाई सार्वजनिक रूपमा उपलब्ध गराउने पूर्व सहमति तोडेको आरोप लगाएका थिए।
मस्कका आरोपहरूलाई असंगत र तुच्छ भन्दै ओपनएआईले खण्डन गरेको थियो। उसले कम्पनी स्थापना गर्दा मस्कसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको पनि बताएको थियो।
मस्क विद्युतीय गाडी निर्माता टेस्ला कम्पनीका प्रमुख कार्यकारी र सामाजिक सञ्जाल एक्सका मालिक पनि हुन्। अल्टम्यानसँग उनको विवाद लामो समयदेखि चलिरहेको छ।
उनले अल्टम्यान, ब्रोकम्यान लगायतसँग मिलेर सन् २०१५ मा ओपनएआई स्थापना गरेका थिए र कम्पनीलाई ४ करोड ४० लाख डलर पनि दिएका थिए। तर कम्पनी कुन दिशामा जाने भन्ने विषयमा अल्टम्यानसँग मतभेद भएपछि उनले सन् २०१८ मा ओपनएआई छाडेका थिए।
मस्कले गत वर्ष एक्सएआई नामक आफ्नै एआई स्टार्टअप सुरू गरेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)