सिजी कम्युनिकेसन्स लिमिटेडको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र रद्द भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सिजी कम्युनिकेसन्सको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ बमोजिम स्वतः रद्द भएको जनाएको हो।
कम्पनीले २०६० सालको मंसिर ५ गते (सन् २००३, नोभेम्बर २१) ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो।
कम्पनीले नवीकरणको लागि दूरसञ्चार नियमावली, २०५४ बमोजिम निवेदन पेस गर्नुपर्ने थियो।
तर नियमावलीको नियम १२ बमोजिम कम्पनीले तोकिएको अवधिभित्र नवीकरण दस्तुरसहित निवेदन पेस नगरेकोले उक्त सेवा प्रदायकलाई प्रदान गरिएको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (२) बमोजिम गत मंसिर १६ गतेदेखि स्वतः रद्द भएको हो।
दूरसञ्चार ऐन, २०५३ को दफा २५ (२) मा अनुमतिपत्र नवीकरणको लागि अनुमतिपत्रको अवधि समाप्त हुनु अगावै तोकिएको अवधिभित्र अनुमतिपत्र नवीकरणको लागि प्राधिकरणलाई निवेदन दिनुपर्ने उल्लेख छ। त्यसरी निवेदन परेपछि प्राधिकरणले एक पटकमा पाँच वर्षमा नबढाई अनुमतिपत्र नवीकरण गरिदिनुपर्ने व्यवस्था छ।
सोही दफाको उपदफा ५ मा उपदफा २ बमोजिम म्यादभित्र अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुने उल्लेख छ।