सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएर विभिन्न कार्यक्रम लिएको छ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आइटी सफ्टवेयर विकासकर्ता, विद्यार्थी तथा उद्योमीलाई केन्द्रित गरेर कार्यक्रमहरू ल्याइने बताएका हुन्।
काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी तथा निजी भवनमा समेत उच्च गतिको इन्टरनेट, विद्युत सुरक्षा लगायतका पूर्वाधार विकास गरी सूचना प्रविधि पार्क सञ्चालन गरिनेछ। यस्तो पार्कमा तीन वर्षको लागि वर्क स्टेशसन सञ्चालन गर्न निः शुल्क स्थान उपलब्ध गराइने बजेटमा उल्लेख छ।
सूचना प्रविधि हब सञ्चालनको लागि काठमाडौंको डिल्ली बजारमा बहुतले संरचना बनाइने उल्लेख बजेटमा गरिएको छ। ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थपना गर्न १७ करोड विनियोजन गरिएको छ।
स्वदेशमा उत्पादित सफ्ट्वेरलाई प्राथमिकता दिई सार्वजनिक निकायले प्रयोग गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ।
सूचना प्रविधि क्षेत्रमा स्नातक र स्नाकोत्तर अध्ययन गरेका विद्यार्थीलाई सम्बद्ध उद्योगमा इन्टर्न गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ।
आगामी आर्थिक वर्षको बजेटमा सबै वडा केन्द्रमा ब्रोडब्यान्ड विस्तार गरिने पनि उल्लेख गरिएको छ।