एनसेलले लाइसेन्स नवीकरणको लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई चार अर्ब बुझाएको छ।
२० अर्बभन्दा बढी शुल्क बुझाउनु पर्नेमा कम्पनीले सोमबार चार अर्ब रूपैयाँ बुझाएर लाइसेन्स नवीकरण गरिदिन पत्राचार गरेको प्राधिकारणका निर्देशक एवम् प्रवक्ता सन्तोष पौडेलले बताए।
पौडेलका अनुसार कम्पनीले किस्ताबन्दीको सुविधा माग गरेको छ। 'कम्पनीले पाँच किस्तामा रकम बुझाउने माग गर्दै पत्र लेखेको छ,' उनले भने।
तर यस विषयमा प्राधिकरणले कुनै निर्णय नगर्दै एनसेलले हाललाई चार अर्ब मात्रै बुझाएको हो।
प्राधिकरणले गत जेठ ४ गते एनसेललाई तेस्रो नवीकरण बापतको शुल्क बुझाउन पत्र पठाएको थियो। सोमबार पुनः एनसेललाई एकमुष्ठ रकम बुझाउनुपर्ने भन्दै प्राधिकरणले पत्र पठाएको छ।
'मन्त्रीपरिषदको निर्णयपछि पहिले एनसेलले नवीकरणको शुल्क किस्तामा बुझाउन पाएको थियो। तर कुनै पनि कानुनी व्यवस्थाले किस्तामा शुल्क बुझाउने प्रावधान दिएको छैन। त्यसैले एनसेललाई एकमुष्ठ रकम बुझाउनुपर्ने भन्दै हिजो पत्र पठाएका छौं,' प्रवक्ता पौडेलले भने।
उनका अनुसार आज गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा परेको हुँदा एनसेलले भोलि (बुधबार)सम्म सम्पूर्ण रकम भुक्तानी गरे नवीकरण हुन्छ। 'नभए कम्पनीलाई १५ प्रतिशतको दरले थप तीन अर्ब जरिवाना लाग्छ,' उनले भने।
नेपाल दूरसञ्चार नियमावली २०५४ अनुसार लाइसेन्स नवीकरणको लागि तीन महिना अघि नै प्राधिकरणलाई निवेदन दिनुपर्ने हुन्छ। एनसेलले पछिल्लो पटक गराएको दोस्रो चरणको नवीकरण अवधि आगामी भदौ १६ मा सकिँदैछ।